कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समस्यामा चेल्सी

एएफपी

लन्डन — प्रिमियर लिग क्लब चेल्सीलाई आगामी दुई ‘ट्रान्सफर विन्डो’ सम्म नयाँ खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लागेको छ । कम उमेरका खेलाडी अनुबन्ध गर्न नपाउने नियम उल्लंघन गरेको प्रमाणित भएपछि विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार चेल्सीलाई कारबाही गरेको हो । 

यसर्थ चेल्सीले अर्को वर्षको जनवरी अन्तिमसम्म नयाँ खेलाडी अनुबन्ध गर्न पाउने छैन । चेल्सीले यस निर्णयविरुद्धमा अपिल गर्ने बताइसकेको छ । ‘अनुशासन समितिले चेल्सीलाई दुई ट्रान्सफर विन्डोसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडी अनुबन्ध गर्न निषेधित गरेको छ,’ फिफाको विज्ञप्तिमा भनिएको छ ।


यसको अलावा चेल्सीले ६ लाख स्वीस फ्र्यांक पनि जरिवाना तिर्नुपर्नेछ भने नाबालिग खेलाडीको विषय सल्टाउन ९० दिनको समय उपलब्ध गराइएको छ । यो प्रतिबन्ध चेल्सी छाड्न लागेका खेलाडीका लागि लागू हुने छैन भने चेल्सीको वुमन्स फुटसल टिममा पनि लागू हुँदैन ।


फिफाले दिएको ३ दिनको समयमा चेल्सीले अपिल गर्ने बताइसकेको छ । यो कारबाहीले चेल्सी गम्भीर समस्यामा पर्ने निश्चित छ । जस्तो कि उसका मुख्य खेलाडी इडेन हाजार्डले क्लब छाडे भने उनको प्रतिस्थापनका लागि चेल्सीले नयाँ खेलाडी ल्याउन पाउँदैन ।


‘चेल्सी एफसीले स्पष्ट रूपमा फिफाको अनुशासन समितिको निर्णयको खण्डन गरेको छ र यस निर्णयविरुद्ध अपिल गर्नेछ,’ क्लबको वेबसाइटमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सुरुमा चेल्सीमाथि ९२ खेलाडीबारे आरोप लगाइएको थियो । तर तीमध्ये ६३ खेलाडीको अनुबन्धनले फिफाबाट स्विकृति पायो, हामी निकै निरास यसकारण पनि छौं कि उसैगरी अनुबन्ध गरिएका बाँकी २९ खेलाडीको प्रक्रिया स्वीकार गरिएन ।’


चेल्सीले १८ वर्षभन्दा कम उमेरका खेलाडीसँग व्यावसायिक सम्झौता गरेको प्रमाणित भएपछि फिफाले यो कदम लिएको हो । तीमध्ये बुर्किना फासोका स्ट्राइकर बर्टनार्ड ट्राओरे पनि छन् । जो अहिले फ्रेन्च क्लब लियोनबाट खेलिरहेका छन् । चेल्सीले सन् २०१३ मा उनलाई व्यावसायिक अनुबन्ध गरेको थियो, जति बेला उनी १८ वर्ष पुगेका थिएनन् । साथै क्लबले अर्को वर्षको जनवरीसम्म पनि उनको नाम दर्ता गरेको थिएन ।


समयमै खेलाडी दर्ता गर्न आलटाल गरेका कारण फिफाले इंग्ल्यान्डको फुटबल संघ (एफए) लाई पनि ५ लाख १० हजार स्वीस फ्र्यांक जरिवाना लगाएको छ । साथै खेलाडीको दर्ता लगत दुरुस्त पार्न ६ महिनाको समय दिएइको छ ।

‘फिफाको आजको विज्ञप्तिमा हाम्रो ध्यानाकर्षण भएको छ । एफएले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गरेको थियो र अहिले हामीमाथि नै प्रश्न उठाइएको छ । यसले फिफको अनुसन्धान प्रक्रियामै प्रश्न उठेको छ,’ एफएले टिटरमा आफ्नो प्रतिक्रिया दिँदै भनेको छ, ‘एएफले निर्णयको अपिल गर्ने सोच बनाएको छ । यद्यपि हामी यस मुद्दाको रचनात्मक तरिकाले सम्बोधन गर्न फिफा र चेल्सीको साथ काम जारी राख्नेछौं ।’

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?