१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विश्व कीर्तिमानको दाबी

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्रमा पर्ने ५ हजार २२ मिटरको उचाइमा बेलायतबाट आएको एउटा टोलीले विश्वकै सर्वाधिक अग्लो स्थानमा हकी खेलेर विश्व कीर्तिमान राखेको दाबी

काठमाडौँ — बेलायतबाट आएको एउटा हकी टोलीले विश्वकै सर्वाधिक अग्लो स्थानमा हकी खेलेर विश्व कीर्तिमान राखेको दाबी गरेको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्रमा पर्ने ५ हजार २२ मिटरको उचाइमा हकी खेलेर फर्किएको बेलायती टोलीलाई आइतबार नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले स्वागत तथा सम्मान गरेको छ ।

विश्व कीर्तिमानको दाबी



५ हजार ४ सय मिटर उचाइको थोराङलापासभन्दा केहीमुनि ढुंगैढुंगा भएको खुला जमिनमा हकी खेलिएको थियो । गएको मंगलबार त्यस क्षेत्रमा १ घण्टा हकी खेलिएको हो । हकी खेलका लागि समतल मैदानको आवश्यक पर्छ । बेलायतका पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीसमेतको संग्लग्नता रहेको हिरोज फर हकी र बेलायतकै लिंकन स्कुलका विद्यार्थीले उक्त स्थानमा पुगेर हकी खेल्दै विश्व कीर्तिमानको दाबी गरेका हुन् ।


११ दिनअघि नेपाल आएका ३५ बेलायतीको टोलीले मुस्ताङ पुगेर हकी खेलेका हुन् । काठमाडौंबाट मुस्ताङ पुग्ने क्रममा उनीहरूले पोखरा, कागबेनी, मुक्तिनाथलगायतका स्थानमा पनि खेलेका थिए । मुस्ताङको बराहक्षेत्र गाउँपालिकाले बेलायती खेलाडीले आफ्नो क्षेत्रमा आएर हकी खेलेको मान्यतापत्र प्रदान गरेको छ भने अन्नपूर्ण संरक्षण क्षेत्रले पनि यस क्षेत्रमा हक्की खेलिएको पुष्टि गरेको छ ।


विश्व कीर्तिमानको आधिकारिकताका लागि यो टोली पर्यटन मन्त्रालयबाट अनुमतिको प्रक्रियामा छ । निर्धारित समयमा खबर नगरेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले भने उनीहरूलाई मान्यता दिन अस्वीकार गरिदिएको थियो । विश्व कीर्तिमानका लागि नेपालको आधिकारिक निकायको स्वीकृतिसहितको प्रमाण पेस गर्नुपर्छ ।


बेलायतको राष्ट्रिय हकी टोलीका पूर्वखेलाडी र वर्तमान टोलीका व्यवस्थापक रहेका एन्डी हालिडेको नेतृत्वमा हकी टोली नेपाल आएको हो । बेलायतको लिंकन मिनिस्टर स्कुलको प्रायोजनमा एडभेन्चर लाइफसाइन कम्पनीको नेपाल प्रतिनिधि नर्व ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यो टोलीलाई नेपालमा बस्ने बन्दोबस्त मिलाएको हो ।


‘हामीले १ वर्षअघि नै यसबारे सल्लाह गरेका थियौं । तर त्यतिबेला चर्को शुल्कको माग भएपछि हामी आफ्नो योजनाबाट पछि

हट्यौं,’ नेपाल प्रतिनिधि नर्व ट्रेक्सका नरबहादुर गौतमले भने, ‘पछि नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा यस्तो प्रस्ताव फलदायी हुने देखेपछि पर्यटन बोर्डले हामीलाई बोलाएरै पटके अनुमति दिएपछि यो सम्भव भएको हो ।’


गौतमको कम्पनीले बेलायती टोलीलाई खेलस्थल पहिचानदेखि सबै बन्दोबस्तमा सहयोग गरेको थियो । तर, नेपाल हकी संघसँग समन्वय नगरी आफ्नै हिसाबमा मुस्ताङ पुगेर हकी खेलेपछि विश्व कीर्तिमानको दाबीलाई कसरी विश्वास गर्ने भन्ने प्रश्नमा गौतमले यसबारे आफूलाई केही जानकारी नभएको प्रस्ट पारे ।


‘हामीलाई पर्यटन बोर्डबाट ३ दिनअघि मात्रै स्वीकृति आएको थियो । तीन दिनको बीचमा सबै व्यवस्थापन गर्नुपर्ने चुनौती थियो । मैले उनीहरूलाई त्यहाँसम्म पुर्‍याउने जिम्मेवारी लिएको हुँ । ४५/९० मिटरको मैदानको व्यवस्था गरेको हुँ, समय अभावले नै त्यहाँ कार्पेट बिछ्याउन सकिएन । मुस्ताङ जिल्ला प्रशासनलाई समयमै जानकारी गराउन सकिएन । त्यसबाहेक हामीले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छौं,’ गौतमले भने ।


कीर्तिमान दाबी गरेर फर्किएको बेलायती टोलीलाई आइतबार नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयमा नेपाल हकी संघका अध्यक्ष उमेशलाल श्रेष्ठलगायतले सम्मान र स्वागत गरेका थिए । सम्मान कार्यक्रममा बेलायती टोलीको नेतृत्व गरेका हालिडेल नेपालको उच्च क्षेत्रमा हक्की खेल्न पाउनु अविस्मरणीय क्षण बनेको भन्दै हाई अल्टिच्युड खेलको नेपालमा प्रसस्त सम्भावना रहेको बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका हकी संघका अध्यक्ष श्रेष्ठले सर्वाधिक उचाइमा भएको खेलले नेपाललाई विश्वमा स्थापित गराउन सहयोग पुग्ने दाबी गरे । साथै साहसिक र सुरक्षित पर्यटनको गन्तव्यको रूपमा स्थापित गर्न सफल हुने धारणा राखे ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?