कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै वडाका पाँच खेलाडीलाई स्वर्ण

भवानी भट्ट

कञ्चनपुर — राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले कुस्ती खेलमा लामो समयदेखि राम्रो नतिजा हात पार्न सकेको थिएन । प्रायः प्रतियोगितामा एक/दुई रजत र कांस्यमै चित्त बुझाउनुपर्थ्यो । तर यसपटक कुस्तीमा सुदूरपश्चिम पहिलो स्थानमा मात्रै रहेन । यहाँको एउटै वडाका ५ खेलाडी स्वर्णपदक जित्न सफल भएका छन् । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चैत २७ देखि २९ गतेसम्म कपिलवस्तुमा सम्पन्न भएको कुस्ती खेलमा कञ्चनपुरका ६ महिला खेलाडीले स्वर्णपदक प्राप्त गरे । जसमध्ये ५ जना भीमदत्त नगरपालिका ६ का बासिन्दा हुन् । कुस्तीमा सुदूरपश्चिमले ५ रजत र ५ कांस्यसमेत प्राप्त गरेको छ ।


सुदूरपश्चिमबाट स्वर्णपदक प्राप्त गर्नेमा ५० किलो तौल समूहमा मनीषा सिंह, ५३ किलोमा शिवांगी दुवे, ५५ किलो समूहमा

संगीता धामी, ६५ किलोमा मीरा आउजी, ६८ किलोमा विमला सुनार र ७२ किलो समूहमा लक्ष्मी खत्री रहेकी छन् । मनीषा सिंहबाहेक बाँकी सबै भीमदत्त नगरपालिका ६ का हुन् । मनीषा वेदकोट नगरपालिकाकी हुन् ।


विभागीय र ७ प्रदेशका खेलाडी सहभागी प्रतियोगितामा प्रदेश २ लाई पछ्याउँदै सुदूरपश्चिम कुस्तीमा पहिलो भएको छ । ‘कुस्तीमा हामी देशभरिमै पहिलो स्थानमा छौं,’ प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘यसपालि ठूलो सफलता मिल्यो ।’ उनका अनुसार कुस्तीमा सुदूरपश्चिमले स्वर्णपदकसमेत पहिलो पटक जितेको हो ।


राष्ट्रिय खेलकुद प्रतियोगितामा यसै वर्षदेखि महिला कुस्ती समावेश गरिएको हो । पहिलो वर्ष नै महिलाहरूले अब्बल प्रदर्शन गरेका छन् । ‘हामी राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएका हौं,’ ७२ किलो तौल समूहमा स्वर्ण विजेता लक्ष्मीले भनिन्, ‘पहिलो पटक नै हामीले राम्रो प्रदर्शन गर्‍यौं ।’ फाइनलमा उनले पुलिसकी रेखा रावललाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।


सुदूरपश्चिमबाट सहभागी कुस्तीका २० जना खेलाडीमध्ये अधिकांश कञ्चनपुरकै हुन् । कुस्तीमा पुरुषको सहभागिता लामो समयदेखि रहँदै आए पनि हालसम्म रजत र कांस्यमै चित्त बुझाउनुपरेको प्रशिक्षक चन्द बताउँछन् । ‘महिला खेलाडीहरूले पनि अब्बल प्रदर्शन गरेर कीर्तिमान नै बनाए,’ उनले भने, ‘अब यो प्रदर्शनलाई निरन्तरता दिंदै थप स्तरोन्नति गर्न सक्नुपर्छ ।’


एउटै वडाका धेरै खेलाडीले पदक जितेपछि गाउँभरि उनीहरूकै चर्चा छ । स्वर्णसँगै रजत र कांस्य पदक विजेता पनि त्यही वडाका बढी छन् । प्रशिक्षक आफू पनि भीमदत्त नगरपालिकाकै स्थायी बासिन्दा हुन् । उनले पनि २०६० मा दक्षिण एसियाली खेलकुदमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।


उनीहरूको जितमा जनप्रतिनिधिदेखि सर्वसाधारण सबैले खुसी व्यक्त गरेका छन् । कुस्तीमा सुदूरपश्चिमले इतिहास कायम गरेको भन्दै सबै विजेता खेलाडीलाई उनीहरूले बधाई दिएका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?