फैलँदै सेपाकताक्रो

प्रताप रानामगर

दमौली — पोखरा–२६ की २१ वर्षीया लिजा गुरुङ सेपाकताक्रो खेलको प्रवर्द्धन र विकासमा दिनरात मिहिनेत गरिरहेकी छिन् । नयाँ र अनौठो भएकाले उनी यस खेलमा आकर्षित भइन् । राखेप च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुदमा उनले सेपाकताक्रोमा सहभागिता जनाइन् । उत्कृष्ट महिला खेलाडी पनि घोषित भइन् । 

अनौठो खेल भएकाले सेपाकताक्रो खेलप्रति आकर्षित भएको उनले बताइन् । ‘यो खेल नयाँ हो,’ उनले भनिन्, ‘त्यसैले आकर्षित भएँ ।’ यो खेल छोटो समयमा सिक्न सकिन्छ । सजिलो पनि छ । ठूलो पूर्वाधार पनि आवश्यक छैन । भलिबलको जस्तै कोर्ट भए पुग्छ ।

सेपाकताक्रोमार्फत छोटो समयमा राष्ट्रिय खेलाडीको पहिचान बनाउन पाउँदा खुसी लागेको अनुभव लिजाको छ । ‘नयाँ खेल भएकाले खेलाडी न्युन छन्,’ उनले भनिन्, ‘सेपाकताक्रो खेलको प्रवर्द्धन र विकास गर्न आवश्यक छ ।’ सहरदेखि गाउँसम्म प्रचारप्रचार गरी सेपाकताक्रो खेलमा आकर्षित गर्नु आवश्यक रहेको उनी बताउँछिन् । त्यसका लागि गाउँ–गाउँमा हुने मेला महोत्सवमा सेपाकताक्रो खेल प्रदर्शन गर्दै हिँडेको उनले सुनाइन् । उनका अनुसार बालकदेखि वृद्धा यस खेलमा आकर्षित छन् ।

बच्चैदेखि यस खेलबारे जानकारी गराएर तालिम व्यवस्था गर्न सके खेलको विकासमा गति लिने उनको विश्वास छ ।
सेपाक ताक्रोप्रति युवाको आकर्षण बढै गएको राष्ट्रिय खेलाडी पवन गुरुङले बताउँछन् । ‘खेलप्रति युवाको आकर्षण छ,’ उनले भने, ‘तर प्रशिक्षणको व्यवस्था छैन । सरकारको ध्यान पुग्नुपर्छ ।’ सरकारीस्तरबाट प्रशिक्षणको व्यवस्था गर्न सके नेपालमा यो खेलले छिट्टै उचाइ लिने उनको दाबी छ ।

सेपाकताक्रो संघ खेलको विकासमा क्रियाशील भइरहेको संस्थापक अध्यक्ष ध्रुवबहादुर गुरुङले बताए । ‘मुलुकभर खेल खेलिरहेको छ,’ उनले भने, ‘नेपालमा खेल सामग्री उपलब्ध छैन । थाइल्यान्डबाट ल्याउनुपर्ने बाध्यता छ ।’ खेलसामग्री सहज रुपमा उपलब्ध भए सेपाकताक्रो खेलले राम्रो गर्ने उनको भनाइ छ ।

सेपाकताक्रो खेलमा १८ पुरुष र १२ महिला रािष्ट्रय खेलाडी तयार भइसकेको उनले बताए । अहिले मुलुकभर ५० विद्यालयमा सेपाकताक्रो खेल खेलिन्छ । त्यहाँबाट पनि राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन्छन् । २०५८ मा नेपालमा यो खेल भित्रिए पनि २०६४ मा विधिवत रूपमा राखेपमा दर्ता भएको थियो । ‘पूर्वाधार सानो भए पुग्छ, तालिम पनि कम खर्चिलो छ,’ अध्यक्ष गुरुङले भने, ‘सबै उमेर समूहले खेल्न सजिलो छ । त्यसैले सेपाकताक्रो खेलको नेपालमा भविष्य उज्ज्वल छ ।’

सेपाकताक्रो हेर्दा भलिबल खेलेजस्तै देखिन्छ । भलिबल हातले खेलिन्छ भने सेपाकताक्रोमा खुट्टा र टाउको प्रयोग गरिन्छ । सेपाकताक्रोको बलमा हावा हुँदैन । बेत वा बाँसको चोयाबाट पनि बल बनाउन सकिन्छ । जसले गर्दा उफ्रेर टाढा जाँदैन । यो खेल खेल्नका लागि कुनै विशेष प्रकारको पूर्वाधार आवश्यक पर्दैन ।

