कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेखाले किनिन् टिम

काठमाडौँ — एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि टिम, मार्की खेलाडी र टिम मालिकको घोषणा गरेको छ । प्रतियोगिता नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो । जुन अक्सनमा आधारित हुनेछ ।

रेखाले किनिन् टिम

मोरङको वैजनाथपुर मैदानमा वैशाख ७ देखि १४ सम्म प्रतियोगिता हुनेछ । पूर्वनिर्धारित समयअनुसार प्रतियोगिता चैत १ देखि ९ सम्म हुनुपर्ने थियो । तर प्रदेश ५ मा हुन लागेको आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको समन्वयमा मिति सारिएको हो ।


विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली प्रतियोगिताका प्रतिस्पर्धी हुन् । राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी हुनेछन् ।


सोमबार काठमाडौंमा भएको कार्यक्रममा लक्की ड्रमार्फत मार्की खेलाडीको टिम छिनोफानो गरिएको हो । रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी हुनेछन् । मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।

काठमाडौं सुपर च्याम्पियन्सको मालिक अभिनेत्री रेखा थापा हुन् । थापाले पहिलो प्रस्तावमै आफूले टिम खरिद गर्ने निर्णय गरेको सुनाइन् । ‘पहिलो पटक महिला प्रतियोगिताका लागि जब मसँग प्रस्ताव आयो, मैले आँखा चिम्लेर ‘हुन्छ’ भनिदिएँ,’ अभिनेत्री थापाले भनिन्, ‘म निकै उत्साही छु र यो प्रतियोगिता हाम्रा सम्पूर्ण छोरी र दिदीबहिनीका लागि हुनेछ ।’


अनुप सक्सेना विराटनगर, अनिल भण्डारी र दीपक सुवेदी भैरहवा तथा हरि खनाल धनगढीका मालिक हुन् । आयोजक संस्थाका प्रबन्ध निर्देशक जयराज रोयका अनुसार छिट्टै अक्सन हुनेछ । अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिनेछ ।


‘ए’ श्रेणीका खेलाडीको न्युनतम मूल्य ४० हजारबाट सुरु हुनेछ भने अधिकतम ७५ हजारसम्म बोली लगाउन पाइनेछ । ‘बी’ श्रेणीको २५ हजारबाट अधिकतम ५० हजारसम्म हुनेछ भने ‘सी’ श्रेणीका खेलाडीको मूल्य १५ हजारबाट सुरु भएर २५ हजारसम्म हुनेछ ।

विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यो घरेलु महिला क्रिकेटको सर्वाधिक पुरस्कार राशि हो । उपविजेताको भागमा ५ लाख पर्नेछ ।


राष्ट्रिय टोलीकी कप्तान रुबिनाले यति ठूलो प्रतियोगिताका लागि आफू उत्साही रहेको प्रतिक्रिया दिइन् । ‘सबैभन्दा ठूलो हामीले घरेलु मैदानमा एक प्रतिस्पर्धात्मक क्रिकेट खेल्न पाउँदै छौं । आयोजकको प्रयासलाई धन्यवाद दिन चाहन्छु र हामी आफैं पनि के कुरामा गम्भीर छौं भने हामी पुरुष क्रिकेटर जस्तै आफूलाई साबित गर्न योग्य छौं,’ रुबिनाले भनिन् । जो बारम्बार महिला क्रिकेटमा घरेलु प्रतियोगिता नभएकोमा गुनासो गरिरहन्थिन् ।


पछिल्ला वर्ष लगातार रूपमा रुबिनाले नेपाली महिला क्रिकेटको नेतृत्व गरिरहेकी छन् । नेपाल क्रिकेट संघ (क्यान) को असक्षमता र त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा परेपछि महिलाको एउटै पनि प्रतियोगिता भएको थिएन । पुरुष क्रिकेटका लागि तीन ठूला फ्रेन्चाइज लिग भइरहँदा महिलाका लागि पहिलो प्रतियोगिता वरदान बनेर आएको छ ।


‘प्रतिस्पर्धात्मक घरेलु लिग हाम्रा लागि सपना नै हो । पुरुष खेलाडीहरू वर्षभर नै व्यस्त रहन्छन्, किनभने उनीहरूका लागि पर्याप्त प्रतियोगिता छन् । अब हामीसँग पनि यस्ता प्रतियोगिता सुरु भएका छन्, जसले हामीलाई पनि व्यस्त बनाउने छ,’ राष्ट्रिय टोलीकी उपकप्तान सीताले भनिन् ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?