कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमाइ त्यागेर प्रतिस्पर्धामा

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — फिस्लिङका पदमबहादुर गुरुङ तीन वर्षयता यस बेला जापानस्थित मिनामिकोमा–गनको नदीमा डुंगा खियाइरहेका हुन्थे  । त्यहाँ र्‍याफ्टिङ गाइडको रूपमा काम गरेको ७ महिनाको कमाइ नै उनको परिवारको मुख्य आयस्रोत हो  ।

कमाइ त्यागेर प्रतिस्पर्धामा

यसपालि उनी जापानको आकर्षक कमाइ त्यागेर देशको प्रतिनिधित्व गर्दै विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा भाग लिन उत्तरी अस्ट्रेलियाको क्वीन्सल्यान्ड आइपुगेका छन् ।


‘जापानमा औसत मासिक २ लाख कमाइन्छ । त्यो छाड्दा परिवार चलाउन गाह्रो हुन्छ,’ २८ वर्षे पदमले भने, ‘तर वर्ल्ड च्याम्पियनसिप खेल्न पाउनु बेग्लै खुसी हो । त्यसैले राम्रो कमाइ गर्ने अवसर दुई महिना छाडेरै भए पनि वर्ल्ड च्याम्पियनसिप तयारीमा केन्द्रित भएको छु ।’ र्‍याफ्टिङ गाइडका रूपमा १२ वर्ष कार्यरत उनले सन् २०१६ देखि हरेक वर्ष अप्रिलदेखि अक्टोबरसम्म जापानका नदीमा हुन्छन् । अरु बेला स्वदेशकै नदीमा डुंगा खियाउँछन् ।


पदकसहित इच्छाकामना गाउँपालिका (चितवन) का शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रबिल मियाँ तथा गोरखास्थित सिरानचोकका सुनील गुरुङ र गण्डकी गाउँपालिकाका सुरज गुरुङ आईआरएफ विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको तयारीमा दुई महिना त्रिशूली, मर्स्याङदी र सेती नदीमा अभ्यास गरेपछि बुधबार क्वीन्सल्यान्ड आइपुगेका हुन् । ३० देशका टिम सहभागी आठदिने च्याम्पियनसिप टली नदीमा सोमबार सुरु हुँदै छ । उक्त नदीमा नेपाली खेलाडीले शुक्रबार अभ्यास थालेका छन् ।


सबै नेपाली खेलाडी ‘रिभर गाइड’ हुन् । पदम, सविन र रबिल जापानमा काम गर्छन् भने टिम कप्तान सुरज युरोपेली देश आइसल्यान्डमा । अरु तीन खेलाडी स्वदेशी नदीमै व्यस्त हुन्छन् । रिभर गाइडको काम गर्दा स्वदेशमै सिजनका बेला (फागुनदेखि असारसम्म) मासिक ५० हजार कमाउँछन् । र्‍याफ्टिङ सिजनमा आम्दानी बढी हुन्छ । सबैले सिजनको आकर्षक कमाइ छाडेर विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।


‘पैसा अरु बेला पनि कमाइन्छ तर वर्ल्ड च्याम्पियनसिप खेल्ने अवसर सधैं पाइँदैन,’ नेपाली टिमका कप्तान सुरजले भने, ‘देशको प्रतिनिधित्व गरेर वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सपना थियो, जुन यसपालि पूरा हुँदै छ ।’ उनी सन् २०१६ यता सिजन (मे देखि सेप्टेम्बर) मा उत्तरी आइसल्यान्डस्थित बारम्लिबमा कार्यरत छन् । उनले त्यहाँ मासिक ४ लाख रुपैयाँ आर्जन गरिरहेको बताए । यसपालि उनी विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नका लागि एक महिनापछि मात्रै आइसल्यान्ड जाने योजनामा छन् । जापान, आइसल्यान्ड, क्यानडा, स्वीट्जरल्यान्ड, अमेरिका, न्युजिल्यान्ड, चीन, दुबई, भारतलगायतमा कार्यरत नेपाली रिभर गाइड एक हजार बढी रहेको बताइन्छ ।


‘यी खेलाडीहरूले सिजनको राम्रो कमाइ छाडेर विश्व च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्नका लागि दुई महिना दैनिक ८ घण्टासम्म अभ्यास गरेका छन्,’ टिमका प्रशिक्षक निमबहादुर मगरले भने, ‘उनीहरूले निकै मिहिनेत गरिरहेका छन् । त्यसैले विश्व च्याम्पियनसिपमा उत्कृष्ट नतिजा आस गरेका छौं ।’ उनको टिम इच्छाकामना, बेनीघाट रोराङ, गण्डकी, सहिद लखन गाउँपालिका, नेपाल पर्यटन बोर्ड, मनकामना केबुलकार, सगरमाथा युवा क्लब, तमु छोंज धीको सहयोगमा विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको हो ।


नेपाली टिमले विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा औपचारिक रूपमा दोस्रोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । पहिलोपल्ट सन् २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिप खेलेको नेपाली टिम गत वर्ष अर्जेन्टिना संस्करणमा भने सहभागी नै भएन । राष्ट्रिय प्रतियोगिताको विजेता टिम विश्व च्याम्पियनसिपलाई छनोट हुने गर्छ । जापानमा नेपाल कायक क्लबका खेलाडी पुगेका थिए ।

क्वीन्सल्यान्डमा नेपाल र्‍याफ्ट एन्ड कायक क्लब फिस्लिङको टिम आइपुगेको हो । सन् २०१६ मा यूएईमा भएको विश्व च्याम्पियनसिपमा बिना छनोट त्यहीं रहेका नेपाली खेलाडीहरू पनि सहभागी भएका थिए ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?