कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किवीमा गुनासोभन्दा गर्व बढी

एएफपी

वेलिङ्टन — हारको पीडाबाट गुज्रिरहेका न्युजिल्यान्डका क्रिकेटप्रेमीले सोमबार इंग्ल्यान्डको हातबाट पराजित हुँदै विश्वकप उपाधि गुमाए पनि टिमको प्रदर्शनप्रति गर्व देखाएका छन् ।

किवीमा गुनासोभन्दा गर्व बढी

केहीले भने जुन नियमले न्युजिल्यान्ड उपाधिबाट चुकेको हो, त्यसलाई अन्यायपूर्ण रहेको पनि बताएका छन् । नियमित र सुपर ओभरको खेलपछि पनि दुवै टिम बराबरीमा रहेपछि इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा उपाधि जित्न सफल भएको थियो ।


न्युजिल्यान्ड विश्वकपको फाइनलमा पराजित भएको यो लगातार दोस्रोपल्ट हो । तर प्रधानमन्त्री जेसिन्डा आरर्डेनले प्रतियोगितालाई लिएर सकारात्मक रहनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फाइनल अद्वितीय रहेकोमा कुनै दुविधा छैन । हामी सबै सुपर ओभरको पुस्तामा रह्यौं । उपाधिका लागि इंग्ल्यान्डलाई बधाइर् छ । न्युजिल्यान्ड टिमलाई लिएर गर्व मात्र छ । टिमको प्रशंसा नै गर्नुपर्ने हुन्छ ।’ तर उनका खेलमन्त्री ग्रान्ट रोबर्टसनले भने टाइब्रेक नियममा गुनासो पोखेका छन् ।


उनले टिट गरेका छन्, ‘यो निकै असाधारण फाइनल रह्यो तर यसको निर्णयका लागि सुपर ओभर ठीक थियो वा छैन, म निश्चित हुन सकिनँ । जस्तै भए पनि न्युजिल्यान्ड टिमलाई लिएर गर्व नै छ ।’ न्युजिल्यान्डका पूर्व खेलाडी स्कट स्टाइरिसले भने फाइनल पुगेका दुवै टिमको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) माथि भने प्रश्न गरेका छन् । पूर्व कप्तान स्टेफन फ्लेमिङ फाइनललाई लिएर एक शब्दमा प्रतिक्रिया दिएका छन्, ‘निर्दयी’ ।


इंग्ल्यान्डको जितमा निर्णायक भूमिका खेलेका बेन स्टोक्सका बुवाले पनि न्युजिल्यान्डलाई भाग्यले साथ नदिएको प्रतिक्रिया दिएका छन् । न्युजिल्यान्डका पूर्व रग्बी खेलाडी जेरार्ड स्टोक्सले आफ्ना छोरालाई सानोमै इंग्ल्यान्ड लगेका थिए । उनले भनेका छन्, ‘फाइनलमा कुनै एक दिन पराजित रहनु दुर्भाग्यपूर्ण हो । सायद दुवै टिमले उपाधिमा बराबरी गरेको भए राम्रो हुन्थ्यो तर आधुनिक समयमा कस्तो नियम बन्छ, थाहा छैन ।’


न्युजिल्यान्डको स्टफ वेबसाइटले पनि आफ्नो टिममाथि अन्याय भएको जनाएको छ । सम्पादकीय लेख्दै वेबसाइटले भनेको छ, ‘इंग्ल्यान्डले विश्वकप जितेन, न्युजिल्यान्डले विश्वकप हारेन ।’ उसको तर्क छ, ‘अन्त्यमा एउटा विजयी टिम चाहिन्थ्यो नै । फाइनल एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा नाटकीय रह्यो र यसको निर्णय अचम्मको निर्णयले भयो ।’ न्युजिल्यान्डका पूर्व खेलाडी डानियल भिट्टोरीले आफ्नो टिम अभाग्यशाली रहेको नै माने ।


उनका अनुसार न्युजिल्यान्डसामु प्रतियोगिताको नियम मान्नुबाहेक अर्को विकल्प थिएन । उनले माने, ‘फाइनलमा जुन प्रकारले विजेता टिम चुनिने नियम थियो, त्यो सायद ठीक थिएन ।’ भिट्टोरीले भनेका छन्, ‘यो फाइनलमा धेरै स–साना निर्णायक मोड थिए र यी सबै पछिसम्म पनि सम्झिने छन् । यिनै स–साना मोड सायद न्युजिल्यान्डको पक्षमा रहेन । सायद सुपर ओभरपछि पनि दुवै बराबरीमा रहे, तिनलाई छुट्याउने अरू नै नियम हुनुपर्थ्यो ।’


विश्वकपको ‘ड्रिम टिम’

लन्डन (एजेन्सी)– डेढ महिना चलेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा केही खेलाडीले नियमित एकरुपको प्रदर्शन गरेका छन् । सहभागी सबै राष्ट्रका उत्कृष्ट खेलाडी समेटेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उत्कृष्ट–११ को टिम निर्माण गरेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले यस टिमको पनि नेतृत्व गर्नेछन् ।


त्यसमा ओपनर जेसन रोयसँगै ४ खेलाडी उपाधि विजेता इंग्लिस टिमबाट छन् । उपविजेता न्युजिल्यान्ड तथा सेमिफाइनलिस्ट अस्ट्रेलिया र भारतका २–२ खेलाडी छन् भने बंगलादेशका सकिब अल हसन टिममा परेका छन् ।


