कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा र आर्मी उपाधि भिडन्तमा

अर्जुन राजवंशी

बिर्तामोड — मगमग चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच फाइनल खेल हुँदैछ । दुई प्रतिद्वन्द्वीबीच झापा गोल्डकपमा उपाधिका लागि तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

झापा र आर्मी उपाधि भिडन्तमा

घरेलु टोली झापाले लगातार चौथो पटक फाइनल खेल्न लागेको हो भने आर्मीले तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि पहिलो र तेस्रो संस्करणको फाइनलमा जित निकाल्दै आर्मीले उपाधि जितेको थियो । झापा ११ भने फाइनलमा लगातार पराजित हुँदै आएको छ ।


आर्मी डिफेन्डिङ च्याम्पियन हो । ‘यो पटक हामी उपाधि जित्ने रणनीतिका साथ मैदान उत्रिँदैछौं,’ झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने, ‘लगातार तीनवटा फाइनलमा पराजित हुनुको कमजोरीलाई सच्याउँदै यस पटकको फाइनल खेल्ने हाम्रो पहिलो लक्ष्य छ ।’ आर्मी बलियो र नियमित खेलिरहेको ‘सेट’ टिम भएकाले सोहीअनुसार आफूहरूले रणनीति बनाउने उनले बताए ।


आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा बोल्दै आर्मी बलियो र नियमित खेलिरहेको ‘सेट’ टिम भएकाले सोहीअनुसार आफूहरूले रणनीति बनाउने उनले बताए । कटुवालले फाइनलमा सफलता पाउन विपक्षीको गोलपोस्टमा ‘धावा’ बोल्ने स्ट्राइकरको समस्यालाई अन्त्य गर्दै अघि बढ्ने बताए ।


‘हामीलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगले पनि केही धक्का पुगेको छ । हाम्रा नियमित खेलाडीहरू विभिन्न क्लबमा अनुबन्धित भए । जसका कारण हामीले पहिलादेखि नियमित अभ्यास गर्न पाएनौं,’ उनले भने, ‘यसका बावजुद घरेलु प्रतियोगिताको फाइनलमा पुगेका छौं । उपाधि रक्षा गर्ने यो पटकको अवसरलाई कुनै हालतमा गुम्न दिने छैनौं ।’


कप्तान कर्ण लिम्बूले घरेलु मैदानमा लगातार चौथो पटक फाइनल खेल्न पाउँदा खुसी लागेको बताए । उनले घरेलु समर्थकको हौसला र साथले यो पटक उपाधि रक्षा गर्नेमा आफू आशावादी रहेको बताए । ‘घरेलु मैदान र समर्थकसामु फुटबल खेल्न निकै हौसला मिल्छ । आशा छ, यो पटक हामी पक्कै पनि उपाधि जित्न सफल हुनेछौं,’ उनले भने ।


आर्मीका कप्तान भरत खवासले झापा गोल्डकपमा तेस्रो पटक उपाधि जित्न चाहेको बताए । उनले झापा ११ राम्रो टिम भएकाले फाइनल जित्न कठिन हुने भए पनि आफूहरूले सक्दो प्रयास गर्ने बताए । ‘शतप्रतिशत नभनौं । तर यो पटक पनि उपाधि जित्नेमा हामी आत्मविश्वासी छौं,’ खवासले भने, ‘मुलुकभित्रका अधिकांश ठूला प्रतियोगितामा हामी फाइनल खेल्दै झापासम्म आइपुगेका छौं । यहाँ पनि हामीलाई फाइनल खेल्न त्यति गाह्रो नहोला ।’


उनले झापाविरुद्धको फाइनलमा शारीरिक खेललाई कायम राख्दै आक्रामक खेल्ने रणनीतिसाथ मैदान उत्रिने बताए । प्रशिक्षक मेघराज केसीले झापा चिरपरिचित प्रतिद्वन्द्वी भएकाले फाइनलमा जित्ने रणनीति बनाउन समस्या नहुने बताए । उनले फाइनलमा पनि नियमित खेलाडीलाई नै मैदानमा उतार्ने बताए ।


गोल्डकपमा आयोजक झापाले उद्घाटन खेलमा सहारा क्लब पोखरा, क्वाटरफाइनलमा हङकङ नेप्लिज एकेडेमी र सेमिफाइनलमा थ्रीस्टार क्लबलाई पराजित गरेको थियो । आर्मीले क्वाटरफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई पराजित गरेको थियो ।


गोल्डकपको विजेताले १२ लाख ५५ हजार तथा उपविजेताले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फागुन १८ देखि सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित १० टिम सहभागी छन् । गोल्डकपको सर्वोत्कृष्ट एकजना खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


खेलाडीलाई सम्मान

झापा गोल्डकप आयोजक समितिले सोमबार दुईजना पूर्वफुटबल खेलाडीलाई सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा समेत फुटबल खेलेका पूर्वफुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्वराष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।


०४२ मा विद्यालयस्तरीय प्रतियोगिताबाट फुटबल खेल्न थालेका राईले ‘ए’ डिभिजनका विभिन्न क्लबबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । ०५२ मा न्युरोड टिम (एनआरटी) मा आबद्ध भई उनले माल्दिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलेका थिए ।


उनले ०५३ मा यू–१९ टिमको थाइल्यान्डमा आयोजित प्रतियोगितामा सहभागिता जनाएका थिए । तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कप फुटबलमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई जिल्लास्थित मुनाल क्लबका प्रशिक्षकसमेत हुन् ।


१३ वर्षको कलिलो उमेरमै राष्ट्रिय फुटबल टिमको सदस्य बनेकी अस्मिता खवास अहिले यू–१९ महिला फुटबल टिमकी प्रशिक्षक छन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यु गरेकी खवासले सोही वर्ष नर्वेमा भएको ‘नर्वे कप’, सन् २००४ मा चीनमा भएको ‘एसियन गेम’, सन् २०१० मा बंगलादेशमा भएको ‘साग गेम’ सहित विभिन्न प्रतियोगितामा सहभागिता जनाएकी छन् ।


उनले सन् २०१२ मा गोलरक्षकको भूमिका निर्वाह गरेकी थिइन् । दुर्घटनामा परेपछि उनले फुटबल खेल्न भने छाडेकी छन् । तर फुटबललाई छाडेकी छैनन् । अस्मिताले महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ०७० सालदेखि आफ्नै ठाउँमा ‘सन साइन महिला फुटबल क्लब’ स्थापना

गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन् ।


उनीहरूलाई नगद २५ हजारसहित सम्मान गर्न लागेको अध्यक्ष गिरीले बताए । झापा गोल्डकप आयोजक समितिले प्रत्येक वर्ष नगदसहित पूर्वफुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ । आयोजकले यसै वर्ष क्यान्सरपीडित झापा जिल्ला फुटबल संघका पूर्वसचिव तिलक गुरुङलाई उपचार सहयोगार्थ नगद २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।


प्रकाशित : फाल्गुन २७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?