समीरले जिते स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका समीर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजी तौलसमूहमा स्वर्ण जितेका छन् । 

कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार सुरु च्याम्पियनसिपको पहिलो दिन भएको उक्त तौलमा समीरले भारतका दिनेश काम्बली र आफ्नै देशका प्रज्ज्वलमान शाक्यलाई पछाडि पारेका थिए । दिनेशले रजत र प्रज्वलले कांस्य जिते । समूह विजेता रहेकाले समीरले ओभरअलमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार ६ स्पर्धामा प्रतिस्पर्धा गराइएको थियो । नेपाली खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जितेका छन् । पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य जिते । माल्दिभ्सका मोहम्मद मुसाले स्वर्ण र भारतका मुर्गन रामामूर्तिले रजत जितेका थिए । ६० केजीमा नेपालका कमल भण्डारी रजत जित्न सफल भए । भारतका दीपु दत्तले स्वर्ण र अफगानिस्तानका मोहम्मद कसिम हुसैनले कांस्य जिते ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत जिते । यस तौलमा अफगानिस्तानका खेलाडीद्वय अब्दुल सामी हैदारीले स्वर्ण र इमरान अलीले कांस्य जिते । महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक जित्यो । रजनी श्रेष्ठले रजत र सुजिता मानन्धरले कांस्य जितेका हुन् ।

भारतकी निशा भोयरले स्वर्ण जितिन् । पुरुष फिटनेस फिजिकमा नेपालका राजु राईले रजत जिते । अफगानिस्तानका हमिदुल्लाह खुशदिलले स्वर्ण र सलिम साह अनवारीले कांस्य जितेका थिए । प्रतियोगिताका अन्य १२ इभेन्टका खेल शनिबार हुनेछ ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नदी बहाव क्षेत्र साँघुरिँदै

२०४० सालसम्म विष्णुमती नदीको बहाव क्षेत्र झन्डै १ सय मिटर चौडा थियो । काठमाडौं उपत्यका नगर विकास समितिको निर्णयले यो बहाव क्षेत्रलाई २० मिटरमा झारियो 
प्रशान्त माली

ललितपुर — टेकुदेखि परोपकार पुलबीचमा कंकेश्वरी मन्दिर छ । मन्दिर परिसरमा घाट, ब्रम्हनाल र ढुंगाका सिँढी छन् । यो विष्णुमती नदीको किनारा हो । २०४० सालसम्म शव जलाउनुअघि पानी चढाउन सिँढीबाट ओर्लेर ल्याइन्थ्यो । सफा पानी बग्दथ्यो । नदी बहाव क्षेत्र करिब एक सय मिटर थियो । विस्तारै नदी क्षेत्र मिचिँदै जाँदा अहिले नदी करिब एक चौथाइ भागमा बग्छ । 

काठमाडौं उपत्यका नगर विकास समितिको २०६८ को निर्णयअनुसार विष्णुमतीको बहाव क्षेत्र २० मिटरमा झारियो । नख्खु खोला १२ मिटर, बल्खु, कर्मनाशा, कोडु, साङला र महादेव १० मिटर, टुकुचा र सामाखुसीको ४ मिटर तोकियो । निर्णयको ८ वर्षयता नदी मिचेर कतै निजी घर बने । कतै पार्क बनाइए । करिडोर थपिए । अहिले खोलाको भाग एक चौथाइ पनि बाँकी छैन ।

‘सरकार उपत्यकामा सवारी जाम घटाउन करिडोर र हरियाली बढाउन पार्क निर्माणतर्फ लाग्यो,’ प्राविधिक मनिकृष्ण श्रेष्ठ भन्छन्, ‘तर, नदीको धार्मिक सामाजिक मूल्य मान्यता र भौगोलिक अवस्थाको अध्ययन अनुसन्धानबिना निर्माण थालियो । यसले बर्खामा बाढी बस्तीमा पस्ने मात्र नभई नदी दोहन बढ्यो ।’ उनले स्थानीय आवश्यकताका बारेमा अध्ययन नगरी विदेशीको सिको गरेर भौतिक सरचना बनाउनाले समस्या निम्त्याएको बताए । ‘वास्तविक विकास के हो भन्नेबारे राज्यले पत्ता लगाउनै सकेन,’ उनले थपे ।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीको तर्क भने बेग्लै छ । ‘भूमाफिया र नापी कार्यालयका कर्मचारी मिलेमतोका कारणले नदी दोहन बढेको हो । बरु, पार्क र करिडोरले मिच्नबाट जोगाएको छ,’ उनले भने । उनले २०६८ मा तोकेको बहाव क्षेत्र परम्परागत खोला किनाराबाट गणना हुने दाबी गरे । नदीमा डुंगा चलाउने सरकारी योजना छ । योजना लागु भएमा नदी संरक्षण हुने र शोभा बढ्ने विश्वास छ ।

तर, अहिले धमाधम मासेर करिडोर निर्माण भइरहेकोप्रति श्रेष्ठको आपत्ति छ । नदीमा बालुवाको महत्त्व छुट्टै छ । यसले माटो थिग्रिँन दिंँदैन । पानी फिल्टर गरी सफा पार्न मद्दत गर्छ । वरिपरिका इनार, ढुंगेधारा र कुवा पुनर्भरण पनि गर्छ । २०६८ यता नदीबाट बालुवा झिक्ने क्रम बढ्यो । पछि माटो थिग्रिन थाल्यो । अनि नदीको आकार साँघुरियो ।

