कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७७ किमि साइकल दौड : अनुज र सोनी च्याम्पियन

मनोज पौडेल

लुम्बिनी — काठमाडौंका अनुज पराजुलीले सिद्धार्थ गौतम बुद्ध अनर र एपीएफ क्लबकी सोनी गुरुङले मदर मायादेवी अर्नर उपाधि जितेका छन् । 

७७ किमि साइकल दौड : अनुज र सोनी च्याम्पियन

बुधबार ७७ किलोमिटर साइकल दौड २ घण्टा ३० मिनेट १७ सेकेन्डमा लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरको ७ फन्को पूरा गरेर अनुजले उपाधि जितेका हुन् । २२ वर्षीय उनी साइकल मेकानिक हुन् । उपाधिसँगै ७७ हजार ७ सय ७७ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।


बुद्धस्थलको प्रवर्द्धन गर्न आयोजित ग्रेट बुद्धिस्ट ट्रेल माउन्टेनबाइक यात्राअन्तर्गत प्रतियोगिता भएको हो । काठमाडौंकै कुमार लामा उक्त दूरी २ घण्टा ३० मिनेट १८ सेकेन्डमा पूरा गरेर दोस्रो भए । उनले मन्जुश्री अर्नर पुरस्कारसाथै ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारे ।


२ घण्टा ३० सेकेन्ड १९ मिनेटमा दौड पूरा गरेका आर्मी क्लबका हिमाल टमाटा तेस्रो भए । उनले स्वयम्भू नेवाः (बाल्वा) अर्नर पुरस्कार पाए । उनी ३३ हजार ३ सय ३३ रुपैयाँ जित्न सफल भए ।


महिलातर्फ ७७ किलोमिटर दूरी २ घण्टा ५७ मिनेट ४६ सेकेण्डमा पूरा गरेकी एपीएफकी सोनीले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरिन् । उक्त दूरी ३ घण्टा १६ मिनेट ४७ सेकेन्डमा पूरा गरेर लक्ष्मी मगरले मदर प्रजापति अनर पुरस्कारसहित ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारिन् । ३ घण्टा १७ मिनेट २७ सेकेण्डमा दूरी पार गरेकी हुमी बुढामगरले तेस्रो हुँदै प्रिन्स यशोधरा अनर पुरस्कारसहित ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गरिन् ।


४० वर्षभन्दा बढी उमेरको ५५ किमितर्फको उपाधि हर्क लामाले जिते । उनले शाक्यमुनि बुद्ध अनर उपाधि पाए । उपाधिसँगै ३३ हजार ३ सय ३३ नगद हात पारे । चिन्तविक्रम लामा दोस्रो भए । उनले २१ हजार १ सय ११ रुपैयाँ जिते । प्रशान्त पाण्डे तेस्रो भए । उनले १४ हजार १ सय ११ रुपैयाँ पाए । उनीहरूले मायादेवी मन्दिरलाई ५ फन्को लगाएका थिए । प्रतियोगितामा १७ प्रतिस्पर्धी थिए । एक फन्को लगाउँदा ११ किमि पूरा हुन्थ्यो । पिच, ग्राबेल र धुलौटे बाटोमा साइकिलिङ गरिएको थियो ।


‘उपाधि चुम्दा खुसी छु,’ विजेता अनुजले भने, ‘राइडसँगै गजबको शान्ति अनुभूति पाएँ ।’ साइकल मर्मत गर्ने मान्छेले उपाधि जित्ने अवसर पाउँदा खुसीको सीमा नरहेको उनले सुनाए । ‘अब यसलाई नै करिअर बनाउँछु,’ उनले भने । मायादेवी मन्दिरपरिसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार विक्रम पाँडेले खेलाडीलाई पुरस्कृत गरे ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?