कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीप्यान अवार्डः सन्दीप र सीता उत्कृष्ट क्रिकेटर

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्दीप लामिछाने र सीता रानामगर वर्षको उत्कृष्ट क्रिकेटर बन्न सफल भएका छन् । क्रिकेट खेलाडी संघ (सीप्यान) ले पहिलोपल्ट आजायोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा सन्दीप पुरुषतर्फ र सीता महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।

सीप्यान अवार्डः सन्दीप र सीता उत्कृष्ट क्रिकेटर

ग्लोबल स्टार सन्दीपले वर्षको उत्कृष्ट खेलाडी बन्नेक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसीलाई उछिने । सीप्यानले सन् २०१८ को जनवरीदेखि २०१९ को जनवरीसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिएको थियो ।


सन्दीपले यो अवधिमा सबैखाले खेलमा गरी ३२ खेलमा १०.८५ को औसतमा ८४ विकेट लिएका थिए । त्यसमा २४ विकेट आईसीसी विश्व टान्टी २० छनोट इस्टर्न क्षेत्रमा लिएका थिए । हाल पाकिस्तान सुपर लिगमा खेलिरहेका सन्दीप कार्यक्रममा उपस्थित थिएनन् । उनको स्थानमा राष्ट्रिय टोलीका कप्तान पारसले उनको अवार्ड लिएका थिए ।


सन्दीपको मुख्य प्रतिस्पर्धा पारससँगै थियो । पारसले ३१ खेलमा ३४.५६ को औसत र ८८.०७ को स्ट्राइक रेटमा ८ सय ६४ रन बनाउनुका साथै ३४.५० को औसतमा १४ विकेट लिएका थिए । दीपेन्द्रले ३२ खेलमा ५ सय ३२ रन बनाउनुका साथै १० विकेट, सोमपालले २९ खेलमा ३ सय ५२ रन बनाउनुका साथै ४५ विकेट र करणले २५ खेलमा २ सय १६ रनका साथै २२ विकेट लिएका थिए ।


सीप्यानले तोकेको अवधीमा नेपाली महिला क्रिकेट टोलीले बैंककमा थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यासमात्र अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा खेलेको थियो । त्यसमा अलराउन्डर सीताले ३४.५० को औसत र ७८.८५ को औसतमा १ सय ७५ रन बनाएकी थिइन् । साथै उनले ४ विकेट पनि लिएकी थिइन् । सीताले सीप्यानले गरेको अवार्ड सुरुआत गरेकोमा प्रशंसा गरिन् । सीताले राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई उछिनेकी हुन् ।


इमर्जिङ वर्ष खेलाडीमा रोहितकुमार पौडेल चुनिए । उनले १८ खेलमा ३ सय २७ रन बनाए । यस विधाको मनोनयनमा परेका खेलाडीमा अविनाश बोहरा, कविता कुँवर, सन्दीप जोरा र ललितनारायण राजवंशी थिए । मोमेन्ट अफ द इयरको पुरस्कार करण केसीले पाए । उनको इनिङ्समा नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडासँगको खेल जित्दै विश्वकप छनोटमा पुगेको थियो । समाजिक सञ्जालको आधिकारिक पेजमार्फत गरिएको भोटिङका आधारमा यसको विजेता छानिएको थियो । यसको मनोनयनमा अन्य ९ खेलाडी र टिमको सफलता राखिएको थियो ।


पूर्व खेलाडी तथा क्युरेटर कोमल पाण्डेलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । सीप्यानले शैक्षिक संस्था एनसीसीएससँग सहकार्य गरेर आयोजना गरेको अवार्डमा पुरुष वर्ष खेलाडी हुनेलाई १ लाख ३२ र अन्य चार विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गरेको थियो ।

प्रदेश नम्बर ३ का समाजिक विकासमन्त्री युवराज दुलाल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, सीप्यानका अध्यक्ष मनीषराज पाण्डे, कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्व कप्तान उत्तम कर्माचार्यलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।


प्रकाशित : फाल्गुन २२, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?