कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई कप क्रिकेट हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — एसईई परीक्षा दिएर बसेका किशोरलक्षित गरी एसईई कप एकदिवसीय क्रिकेट प्रतियोगिता गरिने भएको छ । नेक्सस क्रिकेट एकेडेमीले देशभरबाट टयालेन्ट हन्टमार्फत खेलाडी छनोट गरी जेठ पहिलो साता प्रतियोगिता गर्ने जनाएको छ । मिति भने घोषणा भएको छैन ।

सोमबार पत्रकार सम्मेलन गरी नेक्सस क्रिकेट एकेडेमीले ग्रासरुट क्रिकेट विकासका लागि स्कुलस्तरीय प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ । प्रतियोगितामा बढीमा आठ विद्यालयका टोलीको सहभागिता रहनेछ । खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।


देशका ११ स्थानमा टयालेन्ट हन्ट गरी छनोट खेलाडीमध्ये ४८ जनाले प्रतियोगिता खेल्न पाउँछन् । टयालेन्ट हन्टबाट ल्याइएका खेलाडीलाई ८ टिममा बाँडिनेछ । हरेक टिमले त्यसका ४ खेलाडीलाई प्लेइङ सेटमा राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।


चैत २२ देखि धनगढीबाट टयालेन्ट हन्ट सुरु हुनेछ । कोहलपुर, सुर्खेत, दाङ, चितवन, बुटवल, पोखरा, कलैया, विरानटगर, बिर्तामोड हुँदै वैशाख १५ र १६ गते काठमाडौंमा टयालेन्ट हन्ट हुनेछ । सुरुआती छनोटमा परेका १ सय जनालाई काठमाडौंमा ७ दिने विशेष प्रशिक्षण राखिने र त्यसपछि ४८ जनाको अन्तिम छनोट गरिने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले जानकारी दिए ।


काठमाडौंमा हुने मुख्य प्रतियोगितालाई मिति घोषणा भइनसकेको नेक्ससका अध्यक्ष शाहीले बताए । ‘हामीले वैशाख अन्तिम सातादेखि प्रतियोगिता सुरु गर्ने योजना बनाएका छौं, मुलपानी मैदान व्यस्त रहेकाले समय तोक्न सकिएन, जे भए पनि जेठ ७ गतेभन्दा पर जाँदैन,’ उनले भने ।


प्रतियोगितालाई नेक्ससले ब्रह्मास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता पनि गरेको छ । कलेजका एकेडेमिक डाइरेक्टर सुनन्दा रेग्मी र नेक्ससका अध्यक्ष शाहीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । २५ लाख अनुमानित बजेटको प्रतियोगिताका लागि ब्रह्मास्मीले ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।


ब्रह्मास्मीले टयालेन्ट हन्टबाट छनोट १ सय खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ जनालाई पूर्ण छात्रवृत्ति पनि प्रदान गर्नेछ । कलेजले गत वर्ष पनि १२ खेलाडीलाई पूर्ण छात्रवृत्ति दिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडीले श्रीलंकामा हुने शृंखलामा पनि सहभागिता जनाउन पाउनेछन् ।


उत्कृष्ट बलर, ब्याट्सम्यान र उत्कृष्ट खेलाडीलाई नेक्सस एकेडेमीको दिल्ली सेन्टरमा १ वर्षे नि:शुल्क प्रशिक्षणको व्यवस्था गरिनेछ । उत्कृष्ट १० जनालाई नेक्सस एकेडेमीमा ६ महिनाको नि:शुल्क प्रशिक्षण तथा होस्टेलमा ५० प्रतिशत छुटको सुविधा हुनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?