कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं क्वालिफायर्समा

(धनगढी) — काठमाडौं गोल्डेन्स आइतबार रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर्स पुग्ने पहिलो टोली बनेको छ । अपराजित यात्रा कायम राख्नेक्रममा काठमाडौं आइतबार रूपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

काठमाडौं क्वालिफायर्समा

टस जितेको काठमाडौंले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३३ रन बनायो । जवाफमा रूपन्देही १५.१ ओभरमा केवल ३३ रन बनाई आउट भयो । रूपन्देहीले बनाएको रन डीपीएलको तेस्रो संस्करण आइपुग्दा न्युन स्कोर हो । पहिलो दुवै खेल जितेको रूपन्देहीले त्यसपछि लगातार दुई खेल हारेको छ ।


काठमाडौंले ३ खेलबाट ७ अंक जोडेको छ । अघिल्लो दिन विराटनगर किंग्ससँग खेल टोलीले वर्षाका कारण अंक बाडेको थियो । त्यसबाहेक तीनै खेल काठमाडौंले जितेको छ, त्यसमा दुई खेलमा १ सय ३३ र एक खेलमा १ सय ३४ रन बनाएको छ । यो सबै जारी प्रतियोगिताको उच्च स्कोर हो ।


काठमाडौंले सीवाईसी अत्तरियासँग राउन्ड रोबिनको अन्तिम खेल खेल्न बाँकी छ । ‘फाइनलभन्दा पनि हामी राउन्ड रोबिनपछि शीर्षस्थानमा रहन चाहन्छौं । क्वालिफायर्समुनि खेल्नुपरेको भए धेरै विकल्प हँुदैनथ्यो, सबै खेल जित्नुपथ्र्यो । क्वालिफायर्समा कसलाई रोज्नेभन्दा पनि आफ्नो लडाइँ आफैंसँग हो यो विकेटमा,’ काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘ब्याटिङ हाम्रो अझै राम्रो गर्न सकिन्थ्यो होला । पावर प्ले राम्रो सुरुआत भए पनि त्यसपछि ब्रेक लागेजस्तो भएको थियो । त्यसका बावजुत यो स्कोरमा खुसी थियौं । यो विकेटमा लक्ष्य पछयाउन चुनौतीपूर्ण नै थियो । बलिङ पनि हाम्रो सुरुदेखि उत्कृष्ट भयो र उनीहरूलाई दबाब दिन सक्दा हामीलाई खेल सजिलो भयो ।’


काठमाडौंलाई तेस्रो खेल जिताउनेक्रममा भारतीय खेलाडी अंकित दबासले नै म्यान अफ द म्याच प्रदर्शन गरे । उनले ४० बलमा ४३ रन बनाउँदा १ चौका र तीन छक्का प्रहार गरे । काठमाडौंले अघिल्लो दुई खेल जित्दा उनी नै म्यान अफ द म्याचमा चुनिएका थिए । ज्ञानेन्द्रले प्रतियोगितामा सर्वाधिक १ सय ३८ रन बनाएका आफ्ना ब्याट्सम्यानबारे भने, ‘अंकितको ब्याटिङले टिमलाई तानिरहेको छ र हाम्रा अरु खेलाडी उसको वरिपरि रहेर खेलिरहेको छ । यसले गर्दा पनि हामीलाई १ सय ३० भन्दा माथि रन बनाउन सजिलो भइरहेको छ । अरु टिममा शीर्षपंक्तिका ब्याट्सम्यानले अन्तिमसम्म रहेर खेल्न नसकेको जस्तो पनि लाग्छ ।’


पहिलो ओभरमै ललितसिंह भण्डारीको बलमा छक्का प्रहार गरेका काठमाडौंका गौरव तोमारलाई अर्को ओभरमा विक्रम सोबले आउट गरे । ज्ञानेन्द्रले १२ रन जोडे । ओपनर अनिलकुमार साहले २६ बल खेल्दै २ चौका र १ छक्कासहित २३ रन बनाए । महबुब आलम ११, योगेन्द्रसिंह कार्की १३ र विक्रम भुसाल शून्यमा आउट भए । रशिद खानले अन्तिम ओभरमा विक्रम सोबलाई लगातार बलमा २ चौका र १ छक्का प्रहार गरे ।


नेपाली यू–१६ बाट ६ वर्षअघि सनसनीपूर्ण प्रदर्शन गरे पनि घरेलु क्रिकेटमा हराइरहेका देव्रेहाते स्पिनर अनिल खरेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो बलमै अनिल साहलाई आउट गर्दै मेडन ओभर फाले । अर्को ओभरमा अनिलले १ रनमात्र दिए । खरेलको तेस्रो ओभरमा महबुबले छक्का प्रहार गरे पनि अनिलले चौथो ओभरमा महुबबलाई पनि क्याचआउट गराए । अनिलसँगै विक्रम सोब र पुनीत मेहराले २–२ तथा ललितसिंह भण्डारीले १ विकेट लिए ।


