कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिसलाई मेचीनगर गोल्डकप

पर्वत पोर्तेल

काँकडभिट्टा — साबिक विजेता आर्मीलाई सडनडेथमा स्तब्ध पार्दै पुलिस मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेश कुथुलाई ठोक्किँदै पोस्टभित्र पुगेको थियो । 

पुलिसले आठौं राष्ट्रिय खेलकुदमा बेहोरेको पराजय बदला लिएको छ । जितसँगै पुलिसले १० लाख १ हजार र आर्मीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाए ।


निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुवैबाट ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । सडनडेथमा आर्मीका विकास तामाङको प्रहार आकासिएको थियो भने पुलिसका मानबहादुरको प्रहार पोस्टमा लागेर फर्कियो । तर सोही बलले गोलरक्षक कुथुको शरीरमा ठोक्किएर पोस्टको दिशा लिएको थियो ।


पेनाल्टी सुटआउटमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार गोलरक्षक कुथुले फर्काएका थिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार आकासिएको थियो भने जर्जप्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खडाले रोकेका थिए ।


आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको पेनाल्टी प्रहार गोलमा परिणत भयो । म्यान अफ द म्याच पुलिसका गोलरक्षक रोशन घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाए ।


राइजिङ प्लेयर आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एन्जल गुरुङ, उत्कृष्ट गोलरक्षक पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, उत्कृष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक अनन्तराज थापा घोषित भए । उनीहरूले जनही २१ हजार पाए । प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ पाए ।

प्रकाशित : वैशाख २१, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?