कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस क्लब विजयी

प्रताप विष्ट

हेटौंडा — नेपाल पुलिस क्लब सडनडेथमा विजयी हुँदै भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित वनविज्ञान मैदानमा शनिबार च्यासल युथ र पुलिसबीचको खेल निर्धारित समय गोलरहित बनेपछि टाइब्रेकरमा पुग्यो ।

पुलिस क्लब विजयी

सुरुआती पेनाल्टी प्रहार ४–४ को बराबरीपछि पुलिसले सडनडेथका आधारमा सफलता पायो । पुलिसको जितमा गोलरक्षक रोशन खड्काको भूमिका महत्वपूर्ण रह्यो । उनले च्यासलको दुई पेनाल्टी प्रहार बचाए । उनलाई पुलिसका प्रशिक्षक अनन्तराज थापाले निर्धारित समयको अन्तिम मिनेटमा मैदान प्रवेश गराएका थिए ।


टाइब्रेकरमा पुलिसको तर्फबाट तीर्थ रानामगर, हरि कठायत, भरत शाह र सन्तोष हेमरनले गोल गरे । पुलिसको मानबहादुर परियारको प्रहार च्यासलका गोलरक्षक दिनेश थापामगरले रोकेका थिए । सडनडेथमा पुलिसका बुद्ध लामा र नीरकुमार राई सफल हुँदा पुलिसको हेटौंडा बसाइ लम्बिएको हो । टाइब्रेकरमा च्यासल युथको तर्फबाट विश्व अधिकारी, विक्रम लिम्बु, चेतन थारु र अमिर श्रेष्ठले गोल गरेका थिए भने मिलन राईको प्रहार पुलिसका गोलरक्षकले रोकेका थिए । सडनडेथमा च्यासलका नरेन्द्र चौधरीको प्रहार गोल हुँदा सन्जोग राईको प्रहार गोलरक्षक रोशनले बचाएका थिए ।


खेलभर च्यासलको तुलनामा पुलिसका खेलाडीले आक्रमण गरेका थिए । पुलिसका नीरकुमारले ६५ औं मिनेटमा च्यासलका दुई डिफेन्डरलाई छक्याउँदै सिक्स यार्ड बक्सबाट गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । खेलको ५५ औं मिनेटमा पुलिसका तीर्थ रानामगरले बक्सबाहिरबाट प्रहार गरेको प्रहार च्यासलका गोलरक्षकले मुस्किलले जोगाए ।


पुलिसका कप्तान दिनेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेल पूरा नियन्त्रणमा लिए पनि फिनिसिङमा चुकेको बताए । उनले पुलिसका खेलाडीहरू पछिल्लो समयमा मोफसलका प्रतियोगितामा फिनिसिङतर्फ कमजोर देखिरहेको सुनाए । सिनियर र यू–२३ राष्ट्रिय टोलीमा आफ्ना खेलाडी रहेका कारण पनि पूर्ण टिम मैदानमा उतार्न नपाएकाले समस्या भएको उनको दाबी थियो ।


च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले आफ्ना खेलाडीको प्रदर्शनप्रति असुन्तष्टि जनाए । नियमित प्रशिक्षणमा टोली नरहँदा समस्या भएको उनको दाबी थियो । टोलीका नियमित खेलाडी मोफसलका प्रतियोगितामा अरु क्लबबाट सहभागी हुँदा टिम समन्वयमा समस्या भएको भन्दै उनले राम्रो मैदान नहुँदा छोटो पास खेल्नुपरेको बताए । आइतबार क्मामरुनी टोली दाउफिन्स र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?