कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप : स्प्रिन्टमा सुधारिएको प्रदर्शन

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली राष्ट्रिय र्‍याफ्टिङ टिमले टली नदीमा बिहीबार सुरु १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रिन्टतर्फ २४७.७८ सेकेन्डसाथ पाँचौं स्थान हात पारेको छ ।

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप : स्प्रिन्टमा सुधारिएको प्रदर्शन

आर ६ तर्फ विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको हो । दुई वर्षअघि जापानमा सम्पन्न विश्व च्याम्पियनसिपमा नेपाल ११ औं स्थानमा थियो ।


लगातार तीन दिनयता वर्षातबीच भएको प्रतिस्पर्धाबारे नेपाली टोलीका कप्तान सुरज गुरुङले भने, ‘सबैले मिहिनेत गरे । त्यसैले शीर्ष पाँचमा पुग्यौं । हाम्रा लागि यो पनि उपलब्धि हो ।’ रेसको अन्त्यतिर डुंगा टर्निङमा ढुंगामा ठोक्किएको थियो । त्यसबारे प्रशिक्षक निमबहादुर मगरले भने, ‘ढुंगामा ठोक्किँदा हामीलाई समय बढी लाग्यो ।


त्यसो नभएको भए पदक जित्न सक्थ्यौं ।’ आर ६ को विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा दोस्रोपल्ट सहभागी भएको हो । यसमा पहिलो पदक जित्ने अहिलेको टिमले लक्ष्य बनाएको छ । डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्वर्ण पदक जित्दै समग्रमा चार स्पर्धाको च्याम्पियनसिपमा उपाधि रक्षाको अभियानमा राम्रो सुरुआत गर्‍यो ।


नेपालभन्दा ५.२६ सेकेन्ड कम समयमा दूरी पार गरेको ब्राजिलले २४२.५२ सेकेन्ड लगायो । सन् २०१७ मा जापानको योसिनो नदीमा भएको आर ६ को विश्व च्याम्पियनसिपमा चारै स्पर्धा (स्प्रिन्ट, हेड टु हेड, स्ललोम, डाउन रिभर) मा ब्राजिलले स्वर्ण जितेको थियो । सबैमा आयोजक जापान रजतमा सीमित भएको हो ।


यसपालि पनि जापानको सुरुआत त्यस्तै भयो । उसलाई ब्राजिलले ०.९७ सेकेन्डले उछिन्यो । रुस (२४३.९९ सेकेन्ड) ले कांस्य हात पार्‍यो । १६ देश सहभागी पुरुष खुलाको स्प्रिन्टमा न्युजिल्यान्ड २४६.६७ सेकेन्डसाथ चौथो भयो । नेपालले आयोजक अस्ट्रेलिया, इन्डोनेसिया, जर्मनी, चेक गणतन्त्र, कोस्टारिका, क्यानडा, अमेरिका, चीन, नर्वे, रोमानिया र कोलम्बियालाई पछाडि पार्दै पाँचौं भएको हो ।


दोस्रोपल्ट सहभागी आर ६ को विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालको सबैभन्दा राम्रो प्रदर्शन यही हो । समग्र (ओभरअल) मा विश्व च्याम्पियनसिपका लागि चार स्पर्धामध्ये स्प्रिन्टमा १० प्रतिशत अर्थात् १ सय अंक छुट्याइएको हुन्छ । त्यसमा ब्राजिलले १ सय, जापानले ९२, रुसले ८६, न्युजिल्यान्डले ८२ र नेपालले ७९ अंक हात पारे । हेड टु हेडमा २ सय, स्ललोममा ३ सय र डाउनरिभरमा ४ सय गरी कुल १ हजार अंक दिइन्छ । समग्रमा सर्वाधिक अंक जोड्ने टिम नै विश्वविजेता बन्नेछ ।


च्याम्पियनसिपको पहिलो दिन स्प्रिन्टमा महिला खुलातर्फ न्युजिल्यान्ड, मास्टर्स (४० वर्षमाथि) महिलातर्फ अस्ट्रेलिया र पुरुषमा जापान, यू-२३ तर्फ पुरुषमा चेक गणतन्त्र र महिलातर्फ अस्ट्रेलिया, यू-१९ पुरुषमा अस्ट्रेलियाले स्वर्ण पदक जिते । हेड टु हेडमा यू-२३ महिलातर्फ इन्डोनेसिया, पुरुषमा जापान र यू-१९ पुरुषतर्फ अस्ट्रेलियाले स्वर्ण हात पारे ।


चीनविरुद्ध खेल्दै

कप्तान सुरजसहित शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ समावेश नेपाली टोलीले च्याम्पियनसिपको दोस्रो दिन शुक्रबार हेड टु हेडमा चीनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । स्प्रिन्टको नतिजाको तय गरिएको वरीयताका आधारमा नेपालले चीनविरुद्ध खेल्ने भएको हो ।


स्प्रिन्टमा चीन १३ औं भएको थियो । नकआउट शैलीको प्रतिस्पर्धामा चीनलाई पराजित गर्न सके नेपालले क्वाटरफाइनलमा ब्राजिल र चेक गणतन्त्रविरुद्धको विजेतासँग खेल्नेछ । जापान संस्करण २०१७ मा नेपाल हेड टु हेडमा सेमिफाइनल पुगेको थियो । स्ललोम आइतबार र डाउन रिभर सोमबार हुनेछ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?