कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्कृष्ट रहे बार्सिलोना र आयाक्स

एएफपी

बार्सिलोना — लियोनल मेसीले म्यानचेस्टर युनाइटेडका दुई भूलको फाइदा उठाउँदै दुई गोल गरेपछि बार्सिलोना मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ ।

उत्कृष्ट रहे बार्सिलोना र आयाक्स

म्यानचेस्टरको नु क्याम्पमा पुनर्आगमन गर्ने अभियान पूरा हुन सकेन र उसले राम्रो सुरुवात लिए पनि मेसीले चार मिनेटको अन्तरमा दुई गोल गरेर सबै सम्भावना समाप्त पारे । सुरुमा मेसीले एस्ली योङको भूलमा गोल गरे भने अर्को अवसरमा उनको प्रहारलाई डेबिड डे गोयाले आफ्नै पोस्टतर्फ फुत्काए ।


सिजनकै आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका फिलिप कोउटिन्होले तेस्रो गोल थपे र यसका लागि बललाई घुमाउरो बाटो तय गर्न दिए । यस्तोमा खेल बार्सिलोनाको पक्षमा ३–० रह्यो र यो समग्रमा उसको ४–० जित रह्यो । ‘सुरुआती पाँच मिनेट हाम्रो प्रदर्शन बिर्सनलायक रह्यो, म्यानचेस्टरले राम्रो खेल्यो,’ बार्सिलोनाका प्रशिक्षक एरनेस्ट भाल्भरडेले भने, ‘त्यसपछि भने खेल हाम्रो नियन्त्रणमा रह्यो, पूरा ८५ मिनेट । त्यसबीचमा हाम्रो नराम्रो केही थिएन ।’


मार्कस रसफोर्डले पहिलो मिनेटमै प्रहार गरेको बल क्रसबारमा लागेको थियो र खेलको अन्त्यमा त्यसलाई कसैले पनि सम्झन आवश्यक मानेनन् । बार्सिलोनाको सुरुमा प्रदर्शन कति खराब थियो भने त्यसलाई घरेलु दर्शकले पनि पचाउन सकेनन् ।

मेसीको जादुयी खेलपछि त्यो चाँडै ओझेलमा पर्‍यो । अब बार्सिलोनाको अन्तिम चारको प्रतिद्वन्द्वी लिभरपुल अथवा पोर्टो हुनेछ । ‘हामीले सुरुदेखि भन्दै आएका छौं, केही दिनको अन्तरमा टिमको ठूलो फरक आउँदैन,’ म्यानचेस्टर प्रशिक्षक ओल गन सोल्सारले भने ।


उनले थपे, ‘अबको केही वर्षमा हाम्रो प्रदर्शन बार्सिलोना जत्तिकै हुनुपर्छ भने हामीले त्यसका लागि धेरै मिहिनेत गर्नुपर्नेछ । हामीले अझै लामो बाटो तय गर्नु छ ।’ च्याम्पियन्स लिगमा मेसीको गोल संख्या अब १ सय १० पुगेको छ र उनले अब क्रिस्टियानो रोनाल्डोको नाममा रहेको १ सय २६ गोलको कीर्तिमानलाई छुन प्रयास गर्न सक्नेछ । रोनाल्डोको युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको स्थितिमा मेसीसामु यसका लागि राम्रो अवसरसमेत हुनेछ ।


आयाक्स कप्तान म्याथिज्सले आफ्नो टिमको युरोपेली च्याम्पिन्स लिगको सेमिफाइनल यात्रालाई बयान गर्न आफूसँग शब्द नै नभएको बताए । उनको उत्कृष्ट हेड गोल मद्दतले मंगलबार राति आयाक्सले युभेन्ट्सलाई उसकै घरमा २–१ ले हरायो र समग्रमा ३–१ को अग्रता लियो । आयाक्सको युवा टिमले यसअघि रियल म्याड्रिडलाई उसैको मैदानमा ४–१ ले हराई अन्तिम १६ म पुगेको थियो र टुरिनमा पनि यस्तै सम्झनालायक खेल प्रदर्शन गर्‍यो ।


अब चारपल्टको युरोपेली विजेताले सेमिफाइनलमा म्यानचेस्टर सिटी अथवा टोटनहमको सामना गर्नेछ । आयाक्स आफैं पनि सन् १९९७ यता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । ‘हाम्रो प्रदर्शन कस्तो रह्यो, त्यो म शब्दले बयान गर्न

सक्दिनँ, तर यति भन्न सक्छु, हाम्रो प्रदर्शन साधारण भने पक्कै थिएन,’ १९ वर्षीय खेलाडीले भने । रोनाल्डोको गोलले अग्रता लिएको युभेन्ट्सविरुद्ध डोनी भान डे किले बराबरी गोल फर्काएका थिए ।


कार्डिफको संघर्ष जारी

ब्राइटन– कार्डिफले इंग्लिस प्रिमियर लिगमा आफ्नो चुनौती कायम राख्नका लागि मंगलबार राति ब्राइटनमाथि २–० को सनसनीपूर्ण जित निकालेको छ । निल वारनकको टिम त्यस खेलमा पराजित भएको भए टिम रेलिगेसनमा पर्ने निश्चित हुने थियो । तर कार्डिफका लागि प्रत्येक हाफमा नथानिल मेन्डेज लेङ र सिन मोरिसनले गोल गरे ।


यस जितपछि पुछारबाट तेस्रोमा रहेको कार्डिफले उसको ठीक अगाडि रहेको ब्राइटनसँगको दूरी दुई अंकले छोट्याएको छ । सन् २०१९ मा ब्राइटनले आफ्नो घरेलु मैदानमा दुई गोल मात्र गर्न सकेको छ र यसपल्ट पनि कार्डिफविरुद्ध उसको खेल बिर्सनलायक रह्यो । लगातार चौथो हारले ब्राइटनमाथि रेलिगेसन दबाब बढेको छ ।


ब्राइटन ३३ अंकसहित १७ औं र कार्डिफ ३१ अंकसहित १८ औं स्थानमा छ । पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधानमा हडर्सफिल्ड र फुलहमले यसअघि नै प्रिमियर लिगको अस्तित्व गुमाइसकेका छन् । ब्राइटन र कार्डिफ मध्ये एक रेलिगेसनमा पर्ने निश्चितजस्तै छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?