कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी गल्फमा प्रतिमा

राजु घिसिङ

काठमाडौँ — रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) भित्रै रहेको छाप्रोमा हुर्किएकी प्रतिमा शेर्पाले अमेरिकी व्यावसायिक गल्फ ‘सिमेत्रा टुर’ को प्रतियोगिता आईओए च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छन् । नेपाली महिला गल्फकी नम्बर एक खेलाडीको करिअरमा यसलार्ई महत्त्वपूर्ण अवसरमा लिइएको छ ।

अमेरिकी गल्फमा प्रतिमा

अमेरिकी महिला व्यावसायिक गल्फर्सको सबैभन्दा ठूलो प्रतियोगिता ‘एलपीजीए टुर’ अन्तर्गत हुने गर्छ । एलपीजीए टुरपछि सिमेत्रा टुर पर्दछ । यस टुरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले विश्व महिला गल्फकै सर्वाधिक प्रतिष्ठित एलपीजीए टुरमा खेल्ने अवसर पाउँछन् । सन् २००८ यता सिमेत्रा टुरका शीर्ष दस खेलाडीलाई एलपीजीए टुरको कार्ड दिइएको छ । प्रतिमाले अवसर पाएको सिमेत्रा टुर २०१८ को प्रतियोगिता हो, आईओए च्याम्पियनसिप ।


कुल १ लाख २५ हजार अमेरिकी डलरको प्रतियोगितामा एमेच्योरका रूपमा सहभागी हुन ब्युमोन्ट, क्यालिफोर्निया पुगेकी प्रतिमाले भनिन्, ‘प्रतियोगिता हुन लागेको गल्फ कोर्समा नेपालको झण्डा देख्न पाउँदा बेग्लै खालको खुसी महसुस हुँदोरहेछ ।’ सिमेत्रा टुर २०१९ को तेस्रो प्रतियोगिता आईओएम च्याम्पियनसिपमा प्रो–एम स्पर्धा शुक्रबार भयो । मोरोंगो गल्फ क्लबमा चारदिने प्रतियोगिताको मुख्य स्पर्धा भने शनिबार सुरु भएको छ ।


क्यालिफोर्नियाकै भेन्टुरास्थित सान्टा बारबारा सिटी कलेजमा गल्फ छात्रवृत्तिमा बिजनेस व्यवस्थापनमा अध्ययनरत प्रतिमाले भनिन्, ‘मेरो वृत्तचित्रको माध्यमबाट सिमेत्रा टुरको प्रतियोगिता खेल्ने अवसर पाएकी छु, जुन कुरा मैले एक महिनाअघि थाहा पाएकी थिएँ । त्यसयता निकै मिहिनेत गरिरहेकी छु ।’


उनले कलेजको सान्टा बारबारा गल्फ क्लब र टीन लेक्स गल्फ क्लबमा साताको पाँच दिन अभ्यास गरिरहेको बताइन् । टीन लेक्समा उनलाई डन पार्सन्सले सिकाइरहेका छन् । प्रतिमाले गत वर्ष पनि पार्सन्ससँग डेढ महिना प्रशिक्षण गरेकी थिइन् । स्वदेशमा उनका गल्फ गुरु हुन् सचिन भट्टराई ।


जनवरी, २०१९ मा अमेरिका पुगेदेखि उतै अध्ययन गर्दै गल्फ खेलिरहेकी उनीबारे ईएसपीएनले बनाएको वृत्तचित्र ‘अ माउन्टेन टु क्लाइम्ब’ अप्रिल, २०१८ मा सार्वजनिक गरिएको थियो । त्यसपछि गल्फ डाइजेस्ट, सीएनएन, एएफपीलगायत विश्वकै चर्चित मिडियाहरूमा राम्रै स्थान पाइरहेकी छन् । उनले गत वर्ष पूर्व नम्बर १ गल्फर टाइगर उड्ससँग गल्फ कोर्समै भेटेकी थिइन् । उड्सले उनलाई फ्लोरिडामा केहीबेर गल्फ सिकाएका थिए ।