वाग्मती किनारामा कालमोचन घाट छ । त्यहाँ शव जलाउनुअघि पानी खुवाउन राखिने ब्रम्हनाल पनि छ । तीन दशक अघिसम्म नदी ब्रम्हनालसम्म बग्दथ्यो । पुर्खाले शंखमूलमा नदीको बहाव थेग्न सक्ने गरी फराकिलो बनाई घाट र ढुंगाका सिँढी बनाइएका थिए । अहिले घाट वरिपरि पार्क बनाइएको छ । करिडोर निर्माण गर्न सरकारले बर्सेनि करोडौं बजेटछुट्याउने गरेको छ ।

तर, नदी किनारका घाट, पाटीपौवा व्यवस्थापन गर्न भने बजेट छुट्याउने गरेको छैन । अहिले जताततै नदी किनारामा किरेट जाली वा रिटेलिङ वाल लगाएका छन् । उनका अनुसार ‘रिटेनिङ वाल’ अस्थायी पर्खाल हो । पर्खालमुनिको माटो बगाएपछि तुरुन्तै भत्किन्छ । ‘किनारामा वाल लगाएर नदी र करिडोर विभाजन गर्नु नै गलत हो,’ श्रेष्ठले भने ।

पहिला स्थानीय बासिन्दा नदी किनारामा आनन्द लिनका लागि जान्थे । अहिले सवारीसाधन र ध्वनि प्रदूषणका कारण नदी क्षेत्र बसिनसक्नु छ । बर्खामा बाढी पसेर सवारीसाधन डुबानमा पर्ने गरेका छन् । यो वर्ष मात्रै सानेपा हुँदै टेकु निस्कने कालोपुलमुनिको करिडोरमा कांग्रेस नेता शंशाक कोइरालाको गाडीसहित ६ वटा डुबेका थिए । कंलकीमा बस्ती नै डुब्यो । ‘पहिला खोला फराकिलो थियो । अहिले पार्क र करिडोर बनाउन दायाँबायाँ माटो थुपारेपछि डम्पिङ साइट बनेको छ,’ काठमाडौंं किलागलका ६० वर्षीय नातिकाजी महर्जन भन्छन्, ‘दुर्गन्धले वरिपरि पुग्नसमेत मुस्किल छ ।’

वाग्मतीलगायत उपत्यकाका अन्य नदी संरक्षणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । जनहित संरक्षण मञ्च, प्रोपब्लिकका तर्फबाट हालिएका मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौंं महानगरलाई विपक्षी बनाइएको छ । सोमबार पेसी स्थगित भई साउन २० का लागि सरेको छ ।

यसअघिका बहसमा अदालतले मन्त्रिपरिषद् कार्यालयलाई सम्बन्धित सबै सरोकारवाला निकायसँग समन्वय गरी उपत्यकाका खोला तथा नदी संरक्षण गर्न ६ महिनाभित्रमा कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न आदेश दिएको थियो । त्यतिबेला अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धोबी, हनुमन्ते, नख्खु तथा बल्खु नदीमा ढल तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी समेटिएको पूर्ण प्रतिवेदन तयार पार्नसकेको थिएन ।

समितिले तयार पारेको प्रतिवेदनमा वाग्मतीका अन्य सहायक नदी टुकुचा, मनहरा, बल्खु, नख्खु तथा उपसहायक नदी गोदावरी, हनुमन्ते, साङ्ला खोला, महादेव खोला र कोडुको बहाव तथा तटीय क्षेत्र संरक्षणसम्बन्धमा केही उल्लेख थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले यस विषयमा सम्बन्धित महाशाखाले काम अगाडि बढाइरहेको हुन सक्ने बताए । ‘विस्तृत रूपमा जानकारी छैन,’ उनले भने ।

नदीका बहावअनुसार संरक्षण गर्न नसक्दा बर्सेनि खोलाले बगाएर मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । यस वर्ष नख्खु खोला तर्ने क्रममा बगाएर कुसुन्ती बस्ने २९ वर्षीय सुवेश बस्नेतको मृत्यु भयो । वाग्मती नदी सभ्यता र उपत्यकाका वातावरण सन्तुलनमा नदीको भूमिका महत्त्वपूर्ण छ ।

सरकारबाट वाग्मती संरक्षण प्रवर्द्धन गर्न तयार पारिएको वाग्मती कार्य योजनाको अवधि सकिसकेको छ । योजना २०६६ देखि २०७१ सम्म चलेको थियो । त्यसपछि वाग्मती नदी सभ्यतालाई समेट्ने गरी कुनै योजना तयार पार्न सकेको छैन । अदालतबाट २०६८ वैशाख १९ मा वाग्मती र अन्य सहायक नदीमा फोहोर फाल्ने, बालुवा झिक्ने, मापदण्डविपरीत घरटहरा बनाउन रोकी कार्य प्रगति पेस गर्न निर्देशन दिएको थियो । यो पनि पेस गरिएको छैन ।

२०७० चैतमा नदी संरक्षण प्रवर्द्धन गर्न ‘रिभर बेसिन अर्गनाइजेसन’ गठन गर्ने, नदीको सिमांकन, अव्यवस्थित बस्ती किनाराबाट अन्यत्र सार्ने सन्दर्भमा भएको आदेश कार्यान्वय गर्न निर्देशन दिएको थियो । नदी प्रणालीमा गरिने फोहोरको विसर्जन रोक्न, उपत्यकाको सार्वजनिक जग्गाको पहिचान गरी सरक्षण, ताल तथा पोखरी एवं ढाप क्षेत्र र भूसतहमुनिको जल संरक्षण गर्नेबारेमा पनि सरकारको अवधारणा पेस गर्न आदेश दिएको थियो । यो पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्