कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : एनआरएनएका २४ खेलाडी

काठमाडौँ — आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली (एनआरएनए) बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

आठौं राष्ट्रिय खेलकुद : एनआरएनएका २४ खेलाडी

आठौं राष्ट्रिय खेलकुद प्रदेश पाँचमा हुने भए पनि यसको मिति अझै टुंगो लागेको छैन । एनआरएनएका अध्यक्ष भवन भट्टले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो टोलीको सहभागिता निश्चित गरेका हुन् । खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुनेछन् ।


सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खडका तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।


करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा १७ औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्नेछिन् ।


फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा यूएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा यूएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जानउने जानकारी दिइयो ।


पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धासमेत सार्वजनिक गरिएको थियो । निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनील लामा र पर्शुराम घिमिरे छन् ।


बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी/प्रहरी/एपीएफ) गरी ११ टिमको सहभागिता रहनेछ ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?