पछिल्लोपल्ट आरएनजीसीमा ५ ह्यान्डीक्यापमा खेलेकी प्रतिमाले आईओए च्याम्पियनसिपमा आफ्नो लक्ष्यबारे भनिन्, ‘एलपीजीए (लेडिज प्रोफेसनल गल्फर्स एसोसिएसन) ले व्यावसायिक खेलाडीसँगै खेल्ने अवसर दिनु मेरा लागि ठूलो अवसर हो र उपलब्धि पनि । यसमा बेग्लै अनुभव हुनेछ । राम्रो गर्ने कोसिस गर्नेछु । नयाँ कोर्समा आफ्नो खेल खेल्ने प्रयास गर्नेछु । यसबाट केही सिक्छु भन्ने लागेको छ ।’ कोर्स व्यवस्थापनलाई राम्रो गर्नसके स्कोर पनि राम्रो हुने उनको आशा छ ।


‘यो प्रतियोगिताले मलाई थप आत्मविश्वासी बनाउन सहयोग गर्ने विश्वास गरेकी छु,’ १९ वर्षीया प्रतिमाले भनिन्, ‘यति चाँडै यस्तो अवसर पाउने सोचेकी थिइनँ । नेपालको पहिलो महिला व्यावसायिक गल्फरको रूपमा एलपीजीए टुरमा खेल्ने मेरो सपना हो । जीवनमा असम्भव केही छैनजस्तो लाग्छ । कडा मिहिनेतले सधैँ सफल बनाउँछ । यसलाई एलपीजीएको निमन्त्रण र सिमेत्रा टुरमा पाएको खेल्ने अवसरले साबित गर्छ ।’


‘प्रतिमाको कथा हेर्दा उनले पहिला नै मुख्य चुनौती पन्छाइसकेजस्तो लाग्छ,’ सिमेत्रा टुरका चिफ विजनेस अफिसर माइक निकोल्सलाई उद्धृत गर्दै सिमेत्रा टुरको पोर्टलमा लेखिएको छ, ‘उनी आशावादी छिन्, जसले उत्साह दिन्छ । उनको अविश्वसनीय कथाको अर्को अध्यायमा एउटा सानो पक्ष लेख्न पाउँदा हामी गौरवान्वित छौं ।’


‘अमेरिकी व्यावसायिक गल्फको प्रतियोगितामा खेल्ने पहिलो नेपाली गल्फर हुने अवसर प्रतिमाले पाएकी छन् । नेपाली गल्फको लागि यसलाई ठूलै उपलब्धि र उनका लागि राम्रो अवसरमा लिनुपर्छ,’ नेपाल फ्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का महासचिव दीपक आचार्यले भने, ‘उनले राम्रो खेल्ने आशा छ । यस्ता अवसरले गल्फमा उनको करिअरको बाटो तय गर्नसक्छ ।’ एनपीजीएले गत सिजन सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता सूर्य नेपाल च्यालेन्जमा प्रतिमालाई खेल्ने अवसर दिएको थियो । आरएनजीसीमा भएको व्यावसायिक गल्फको घरेलु प्रतियोगितामा उनी ‘कट’ बनाउन असफल भएकी थिइन् ।


प्रतिमाले फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा महिलातर्फको उपाधि दुईपल्ट जितेकी थिइन् । सन् २०१८ मा भियतनामको डा नाङमा फाल्डो सिरिज ग्रान्ड एसिया फाइनल पनि खेलेकी उनले अमेरिका अनुभवबारे भनिन्, ‘सबैले मलाई नेपाल नेपाल भनेरै बोलाउँछन्, खुसी लाग्छ । नेपाल भनेपछि उनीहरूले सगरमाथा (विश्वकै सर्वोच्च शिखर) याद गरेका रहेछन् । नेपालमा गल्फ खेल्छ, त्यसमा पनि महिला खेलाडीभन्दा अचम्मै मान्छन् ।’


आरएनजीसीको कोर्समा हुर्किंदै गल्फमा रमाउन थालेकी उनी गत साता एरिजोनामा फाउन्डर्स कपको अवसरमा ‘स्किल च्यालेन्ज’ मा सहभागि भएकी थिइन् । त्यहाँ उनले एलपीजीए टुरका खेलाडीको प्रदर्शन हेर्ने अवसर पाएकी थिइन् । अहिले मोरोंगो गल्फ क्लब, टुकवेट कान्योनमा खेल्ने अवसर पाएकी छन् । स्ट्रोक प्लेको आधारमा हुने ५४ होलको प्रतियोगिता आईओए च्याम्पियनसिपमा ३७ देशका १ सय ४४ खेलाडी सहभागी छन् ।

प्रकाशित : चैत्र १७, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?