कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माईभ्यालीमा नयाँ च्याम्पियन

विप्लव भट्टराई

इलाम — मध्य अफ्रिकन क्यामरुनी फुटबल टोली दाउफिन्स इलाममा सम्पन्न पाँचौं आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकप फुटबल च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न फाइनलमा उसले हिमालयन शेर्पा क्लबविरुद्ध २–० गोलको जित निकाल्दै उपाधि जितेको हो ।

माईभ्यालीमा नयाँ च्याम्पियन

दाउफिन्सले पहिलो हाफमा नै २ गोल गर्दै जित पक्का पार्‍यो । खेलको आठौं मिनेटमा यानिक ओवासाको गोलबाट अग्रता लिएको दाउफिन्सले २० औं मिनेटमा अर्को गोल थप्यो । दाउफिन्सका लागि मेसुकेले दोस्रो गोल गरेका थिए ।


हिमालयनले दाउफिन्सको पोस्टमा केही राम्रा आक्रमण गर्‍यो । दाउफिन्सको बलियो डिफेन्सलाइनसँगै अनुभवी गोलकिपरसामु केही जोर चलेन । विजेताका कोलरक्षक प्रिजोले केही राम्रा आक्रमणलाई निस्तेज बनाउँदा हिमालयन खेलमा फर्कन सकेन । खेल अवधिभर हिमालयनका गोलरक्षक किशोर गिरी व्यस्त रहे । दोस्रो हाफमा हिमालयनलाई अर्को झट्का लाग्यो । अनुभवी र भरपर्दा खेलाडी ड्याडे वाम्बा दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि हिमालयनलाई थप भार परेको थियो । अन्तिम समयमा १० खेलाडीमा समेटिएको हिमालयनले केही मौका पाए पनि गोलमा परिणत गर्न सकेन ।


यो सिजन आठ प्रतियोगिता खेलेको दाउफिन्सले चौथो उपाधि जित्ने क्रममा हिमालयनलाई निकै दबाबमा राखेको थियो । बुटवलको तिलोत्तमा, पोखराको मनकामना र धरानको बुढासुब्बापछि अफ्रिकन टोलीले इलाममा चौथोपल्ट गोल्डकप उचालेको हो ।भर्खरै झापामा सेमिफाइनलमा त्रिभुवन आर्मीसँग हारेको पीडा दाउफिन्सले माईभ्यालीमा भुलाएको हो । माईभ्यालीमा हिमालयनले भने यो सिजन खेलेका ५ गोल्डकप मध्ये माईभ्याली ठूलो उपलब्धि हो ।


यसअघि वीरगन्जको विराट मेमोरियलमा सेमिफानलमा त्रिभुवन आर्मीसँग पराजित हिमालयन पोखरामा आर्मी, सिमरामा थ्रीस्टार र राइनोमा च्यासलसँग हार बेहोरेको थियो । विजेता दाउफिन्सले ७ लाख र उपविजेता हिमालयनले ४ लाख रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा हिमालयन शेर्पाका किशोर गिरीले उत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल पुरस्कार हात पारे ।


यसअघि माईभ्यालीको दोस्रो संस्करण झापाले उठाउँदा पनि उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए । प्रतियोगितामा दाउफिन्सका प्रिजो उत्कृष्ट गोलकिपर, ओको वोटा उत्कृष्ट डिफेन्डर र पेटङगा उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिताभर ४ गोल गरेका हिमालयनका सुनील खड्का सार्वधिक गोलकर्ताको पुरस्कार जित्न सफल भए ।


हिमालयनका त्रिदेव गुरुङले उत्कृष्ट मिडफिल्डर र दाउफिन्सका बाम्बाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । उनीहरूले जनही २५ हजार रुपैयाँ पाए । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरे । फाइनल पुग्नका लागि दाउफिन्सले नेपाल पुलिस क्लबको चुनौती पन्छाएको थियो भने हिमालयन शेर्पाले झापाको मेची नेत्रालयमाथि जित पाएको हो ।


माईभ्यालीको पहिलो संस्करण त्रिभुवन आर्मीले जितेको थियो भने दोस्रो र तेस्रोमा झापा ११ च्याम्पियन बनेको हो । अघिल्लो वर्ष थ्रीस्टारले उपाधि हात पारेको थियो ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?