कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७८ वर्षे क्युरेटरको तन्नेरी जोस

रमेशकुमार पौडेल

चितवन — धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट जुटाउने तीन अर्ब रुपैयाँ खर्च गरेर चितवन रामपुरमा बनाउन लागेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमबारे देशविदेशका नेपाली जानकार छन् । सके जति रकम सहयोग गर्नेहरू पनि बढै छन् ।

७८ वर्षे क्युरेटरको तन्नेरी जोस

तर ७८ वर्षीय एक व्यक्ति प्रचण्ड गर्मीको वास्ता नगरी मैदानभित्रै खट्न सुरु गरेका छन् । आफ्नो सीपले क्रिकेटको ग्राउन्ड र पिच उम्दा बनाउने उनको धोको छ ।

धुर्मुस अर्थात कलाकार सीताराम कट्टेल र सुन्तली अर्थात कुञ्जना घिमिरे देशविदेशमा सहयोग जुटाउने अभियानमा सक्रिय छन् । माघ १६ गते रंगशाला बनाउने घोषणा भएलगत्तै उनीहरूले यो बाहेक अरू सोच्नै भ्याएका छैनन् । काठमाडौंका कोमल पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा दुबो रोप्ने र क्रिकेट पिच बनाउने जिम्मेवारी पाएका छन् ।

महिना दिनअघि चिसो काठमाडौंबाट तातो चितवन झरेका ७८ वर्षे पाण्डेले दुबो छान्ने र रोप्ने काममा ३० कामदारलाई निर्देशन दिइरहेका हुन्छन् । क्रिकेट पिचका लागि उपयुक्त माटो छनोट गर्न ठाउँ–ठाउँमा आफैं पुग्ने गरेका छन् । शनिबारमात्रै उनी पिचलाई माटो हेर्न भन्दै तनहुँ दमौली पुगे । दुबो रोप्ने ठाउँमा माटो छर्केको मिले–नमिलेको पनि नियाल्छन् । नमिले आफैं टोकरी समाएर माटो फ्याँक्ने तरिका सिकाउँछन् ।

अर्थशास्त्रका प्राध्यापक पाण्डेले ३३ वर्ष पढाएर अवकास लिए । उनी फुटबल, क्रिकेट र एथलेटिक्सका माहिर खेलाडी हुन् । अवकासपछि के गर्ने होला भनेर सोच्दै गरेका पाण्डेलाई क्रिकेट मैदान स्याहारसम्भार गर्ने तरिका सिक्ने अवसर मिल्यो । ‘विनयराज पाण्डे त्यति बेला क्रिकेट संघको अध्यक्ष हुनुहुन्थ्यो, उहाँ मेरो साथी हो । त्यो बेला उहाँले क्युरेटरको कोर्स गर्ने हो भनेर सोध्नुभयो,’ पाण्डेले सुनाए ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले आजभन्दा १५ वर्षअघि मलेसियामा आयोजना गरेको १० दिने क्युरेटर कोर्स पूरा गरेपछि उनले कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदान स्याहार्ने अवसर पाए । त्यो कोर्सपछि उनी हङकङ, थाइल्यान्डमा गएर दोस्रो र तेस्रो कोर्स गरे । चौथो र अन्तिम एड्भान्स कोर्स गर्न फेरि मलेसिया नै गए । उनैले तयार गरेको कीर्तिपुर क्रिकेट मैदानमा नेपालले डिभिजन ५ को खेल जितेको थियो । त्यो बेलाका मैदानका फोटो बोकेरै हिँड्छन् उनी ।

‘अब केही काम नगरौं भनेर बसेका बेलामा फाउन्डेसनले सम्झेर बोलायो । यो स्टेडियमको ग्राउन्ड र पिचलाई स्वदेशी, विदेशी सबैले आहा भन्ने बनाउने छु,’ पाण्डेले भने । ठूलो क्रिकेट मैदानमा नौवटा पिच हुन्छ । त्यसपछि एउटा सानो मैदान पनि हुनेछ जसमा पाँच पिच हुनेछ । अभ्यासका लागि पनि केही पिच बनाउनुपर्नेछ । दुबो मैदान र पिच दुवैलाई चाहिन्छ । पिचलाई कालो माटो र रातो माटो चाहिन्छ ।

‘अहिले म यी कुराको जोगाडमा लागेको छु । दुबो त चितवनमा जति रहेछ । पिचका लागि अलि अर्कै दुबो चाहिन्छ त्यो पनि काठमाडौंबाट मगाएर रोपिसकेको छु । पिचका लागि चाहिने माटो कहाँ पाइन्छ पत्ता लगाइसकेको छु,’ पाण्डेले भने । स्टेडियमको डीपीआर तयार हुँदै छ । सँगसँगै मैदान बनाउने र पिचको काम पनि सुरु हुनेछ । पुससम्म प्यारापिटबाहेक मैदान तयार हुने फाउन्डेसनको भनाइ छ ।

‘पुस–माघभित्र मैदान र पिच तयार गर्ने उद्देश्य छ । खेल खेल्न सकिनेछ । हामी यो उत्साहसाथ काममा लागेका छौं,’ फाउन्डेसनका अध्यक्ष कट्टेलले भने । क्युरेटर पाण्डे पनि यो कुरा असम्भव नभएको बताउँछन् । ‘धुर्मुसजीले भने जसरी नै काम गर्ने हाम्रो योजना छ । म दसैंमा २–४ दिन घर जाउँला नभए अब यही मैदानमा खट्छु,’ पाण्डेले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले भरतपुर महानगरपालिकालाई सट्टाभर्ना लिने गरेर भरतपुर–१५ रामपुरमा उपलब्ध गराएको २० बिघा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्दै छ । नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि यहाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन ।


प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियको मैदानमा दुबो रोप्न सिकाउँदै क्युरेटर कोमल पाण्डे ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?