कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गाराज र हुमी च्याम्पियन

हरि गौतम

(रुकुम पूर्व) — १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा महतबाट धर्मशाला हुँदै रोल्पाको थवाङमा धेरै गुरिल्ला हिँडे । तत्कालीन माओवादीले तयार पारेका लडाकु महतबाट धर्मशाला भएर थवाङ मात्रै पुगेनन् म्याग्दी, बागलुङ र रुकुम पश्चिमलगायत धेरै जिल्ला हिँडे ।

दुर्गाराज र हुमी च्याम्पियन

सरकारी सुरक्षाकर्मीको आँखा छल्दै गुरिल्ला हिँड्ने एउटा रुट हो, महत–थवाङ–जलजला–मारिङ–लुकुम–काँक्री हुँदै खावाङ ।

यही रुटमा सोमबार ५० धावक दौडिए । बिहानै भूमे गाउँपालिका–६, महतबाट एकैखाले पोसाकसहित दौडिएका धावक देख्दा स्थानीयले विगत सम्झिए । ‘बिहानै एकै खाले ड्रेससहितका जवान दौडिएको हामी गाउँलेले देख्यौं,’ स्थानीय मनकुमारी बुढा मगरले भनिन्, ‘झट्ट हेर्दा लडाकु दौडेजस्तै लाग्यो ।’ द्वन्द्वका बेला पनि हरेक बिहान, साँझ र राति यसरी नै लडाकु यही बाटो भएर रोल्पातर्फ जाने गरेको उनले सम्झिइन् ।

भूमे गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विगतमा गुरिल्ला दौडिएको रुटमा खेलाडी दौडाइएको हो । महतबाट रोल्पाको थवाङतर्फ सोमबार बिहानै दौड्ने तिनै धावक थिए । दोस्रो गुरिल्ला अल्ट्रा दौड प्रतियोगिता आयोजना गरेको गाउँपालिकाले ३४ पुरुष र १६ महिला खेलाडीलाई गुरिल्ला हिँडेको बाटोमा दौडाएको हो । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर रुट तय गरिएको थियो ।

पर्यटनको प्रवर्द्धन, प्रचारप्रसार विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला ट्रेल दौड आयोजना गरेको हो । १० वर्षसम्म माओवादी लडाकु हिँडेको बाटैबाटो धावकलाई दौडाउनुको उद्देश्य पर्यटनको विकासमा टेवा पुर्‍याउनु भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

‘आज खेलाडी दौडेको क्षेत्रमा द्वन्द्वका क्रममा धेरै गुरिल्ला हिँडेका हुन्,’ अध्यक्ष बुढाले भने, ‘सोही बाटोमा खेलाडी दौडाएर प्रचारप्रसार गरेर पर्यटनको प्रवर्द्धन गर्न खोजिएको हो ।’ यसबाट स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार पनि हुने विश्वास गरिएको अध्यक्ष बुढाले बताए ।

भूमे गाउँपालिका–६ को महतबाट सुरु भएको दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुमपूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिएको थियो । खेलाडीको हौसलाका लागि अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राईले पनि दौडेर साथ दिएकी थिइन् । प्राकृतिक रूपमा बनेको अल्ट्रा म्याराथनको विकासका लागि यो दौड महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

५२ किलोमिटर लामो रुटमा ३३ पुरुष धावकलाई पछि पार्दै रुकुम पश्चिमका दुर्गाराज बुढा प्रथम बने । ६ घण्टा १५ मिनेट १५ सेकेन्डमा उनले निर्धारित दूरी पार गरे । सोलुखुम्बुका सुमन कुलुङ दोस्रो बने । उनले निर्धारित दूरी ६ घण्टा २८ मिनेट २८ सेकेन्डमा पार गरेका थिए । ६ घण्टा ४९ मिनेट ४ सेकेन्डबाट रुकुमपूर्वका मुहन केसी तेस्रो बने ।

महिलातर्फ प्यूठानकी हुमी बुढा मगर पहिलो बन्दा धादिङकी रसिला तामाङ दोस्रो भइन् । हुमीले ७ घण्टा १८ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा रसिलाले ७ घण्टा २० मिनेट ३८ सेकेन्डमा दूरी नापिन् । उनीहरूलाई पछ्याएकी भोजपुरकी अनिता राई तेस्रो भइन् । उनले ७ घण्टा २५ मिनेट २९ सेकेन्डमा दूरी पार गरिन् ।

एउटै रुट र उही दूरीमा महिला र पुरुषको छुट्टाछुट्टै विजेता चयन गरिएको संयोजक सुनील रोका मगरले बताए । दुवैका विजेताले ५०, दोस्रोले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । संयोजकका अनुसार दौड ३ हजार २ सय मिटर उचाइमा भएको थियो ।

प्रकाशित : असार ४, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?