विश्वकपमा कीर्तिमानी ५ शतकसहित सर्वाधिक ६ सय ४८ रन प्रहार गरेका भारतका रोहित शर्मा र इंग्ल्यान्डका जेसन रोय ओपनिङमा छन् । न्युजिल्यान्डका कप्तान विलियम्सन, इंग्ल्यान्डका जो रुट र म्यान अफ द फाइनल बेन स्टोक्ससहित बंगलादेशका सकिब मध्यक्रमका ब्याट्सम्यानका रूपमा छन् ।


आफ्नै देशका ग्लेन म्याकग्राको कीर्तिमान भंग गरी यस विश्वकपमा २७ विकेट लिएका अस्ट्रेलियाका मिचेल स्टार्क, ४.४१ को उत्कृष्ट इकोनोमीसाथ भारतका जसप्रित बुमराह, न्युजिल्यान्डका लोकी फर्गुसन र इंग्ल्यान्डका जोफ्रा आर्चर उत्कृष्ट ११ को टोलीमा बलरको रुपमा समावेश छन् । अस्ट्रेलियाका एलेक्स केरी विकेटकिपरको भूमिकामा छन् । इंग्लिस पिचमा निस्प्रभावी देखिएका स्पिनरहरूले ड्रिम टिममा स्थान बनाउन सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई १२ औं खेलाडीको रूपमा समावेश गरिएको छ ।


इंग्ल्यान्ड शीर्षमै

लन्डन (एएफपी)– विश्व च्याम्पियन इंग्ल्यान्ड एकदिवसीय क्रिकेटको शीर्षस्थानमा कायमै रहेको छ । न्युजिल्यान्डमाथि फाइनलमा आइतबार दुर्लभ जित हात पार्दै इंग्ल्यान्ड विश्वकप क्रिकेटको नयाँ विजेता बनेको थियो । डेढ महिनाअघि प्रतियोगिता सुरु हुँदा पनि इंग्ल्यान्ड शीर्षस्थानमै थियो ।


राउन्ड रोबिन लिगको मध्यक्रममा लगातार तीन हारपछि इंग्ल्यान्डले शीर्षस्थान गुमाएको थियो । इंग्ल्यान्डलाई उछिनेर भारत शीर्षस्थानमा पुगेको थियो । तर पछिल्ला चार खेल जितेर इंग्ल्यान्ड विश्वकप विजेता बन्यो भने भारतको यात्रा सेमिफाइनलमै रोकियो ।


‘अतिरिक्त रन गलत थियो’

सिड्नी (एएफपी)– न्युजिल्यान्डमाथि लर्ड्समा विश्वकप क्रिकेटको दुर्लभ फाइनलमा पाएको जितमा इंग्ल्यान्डलाई गल्ती गरेर अतिरिक्त रन दिइएको क्रिकेटका पूर्व नियमन समितिका प्रमुखले बताएका छन् । तीन बल बाँकी रहेको अवस्थामा न्युजिल्यान्डका फिल्डरले थ्रो गरेको बल दोस्रो रन लिने प्रयासमा रहेका बेन स्टोक्सको ब्याटमा लागेर विपरीत दिशामा गई सिमा रेखा पार गरेको थियो ।


जसका कारण इंग्ल्यान्डले ६ रन पाएको थियो । त्यसपछि इंग्ल्यान्डलाई २ बलमा ३ रनमात्र आवश्यक भयो । निर्धारित ५० ओभरको खेल र सुपर ओभर दुवैमा स्कोर बराबर भएपछि बढी बाउन्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड विजेता बनेको थियो । इंग्ल्यान्डलाई पहिलोपल्ट विश्व विजेता बनाउन दुर्लभ फाइनल खेल साक्षी बनेको थियो ।


तर पूर्व अम्पायर साइमन टफेलले फक्स स्पोर्टस अस्ट्रेलियासँग ब्याट्सम्यानले दोस्रो रन लिनेक्रममा क्रस नगरिसकेकाले अम्पायरहरूले ‘स्पष्ट गल्ती’ गरेको बताएका छन् । ‘अम्पायरहरूले ५ रनमात्र दिनुपर्ने हो, ६ रन होइन,’ टफेलका अनुसार त्यही कारण दोस्रो अन्तिम बल स्टोक्सले नभई आदिल रसिदले सामना गर्नुपर्ने थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पाँच पटक वर्षको उत्कृष्ट अम्पायर भएका टफेल अहिले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कानुन शाखामा छन् । एमसीसीले नै क्रिकेटको नियम बनाउने र परिमार्जन गर्ने गर्दछ ।


कठिन निर्णय गरेकाले म्याच अम्पायरहरूको बचाउमा टफेल रहे । यही निर्णयले प्रतियोगिताको नतिजा उल्टिएको भन्नु अन्यायपूर्ण हुने उनको तर्क थियो । ‘दुर्भाग्य नै भन्नुपर्छ यस्ता गल्ती दोहोरिँदै आएका छन्, यो खेलको एउटा हिस्सा पनि हो,’ टफेलले भने, ‘म स–साना र अनावश्यक गल्ती खोज्न चाहन्न । यस्तो क्षणमा फेरि त्यस्ता खाले गल्ती नदोहोरियोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित : असार ३१, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?