कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिसको प्लेअफ सम्भावना 

काठमाडौँ — विमलजंग कार्कीको २७ स्कोरमा नेपाल पुलिस क्लबले बिहीबार साबिक विजेता गोल्डेनगेट क्लबलाई ९६–८२ स्कोरले पराजित गरेको छ । पुलिसको नेपाल बास्केटबल लिगमा यो पाँचौं जित हो ।

पुलिसको प्लेअफ सम्भावना 

बंगलादेशी राष्ट्रिय टोलीका तीन खेलाडी शावन चौधरी, मोहम्मद आकाश र शाहिनूर शोजिवसम्मिलित पुलिस टोली जितपछि १५ अंकसाथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसको शीर्ष चारभित्र रहेर प्लेअफ यात्राको सम्भावना बढेको छ ।


अर्को खेलमा बूढानीलकण्ठ नगरपालिका बास्केटबल टोलीले साउथ साइडर्स क्लबलाई ८५–५९ स्कोरले पराजित गरेको छ । लिगमा साउथ साइडर्सको यो नवौं हार हो । जितपछि बूढानीलकण्ठ १६ अंकसहित तेस्रो स्थानमा छ । समान ११ खेलबाट गोल्डेनडेटको पनि १६ अंक नै छ । नतिजाका आधारमा बूढानीलकण्ठ अगाडि छ ।


लिगको एकमात्र अपराजित टोली टाइम्स क्लबले १० खेलबाट २० अंकसहित शीर्षस्थान कब्जा गरेको छ भने विभागीय टोली त्रिभुवन आर्मी समान खेलबाट १९ अंकसहित टाइम्सलाई पछ्याइरहेको छ ।


बिहीबार बिहान धुम्बाराहीस्थित घरेलु कोर्टमा म्यान अफ द म्याच विमलजंगले ८ रिबाउन्ड पनि लिए । ५ तीन प्वाइन्ट शटसहित जेसन सुनुवारले पनि २४ स्कोर गरे । पहिलो क्वाटरमा पुलिसले गोल्डेनगेटमाथि २१–१३ को अग्रता बनाएको थियो ।


दोस्रो क्वाटरमा गोल्डेनगेट केही आक्रामक देखियो । उसले २८ स्कोर गर्दा पुलिसलले ३० स्कोर गर्‍यो । दुई क्वाटर समाप्तिमा पुलिसले अग्रता १० स्कोरमा पुर्‍यायो । २३–२१ को स्कोर गरी पुलिसले तेस्रो क्वाटरमा थप २ अंकको अग्रता बनायो र १२ अंकको अग्रतासहित अन्तिम क्वाटर सुरु गरेको हो । अन्तिम क्वाटरमा पनि पुलिस २२–२० ले अघि रह्यो । गोल्डेनगेटका भारतीय खेलाडी योगेश कडेरियाले १६ रिबाउन्डसहित २३ स्कोर गरे । विक्रम डंगोलले २० र मनीषराज राजोपाध्यायले १४ स्कोर गरे ।


दोस्रो खेलमा गोल्फुटारस्थित घरेलु कोर्टमा बूढानीलकण्ठ निकै प्रभावशाली देखियो । यो हार साउथ साइडर्सका लागि भने महँगो पर्नसक्छ । उसले लिगमा ४ खेल बाँकी छँदा ११ अंक जोडेको छ । कप्तान विराज रानाले घरेलु टोलीका लागि १४ स्कोर गरे । तर सौरभ श्रेष्ठले २४ स्कोर गरी टिमका लागि सर्वाधिक योगदान गरे ।


बूढानीलकण्ठले पहिलो क्वाटरमा ३१–२० को अग्रतासाथ खेल सुरु गरेको थियो । दोस्रो क्वाटरमा २५–१४ को स्कोर गरेपछि दुई क्वाटर समाप्तिमा ऊसले २२ अंकको अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा साइडर्सले १५–१२ ले अघि रह्यो । अन्तिम १० मिनेटमा १७–१० को अग्रतासहित बूढानीलकण्ठले खेल जित्यो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?