ब्याडमिन्टन कोर्ट जत्तिकै सानो खुला ठाउँ भए पुग्छ । जुन बारीका गह्रा, आँगन तथा सानो समतल ठाउँमा सजिलै खेल्न सकिन्छ । यसको कोर्टको लम्बाइ १३.४ मिटर र चौडाइ ६.१ मिटर हुन्छ । भलिबलम जस्तै जाली टाँगेर खेलिन्छ । जाली टाँगेर ३–३ जना पुरुष वा महिलाको टिममा मिलेर भलिबल जस्तै हातको सट्टा खुट्टा र टाउको प्रयोग गरी खेल्न सकिन्छ ।

प्रकाशित : असार १३, २०७६ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कन्याद्वारा बाबुको काजकिरिया

प्रताप रानामगर

दमौली — सुरुमा छोरीले काजकिरिया गर्न हुँदैन भन्ने आबाज उठेको थियो । तर यो अन्धविश्वासमात्रै रहेको भन्दै आँबुखैरेनी–२ मार्कीचोकका तीन दिदीबहिनी यतिबेला बाबुको क्रियामा छन । २० वर्षीया चिज मगर र उनकी दुई बहिनी १८ वर्षकी बिनीता र १६ वर्षीया सविना मगर बाबु प्रितमको काजकिरियामा बसेका हुन । तीनैजना छोरीले बाबुको शवमा दागबत्ती पनि दिएका थिए । 

‘सामाजिक कुरीति र अन्धविश्वास अन्त्यका लागि तीन जना दिदीबहिनी बाबुको काजकिरिया गरेका हौं,’ चिजले भनिन्, ‘समाजका केही मान्छेले छोरीले काजकीरिया गर्नु हुँर्दैन भनेका थिए । हामीले त्यसलाई मान्नुपर्छ भन्ने ठानेनौं ।’ अन्तिम संस्कारका लागि बाबुलाई घाटसम्म पुर्‍याएर दागबत्ती दिएको पनि उनले बताइन् ।

बाबाले तिमीहरूनै मेरो छोरा हौ भनेको सम्झेपछि आत्मबल बढेको र अन्धविश्वासविरुद्ध लाग्न प्रेरणा मिलेको उनले बताइन । सुरुमा केहीले कुरा काटे पनि अहिले भने त्यस्तो केही नसुनिएको दिदीबैनीले बताए । काजक्रियामा खासै समस्या नभएको र आफन्त, इष्टमित्र आएर रेखदेख गरिरहेको सविनाले बताइन । छोरीसँगै आमा ४४ वर्षीया मनमाया मगर पनि किरियामा छिन् । छोरीहरूले बाबुको इच्छा अनुसारै क्रिया गरेको उनले बताइन । ‘छोरा नभए पनि के भोर छोरीले छोरा जस्तैसबै कष्ट गरेका छन छोरीले,’ उनले भनिन् ।

छोरीहरूको इच्छा अनुसार नै दाइको काजकिरियामा संलग्न गराइएको काका थमबहादुर मगरले बताए । ‘दाईको पनि इच्छा थियो । छोरीहरूको स्वास्थ्यमा ध्यान दिएका छौं । समाजका मान्छे आलोपालो गरेर रेखदेख गरेका छन,’ उनले भने । तीनै कन्या नानीले बाबुको काजकिरिया गरेर राम्रो उदाहरण दिएको स्थानीय सोलबहादुर चितौरे मगरले बताए ।

गाउँमा अहिलेसम्म छोरीले काजकिरिया गरेका थिएनन । मगर दिदीबैनीले सामाजिक विकृती हटाउन साहस गरेर सकरात्मक सन्देश दिएको उनको भनाइ थियो । घरको आर्थिक अवस्था दयनीय छ । तीनै जना नानीहरू पर्ढ्दै छन् । तीन जनाको पढाइ खर्च नै चुनौती छ । सहयोगी मनलाई पढाइ खर्चका लागि सहयोग गरिदिन उनले आग्रह गरे ।

ठूली छोरी चिज आबुखैरेनी क्याम्पसमा शिक्षा शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । विनिता रामशाहमा कक्षा १२ मा र कान्छीछोरी सविना एक्टिभ स्कुलबाट एसईई दिएर बसेकी छिन् । बाबुको असार १ गते निधन भएको थियो ।

प्रकाशित : असार ११, २०७६ ०९:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT