कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामबहादुर र यामीकै गति

नुमा थाम्सुहाङ

काठमाडौँ — ह्विलचियर रेसमा रामबहादुर तामाङ र यामी झाँक्री मगरले आफ्नो वर्चस्व पुनः कायम गरेका छन् । उनीहरूले शनिबार आयोजित नवौं कान्तिपुर हाफ म्याराथनको ह्विलचियर रेस जितेका छन् । 

रामबहादुर र यामीकै गति

त्रिभुवन आर्मी क्लबका रामबहादुरले लगातार छैटौंपल्ट उपाधि जित्दा यामी दोस्रोपल्ट विजेता बनिन् । रामबहादुर २०७० देखि निरन्तर च्याम्पियन बनेका छन् । यामीले गत वर्ष पहिलोपल्ट कान्तिपुरको उपाधि जितेकी हुन् ।


२०६६ सालमा ड्युटीका क्रममा दुर्घटना परेपछि रामबहादुरको जीवनमा नयाँ मोड लिएको थियो । घटनाबाट उनको मेरुदण्डमा ठूलो आघात पुग्यो । कम्मरदेखि तलको भाग नचल्ने भयो । मेरुदण्डको शल्यक्रिया गरियो । चिकित्सकले तीन वर्षसम्ममा सुधार आउनसक्ने बताएका थिए । तर सोचेजस्तो सुधार हुन सकेन । यद्यपि घटना भएको एक वर्षपछि उनले ह्विलचियर बास्केटबल खेल्न थाले ।


उनले सुनाए, ‘घटनाबाट विक्षिप्त बनेको थिएँ । जीवनमा केही सक्दिनँ जस्तो लागेको थियो । अप्रेसनपछि पूरै निको हुन्छ भन्ने सोचेको थिएँ । एक वर्षसम्म पनि केही सुधार भएन, म निरास भएँ । तर खेलकुदमा लागेका दाइहरूको प्रेरणाले मलाई यसतर्फ आकर्षित गरायो ।’ उनले उत्साहित हुँदै भने, ‘यस्तै खेलकुद कार्यक्रममा सहभागिता गर्दै गएँ । सफलता पाएँ । यसले मेरो हौसला बढ्यो । आज यो स्थितिमा आइपुगेको छ । लगातार छपल्ट यो सफलता सफलता पाउँछु भनेर सोचेको पनि थिइनँ ।’


यस प्रतियोगितामा ६ वर्षदेखि एकक्षत्र राज गरेका रामबहादुरले अर्को वर्षबाट सहभागिता नजनाउने बताएका छन् । ‘अबको दिनमा अन्तर्राष्ट्रियस्तरको एसियन प्रतियोगितामा सहभागी हुन्छु । त्यतै व्यस्त रहनुपर्ने भएकाले यता समय दिन सक्दिनँ । अरुलाई पनि मौका दिनुपर्छ,’ उनले भने, ‘बास्केटबल प्रशिक्षकको रूपमा रहने सोच छ ।’


लगातार दुई संस्करण जितेकी यामीको जीवनमा पनि त्यस्तै अपत्यारिलो घटना घटेको थियो । घर प्युठानबाट २०६३ सालमा स्पाइनल ट्युमर (मेरुदण्डको रोग) को शल्यक्रिया गर्न काठमाडौं आएकी थिइन् । उनले स्मरण गर्दै भनिन्, ‘१८ वर्षको थिएँ, त्यति बेला मेरुदण्डको उपचार नगरी नहुने थियो । गर्दाखेरि कम्मरदेखि तलको भाग नचल्ने हुन्थ्यो ।’


आधा भाग नचल्ने भए पनि ऊनले शल्यक्रिया गर्ने अठोट गरिन् । शल्यत्रियापछि सुरुमा निकै समस्या भए पनि पछि विस्तारै बानी पर्दै गएको उनले सुनाइन् । परिवारको साथ र सहयोगले आफू यो सफलतामा आइपुगेको बताउँछिन् यामी ।


उनी भन्छिन्, ‘मेरो संघर्षमय जीवनमा परिवारसँगै श्रीमान चन्द्र घर्तीमगरको साथ र माया उत्तिकै महत्त्वपूर्ण छ ।’ अब यामीले ह्विलचियर बास्केटबलमा केही गर्ने लक्ष्य बनाएकी छन् । ‘म बास्केटबल खेल्छु । यसै खेलबाट आफ्नो छुट्टै परिचय स्थापना गर्ने सोच छ,’ उनले लक्ष्य सुनाइन् ।


– प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?