रूपन्देहीका लज्जास्पद ब्याटिङमा कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । अतिरिक्तबाट पाएको ७ रन नै उच्च स्कोर थियो । सुमित महर्जनले सर्वाधिक ५ रन जोडे । प्रदीप ऐरी ४ तथा सन्दीप सुनार, बाबर हायत, पुनीत र विक्रम सोब ३–३ रनमा आउट भए । विनोद भण्डारी १ रनमै आउट भए भने भीम सार्कीले खाता खोल्न सकेनन् । ओपनिङ बलर नन्दन यादवले ३.१ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । मध्यम गतिका बलर नन्दनले सन्दीप, भीम र ललितसिंहलाई बोल्ड गरे । ललितनारायण राजवंशी र सूर्य तामाङले २–२ तथा दबास र योगेन्द्रले १–१ विकेट लिए ।


रुपन्देहीका कप्तान वसन्त रेग्मीले खेल हार्नुभन्दा पनि खेलेको तरिका निकै नराम्रो देखिएको जनाए । ‘टिम मिटिङमा जुन छलफल हुन्छ त्यसलाई फ्लो गर्नुपर्छ जस्तो लाग्छ । पहिलो दुई खेल जित्दा बलिङ राम्रो भएको थियो, ब्याटिङ कुनै खेलमा राम्रो हुन सकेको छैन । ब्याटिङमा हामीले सोच्ने तरिकालाई सुधार ल्याउनुपर्छ,’ उनले भने, ‘पिचले गर्दा गाह्रो भएको भन्नेमा म छैन । सुरुका दिनहरूमा जस्तो गाह्रो थिएन आजको पिच, यति रन हामीले बनाउन सक्थ्यौं । तर हामील साह्रै नराम्रो खेल्यौं ।’ आगामी खेलहरू जित्नका लागि ब्याटिङ नै चल्नुपर्ने र यस चार खेलले आफ्नो ब्याट्सम्यानले केही सिकेको हुनसक्ने उनले ठम्याए ।


वर्षाले प्रभावित पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरी प्लेअफमा पुग्ने आशा जीवितै राखेको छ । पहिलो दुई खेल हारेको महेन्द्रनगरको त्यसपछि वर्षाका कारण दुई खेल रद्द भएको थियो । महेन्द्रनगरले पहिलो जित हात पार्दा अत्तरियाले पहिलो हार भोग्यो । अत्तरियाले पहिलो दुई खेल जितेको थियो ।


शुक्रबार रातिसम्म परेको वर्षाले मैदान भिजेका कारण खेल ६–६ ओभरमा छोटयाइएको थियो । टस जितेको अत्तरियाले ५ विकेट गुमाई ५४ रन बनायो । महेन्द्रनगरले ५.४ ओभरमा लक्ष्य भेट्टयो । महेन्द्रनगरका कप्तान शरद भेषावकरले सोमबारको खेल कुर्नुको विकल्पबाहेक आफूहरूसँग केही नभएको बताए ।


महेन्द्रनगरले राउन्ड रोबिनका सबै ५ खेल खेलिसकेको छ । टोलीसँग ४ अंक छ । विराटनगरको पनि ४ खेलमा ४ अंक छ । टोलीको रनरेट महेन्द्रनगरको भन्दा कम छ । विराटनगरले सोमबार अत्तरियासँग खेल्दै छ । विराटनगरले त्यस खेल जिते वा अंक पाएमा टोली प्लेअफमा पुग्नेछ । तर पराजित भएमा महेन्द्रनगर दोस्रो चरणमा पुग्नेछ ।


अत्तरियाका सन्नी पटेलले १९, जयकिसन कोल्सावाला र कप्तान दीपेन्द्रसिंह ऐरीले १०–१० रन बनाए । पटेल र कोल्सावालालाई लगातार बलमा आउट गरेका देव्रेहाते स्पिनर सागर ढकाल म्यान अफ द म्याचमा चुनिए । उनले एकमात्र ओभरमा ९ रन खर्चे । अविनाश बोहराले २ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अर्को एक विकेट शरदले लिए । महेन्द्रनगरबाट आनन्द सुब्रमन्यम्ले ९ बलमा २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए । आरिफ शेख ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १५ रनमा अविजित रहे । सीवाईसी अत्तरियाका भुवन कार्कीले २ र दीपेन्द्र राउतले १ विकेट लिए ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?