कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचौ साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

विनोद भण्डारी

विराटनगर — डिफेन्डिङ च्याम्पियन भारत पाँचौ साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अघिल्लो संस्करणको उपविजेता बंगलादेशको चुनौती ४-० गोलले पन्छाउँदै उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो । सन् २०१६ को फाइनलमा भारतले बंगलादेशलाई ३-१ गोलले हराउँदै उपाधि जितेको थियो ।

पाँचौ साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

रोचक खेलमा पहिलो हाफमा तीन गोल संभव हुँदा भारतले १६ औं मिनेटमा डालीमा छब्बरको गोलमार्फत अग्रता लिएको थियो । सन्जुको कर्नर भलीमा बंगलादेशकी गोलकिपर रुपना चक्माले पञ्जमा लिएको बल ड्रप हुँदा छब्बरले बललाई पुस गरेर पोष्टको दिशा दिएकी थिइन् । सुरुआती १५ मिनेट दवावमा खेलेको भारतले २२ औं मिनेटमा इन्दुमती काथीरेसानको गोलले अग्रता दोब्बर बनायो । इन्दुमतीले सन्जुको क्रसलाई सदुपयोग गरेकी थिइन् । इन्दुमतीले नै ३६ औं मिनेटमा थप गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाउँदा जारी प्रतियोगितामा आफनो गोल संख्या चार पुर्‍याइन् । उनले सन्ध्या रंगानाथनको पासलाई सदुपयोग गरिन् । इन्दुमतीको नाममा माल्दिभ्स र श्रीलंकाविरुद्ध पनि एक एक गोल छ ।


जारी प्रतियोगिताको बुधबार सेमिफाइनल समिकरण सकिँदा भारतीकी इन्दुमति सर्वाधिक गोल कर्ताको सूचीमा छिन् । तीन गोल गरेकी नेपालकी सावित्रा भण्डारीले उनलाई पछ्याइरहेकी थिइन् । दोस्रो हाफमा बंगलादेशले सुधारिएको रक्षात्मक खेल पस्कदा भारतले थप गोल गर्न अतिरिक्त समय कुर्नु पर्‍यो । तीन मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा मनिषाले भारतका लागि चौथो गोल गरिन् । उनी मध्यान्तरपछि ग्रेस दाङमेको ठाउँमा मैदान छिरेकी थिइन् ।


बंगलादेशकी गोलकिपर रुपना खेलभरी व्यस्त रहिन् । बंगलादेशले सुरुको १५ मिनेटमा तीन पटक भारतको पोष्टमा बल पुर्‍याउँदा उसका स्कोरर वीच तालमेल नमिल्दा गोलका अवसर गुमायो । खेलको १४ मिनेटमा सरमोती सरकारको र १७ औं मिनेटमा मोसामत सोपनाको प्रहारलाई भारतीय डिफेन्सले क्लियर गरेका थिए ।

भारत र बंगलादेश बीचको खेलमा माल्दिभ्सका रेफ्री अदम फाजिलले पहेलो कार्डको वर्षा गरे । उनले भारतकी मिडफिल्ड सन्जु, फरवार्ड मनिषा, मिडफिल्ड इन्दुमती र गोलकिपर अदिती चौहानलाई पहेलको कार्डको चेतावनीदिएका थिए । सुरुको १५ मिनेट टिमले उत्कृष्ट प्रदर्शनी गरे पनि आफ्नै गल्तीले पहिलो गोल खान पुगेपछि टिमको प्रदर्शनी ओरालो लागेको बंगलादेशका प्रशिक्षक गोलाम रबानी छोटनको प्रतिक्रिया थियो । भारत दक्षिण एशियाकै बलियो टिम भएको उल्लेख गर्दै उनले खेलाडीको गल्तीले र अवसरलाई सदुपयोग गर्न नसक्दा फराकिलो गोल अन्तरको हार व्यर्होनु परेको बताए ।


विपक्षी टिमले सुरुमा दवाव दिए पनि टिमले उत्कृष्ट खेल पस्कँदै फराकिलो गोल अन्तरको जित दर्ता भएकोमा सन्तुष्टि जनाउँदै भारतकी प्रशिक्षक मायामोल रक्कीले उपाधिका लागि नेपालसँग हुने म्याचको प्रतिक्षामा आफू रहेको बताइन् । नेपाल बलियो टिम भएको रक्कीको प्रतिक्रिया थियो ।


प्रकाशित : चैत्र ६, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?