कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेन्ट्रल जोन भलिबल लगनखेलमा

काठमाडौँ — साउन अन्तिमदेखि सुरु हुने एसियन भलिबल कन्फोडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँको प्रयोजन गरेको छ ।

यसअघि यही प्रतियोगिताका लागि संघले नेपाल उद्योग वाणिज्य महासंघसँग ४० लाख रुपैयाँको प्रायोजन सम्झौता गरिसकेको छ ।


भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भने सरकारले चासो नदिइरहेको अवस्थामा निजी क्षेत्रको सहयोग र साथले संघ उत्साही भएको बताए । ‘यो नेपालमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । र, यसलाई सफल बनाउन सबैसँग अनुरोध छ,’ अध्यक्ष शर्माले भने ।


एभीसी सेन्ट्रल जोन भलिबलको पाँचौं संस्करण साउन ३२ देखि भदौ ८ सम्म आयोजना हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कवर्डहल पुनर्निर्माण सम्पन्न नहुने निश्चित भएपछि लगनखेलस्थित त्रिभुवन आर्मीको कवर्डहलमै प्रतियोगिता सञ्चालन हुने भएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।


महासचिव चन्दका अनुसार प्रतियोगितामा ७ टोलीको सहभागिता निश्चित भइसकेको छ । नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र उज्वेकिस्तानको सहभागिता हुनेछ । एभीसी सेन्ट्रल जोनका सदस्य राष्ट्रमध्ये भुटान र ताजिकिस्तानले प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।


प्रतियोगिताका लागि नेपाली टोली एक महिनादेखि तयारीमा छ । तर भारतसँगको निर्धारित मैत्रीपूर्ण खेल भने अन्तिम समयमा रद्द भएको छ । महासचिव चन्दले अफगानिस्तानको टिम एक साताअघि नै नेपाल आउने भएकाले उनीहरूसँगै अभ्यास खेलको सम्भावना रहेको बताए ।


नेदरल्यान्ड्सका प्रशिक्षक भान अविङको प्रशिक्षणमा रहेको २५ सदस्यीय प्रारम्भिक टोलीबाट १८ सदस्यीय बनाइसकिएको छ । उनीहरूमध्ये उत्कृष्ट १२ जनाको अन्तिम टिम छनोट गरिनेछ । माल्दिभ्समा भएको तेस्रो संस्करणमा नेपाल तेस्रो भएको थियो । भलिबल इतिहासमै यो नेपालको सबैभन्दा ठूलो नतिजा हो ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?