कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : तोकिएकै साल गर्ने चटारो

ठाकुरसिंह थारू

नेपालगन्ज — यसै वर्षभित्र आठौं राष्ट्रिय खेलकुद यहाँ आयोजना गर्ने तयारी तीव्र बनिरहेको छ । तोकिएको अवधिमा आयोजना सम्पन्न भए त्यसले ३३ वर्षपछि निर्धारित समयमा खेल प्रतियोगिता सुरु भएको इतिहास रच्नेछ । पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय प्रतियोगिताबाहेक कुनै पनि तय गरिएको समयमा हुन सकेको छैन ।

आठौं राष्ट्रिय खेलकुद : तोकिएकै साल गर्ने चटारो

राष्ट्रियस्तरको प्रतियोगिता २–२ वर्षमा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नीति छ ।


पहिलो प्रतियोगिता ०३८ सालमा काठमाडौंमा भएको थियो । दोस्रो ०४० सालमा पोखरा र तेस्रो ०४२ सालमा वीरगन्जमा आयोजना भएयता राष्ट्रिय खेलकुदले निरन्तर पाएको छैन । राजनीतिक उतारचढावका कारण त्यसयता समयमै प्रतियोगिता हुन सकेका छैनन् । ०४२ पछि चौथो राष्ट्रिय खेलकुद ०५५ मा नेपालगन्जमा आयोजना भयो । १३ वर्षसम्म प्रतियोगिता आयोजना हुन नसक्दा खेलकुदका गतिविधिमा कमी आएको थियो ।


आयोजकले दाबी गरेअनुसार तयारी अन्तिम चरणमा पुगिसकेकाले आठौं राष्ट्रिय खेलकुद समयमै सुरु हुने । त्यसो भएमा घोषित समयमै हुने इतिहास दोहोरिने छ । ‘तेस्रोसम्मका प्रतियोगिता समयमै भए । त्यसयता कुनै पनि राष्ट्रिय खेलकुद समयमै हुन सकेको छैन,’ क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज प्रदेश नम्बर ५ का अध्यक्ष भीम वलीले भने, ‘हामीलाई इतिहास रच्ने अवसर जुरेको छ । सबैको साथ र सहयोगले नियमितताको इतिहास दोहोर्‍याउने छौं ।’


प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार अन्तिम चरणमा पुगिसकेकाले राष्ट्रिय खेलकुद यसै वर्ष आयोजना हुने उनले दोहोर्‍याए । ‘८५ प्रतिशत बढी काम भइसकेको छ । फिनिसिङका काम जारी छन्,’ उनले भने, ‘निर्माण कम्पनीलाई रातदिन काम गर्न निर्देशन दिएका छौं । उहाँहरूले पनि कामलाई तीव्र गतिले अगाडि बढाइरहनुभएको छ ।’


०५५ सालयता १० वर्षपछि ०६५ मा पाँचौं राष्ट्रिय खेलकुद काठमाडौंमा आयोजना भयो । त्यति बेला मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । ०६८ मा छैटौं संस्करण सुदूरपश्चिमको धनगढीमा आयोजना गरियो । त्यसको ५ वर्षपछि ०७३ सालमा सातौं प्रतियोगिता विराटनगरमा आयोजना भयो । त्यति बेलै ०७५ सालमा आयोजना गर्ने अधिकार नेपालगन्जलाई दिइएको थियो । अब समय घर्किंदै छ । मंसिरमै गर्ने भनिएको प्रतियोगिताको मिति विभिन्न कारणले पटक–पटक सारिँदै आएको छ । राखेपले कुनै पनि हालतमा प्रतियोगिता यसै वर्ष आयोजना गरेरै छाड्ने दाबी गर्दै आएको छ ।


‘फागुनको अन्तिम सातासम्म प्रतियोगिता सुरु हुने गरी काम भइरहेको छ । समय घर्किंदै गएपछि उत्तिकै दबाब पनि छ,’ अध्यक्ष वली भन्छन्, ‘विश्वास गर्नुस्, हामी प्रतियोगिता समयमै गरेर देखाउँछौं ।’ पछिल्लो पटक राष्ट्रिय खेलकुदको मिति भने सार्वजनिक गरिएको छैन । आठौं राष्ट्रियका लागि हात्तीको छावाको मस्कट चयन गरिएको छ । मस्कट तयार भएर नेपालगन्ज ल्याइसकिएको छ । त्यसको अनावरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम तय छ । गत आर्थिक वर्षमा समयमै बजेट निकास नहुँदा भौतिक संरचना निर्माणमा ढिलाइ भएको आयोजकको दाबी छ ।


डेढ महिना काठमाडौं धाएपछि बजेट निकासा भएको थियो । बजेट पाएलगत्तै भौतिक संरचनाका कामहरू धमाधम हुन थालेका हुन् । आयोजकका अनुसार सबैजसो निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । प्रतियोगितालाई आवश्यक पर्ने पूर्वाधार १३ वटा ठूला आयोजना जारी छ । ३५ खेलमा प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि अहिले क्षेत्रीय स्तरको छनोट प्रतियोगिता भइरहेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?