कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसमी रेश्मा

काठमाडौँ — भलिबलकी सुन्दरी हुन्, रेसमी रेश्मा भण्डारी । भन्न कर लाग्छ, सिनेमाले गुमाएकै हुन्, उनलाई । फाइद भने नेपाली खेलकुदलाई भयो, अझ भलिबललाई । सामाजिक सञ्जालमा उनलाई नियाल्नुपर्छ, कोही नायिकाभन्दा कम देखिँदैनन्, उनी ।

रेसमी रेश्मा

टिकटकमै सही, उनको केही सेकेन्डको अभियन कसैलाई पनि मख्य पार्न पर्याप्त छ । यी रेश्माको समर्पण भने भलिबलमा छ, नेपालको राष्ट्रिय खेलमा । तर कसलाई के थाहा, कुनै दिन उनी साँच्चै पर्दामा पनि देखिने हो कि ?


अहिले तत्काल उनको चर्चा किन भन्दा रेश्मा ‘एनएसजेएफ पल्सर स्पाेर्टस अवार्ड पावर्ड बाई गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा परेकी छिन् । यो विधा उनी जस्तै खेलाडीका लागि बनेको जस्तो देखिन्छ । स्पोर्टस् अवार्डको यो विधामा पाँच प्रत्याशी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा । सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।


नेपालमा भलिबलको चर्चा छेडियो भने न्यु डायमन्ड स्कुलको नाम कसरी छुट्न सक्छ र ? रेश्मा यहींबाट उदाइन् ।

आफ्नो खेल जीवनको रफ्तार भने उनले एपीएफबाट आत्मसात् गरिन् । क्लबबाट मात्र होइन, नेपाली राष्ट्रिय टिमबाटै उनले चुमेको सफलताको सूची लामो छ । यसले उनलाई अपार खुसी छ । यही खुसीमा थपिएको हो, पिपुल्स च्वाइस अवार्डको मनोनयन । एक प्रकारले यो उनको सपना पूरा भएको क्षण हो, उनकै शब्दमा ।


जुन दिन मनोनयनको सूची घोषणा गरियो र जति बेला त्यसमा उनको नाम थियो, उनले एकै स्वरमा भनेकी थिइन्, ‘यो अवार्ड मेरा लागि धेरै अगाडिदेखिको सपना हो । सानैदेखि यो अवार्डको मनोनयमा पर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले त्यो पूरा भएको छ र यसले दिएको खुसीको त सीमा नै छैन । अब एक खुड्किलो चढेर अवार्ड नै जितें भने त यो खुसी अझ दोब्बर हुनेछ ।’ वास्तवमै कति धेरै रोमाञ्चित देखिन्छन्, यसलाई हेर्दा अरूलाई पनि खुसी हुन कर लाग्छ ।


भलिबलमा लागेकोमा उनलाई कुनै गुनासो छैन, बरु यस खेलले उनलाई धेरै दिएको पो छ । अहिले जहाँ छिन्, जस्तो छिन्, भलिबलकै कारणले त हो नि । काठमाडौं नैकापकी रेश्माले ६ कक्षा पढदादेखि भलिबल खेल्न थालेकी हुन् । पछि न्यु डायमन्ड स्कुलमा भर्ना भइन् र त्यहाँकै माहोलले भिजिन् । उनले ०६४ यता स्कुलस्तरीय प्रतियोगितामा सहभागिता जनाउन थालेकी हुन् । कुमार राईकै प्रशिक्षणमा हुर्के/बढेकी हुन् । पाँचौं र छैटौं राष्ट्रिय भलिबल भने उनले मध्यमाञ्चलबाट खेलिन् ।


एपीएफसम्मको यात्रालाई लिएर उनी भन्छिन्, ‘कपिल श्रेष्ठ गुरुले एक दिन मलाई के भन्नुभयो भने एपीएफको भलिबल टिम बनाउँछौं । उहाँबाट खेल्न निम्तो दिनुभयो । प्लस टु सकेपछि मैले त्यहाँबाटै नियमित खेल्न थालेको हुँ ।’ उनी सम्मिलित एपीएफले घरेलु भलिबलमा के मात्र जितेन ? वर्ष २०७५ मा एपीएफ सहभागी १० प्रतियोगितामध्ये ९ मा विजयी रह्यो । अर्को एकमा पनि उपविजेता नै रह्यो ।


काठमाडौंमै २०७१ मा भएको पहिलो दक्षिण एसियाली आमन्त्रण भलिबलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । त्यसयता नेपाली टिमका लागि उनको यात्रा कायम छ र तय छ, उनले लामो समय नेपाली भलिबलको सेवा गर्नेछिन् । पढाइमा पनि कम छैनन्, उनी । व्यवस्थापनमा स्नातक गरिरहेकी छिन् । उनलाई के लाग्छ भने अहिलेसम्मको यात्रामा उनले सबैको साथ र माया पाएकी छिन् । यस्तै साथ र मायालाई उनलाई पिपुल्स च्वाइस अवार्ड जित्न पनि चाहिन्छ । भन्छिन्, ‘यो अवार्ड जित्न मलाई सबैको सधैं जस्तै उत्तिकै सहयोग चाहिन्छ ।’

प्रकाशित : असार १, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?