कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धोनीबिनाको भारतीय टोली

एएफपी

दिल्ली — विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजय बेहोरेको भारतीय टोलीका छनोटकर्ताले वेस्ट इन्डिजसँगको शृंखलाका लागि नयाँ र युवा खेलाडीको मिश्रित टिमको घोषणा गरेका छन् । भारतीय टिममा अनुभवी महेन्द्रसिंह धोनीको नाम अटाएको छैन ।

भारतले ३ अगस्टदेखि क्यारेबियन देशको भ्रमण सुरु गर्नेछ । जहाँ उसले ३ ट्वान्टी–२०, त्यत्ति नै एकदिवसीय र २ टेस्ट म्याच खेल्नेछ । मुख्य छनोटकर्ता एमएसके प्रसादका अनुसार यस शृंखलाअन्तर्गत तीनवटै फर्म्याटको कप्तानी विराट कोहलीले गर्नेछन् । यस शृंखलालाई विश्वकपको निराशाजनक चोटबाट टिमको पुनर्निर्माणको सुरुआतका रूपमा पनि हेरिएको छ ।


विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई तीनै फर्म्याटको टिममा समावेश गरिएको छ । अन्य युवा खेलाडीहरूमा श्रेयस एयर, मनीष पाण्डे र अहिलेसम्म राष्ट्रिय टोलीबाट नखेलेका नवदीप सोनी छन् । उनीहरूलाई ट्वान्टी–२० र एकदिवसीय टिममा समावेश गरिएको छ । ट्वान्टी–२० का लागि छनोटकर्ताले लेग स्पिनर राहुल चहरलाई समावेश गरेका छन् ।


विश्वकपका क्रममा राम्रो लयमा नदेखिएका पूर्वकप्तान तथा विकेटकिपरका बारेमा आएका पछिल्ला हल्लालाई मुख्य छनोटकर्ता प्रसादले खारेज गरिदिएका छन् । ‘संन्यास भनेको नितान्त व्यक्तिगत हो । धोनीजस्तो महान् क्रिकेटरलाई राम्रोसँग थाहा छ कि उनको संन्यासको समय कति बेला हो,’ प्रसादले भने, ‘यसबारे कुनै चर्चाको आवश्यकता नै छैन । पहिलो उनी अहिले यहाँ उपस्थित थिएनन्, दोस्रो हामीले पहिलेदेखि नै केही नयाँ खेलाडी तयार गर्न सुरु गरिसकेका छौं ।’ शनिबार सार्वजनिक भएका खबरहरूमा सेनामा २ महिना बिताउनका लागि धोनीले वेस्टइन्डिजको भ्रमण छाडेको बताइएको थियो ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?