कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाधिमा वाग्मती र थ्रीस्टारको दाबी

ओमप्रकाश ठाकुर

सर्लाही — तेस्रो राजर्षि जनक कप फुटबलको उपाधिलाई शुक्रबार रुस्लान थ्री स्टार क्लब र वाग्मती नगरपालिकाको टिम भिडदै छन् । प्रदेश दुईको सर्वाधिक धनराशि पुरस्कारको प्रतियोगिता जित्ने दुवै टिमको दाबी छ । 

थ्री स्टारले विभागीय टिम नेपाल एपीएफलाई २–० गोलले हराएर उपाधिका लागि दाबेदारी प्रस्तुत गरेको छ । वाग्मतीले भुटानको पारो फुटबल क्लबलाई ३–२ गोलको अन्तरले हराउँदै उपाधिका लागि स्थान पक्का गरिसकेको छ । थ्री स्टार ‘ए’ डिभिजनको टिम हो भने वाग्मतीमा बिमल घर्ती मगरलगायत अन्य विदेशी खेलाडी छन् ।


वाग्मतीले फाइनलसम्मको यात्रा तय गर्दा पहिलो खेलमा फ्रेन्डस् क्लबलाई १–० लाई पन्छाएको थियो । थ्रीस्टारले खेलअवधि भर ६ गोल गरेको छ भने वाग्मतीको ४ गोल मात्र छ । थ्रीस्टारले कुनै गोल खर्चेको छैन ।


दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले यो वर्षको पहिलो फुटबल कपको नाम लेखाउने प्रयासमा रहेको बताए । ‘हामी यो वर्षको पहिलो कप भित्र्याउन चाहन्छौं, वाग्मतीले विभिन्न खेलाडी बोलाएर टिम बलियो बनाएको छ, भोलिको खेल उत्कृृष्ट हुन्छ,’ उनले भने, ‘विपक्षीको बलियो पक्षलाई रोक्ने र कमजोर पक्षलाई चिर्ने काम गरेर भोलि मैदानमा देखाउँछौं ।’ फुटबलमा चुनौती जहिले पनि रहने भन्दै विपक्षीभन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने प्रयासमा रहेको केसीले बताए ।


यता वाग्मतीका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले उपाधिका लागि तयारी राम्रो रहेको बताए । उनले पहिलो खेलमा समस्या देखिए पनि अहिले सुधार हुँदै गएकाले उपाधि हात पार्न सहज हुने बताए । घरेलु मैदान भएकाले पनि दर्शकको साथले हौसला बढाउनेमा उनी विश्वस्त थिए । ‘नेपालका चर्चित खेलाडी उतारेका छौं, घरेलु मैदान भएकाले दर्शकको पनि साथ पाउँछौं,’ उनले भने, ‘अन्य खेलाडीको पनि अनुभव बढेको छ, यस वर्षको कप हामी जित्न हरेक चुनौतीको सामना गर्न तयार छौं ।’


शुक्रबार वाग्मतीको स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने फाइनल विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछ । उदयीमान खेलाडी सर्लाहीकै एकजना खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै हरेक विधाका उत्कृष्टलाई जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?