कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप छनोट–२०२२ : कहाँ खेल्ने घरेलु खेल ?

विश्वकप २०२२ छनोटमा घरेलु मैदानमा भदौ १९ मा कुवेत र २४ गते चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्दै छनोट यात्रा थाल्ने अवसर पाएको छ । तर, घरेलु खेल आयोजना गर्नका लागि दशरथ रंगशाला भने तयार हुने स्थितिमा छैन ।
राजु घिसिङ

काठमाडौँ — नेपालले विश्वकप २०२२ छनोटमा घरेलु मैदानमै भदौ १९ मा कुवेत र २४ गते चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्दै छनोट यात्रा थाल्ने अवसर पाएको छ । स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेको नेपाली टिमले छनोटका लागि प्रशिक्षण थालेको तीन साता भइसकेको छ ।

विश्वकप छनोट–२०२२ : कहाँ खेल्ने घरेलु खेल ?

तर दशरथ रंगशाला तयार नहुँदा तोकिएकै मितिमा नेपाली टिमले घरेलु मैदानमा खेल्न पाउने सम्भावना छैन भने हुन्छ । विश्वकप छनोटका खेल सञ्चालन गर्न मापदण्ड पुग्ने अरु रंगशाला पनि नेपालमा छैनन् । त्यसैले छनोटमा नेपाली टिमको घरेलु मैदानमा उत्रने सम्भावना तत्कालका लागि अनिश्चित बनेको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले डेढ दशकयता अन्तर्राष्ट्रिय प्रतियोगिताका केही खेलहरू सशस्त्र प्रहरीको हल्चोक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गरेको थियो । ‘फिफाको मापदण्डमा रहेर छनोटको खेल हल्चोक मैदान र एन्फा कम्प्लेक्समा आयोजना गर्न सकिँदैन । दशरथ रंगशाला पनि तयार भइसकेको छैन,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘त्यसैले सुरुमा हामीले घरेलु मैदानमा खेल्ने खेलहरू प्रतिद्वन्द्वीको मैदानमा खेल्ने प्रस्ताव गरेका छौं । हाम्रो प्रस्ताव प्रतिद्वन्द्वीहरूले माने विपक्षी भूमिमा तोकिएको मितिको खेल हामी यहाँ गर्नेछौं । तर हाम्रो प्रस्ताव अस्वीकार भयो भने हामीलाई तटस्थ भूमिमा खेल्नुको विकल्प हुने छैन ।’


दशरथ रंगशालामा खेल सञ्चालनका लागि एन्फा पदाधिकारी बुझ्न आएको उल्लेख गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का निर्माण तथा मर्मत विभागका प्रमुख अरुण उपाध्यायले भने, ‘त्यो मिति (भदौ १९ मा रंगशाला तयार हुँदैन भनिसकें । फिफाले चाहेजस्तो चेन्जिङ रुम, प्रेस मिट हल, डोपिङका लागि छुट्टै कोठा एउटै क्षेत्रमा छैन ।


त्यसमा केही परिवर्तन गर्दैछौं । तर कुर्सी राख्ने, भीआईपी प्यारापिटमा छाना हाल्ने र बाहिरी क्षेत्रमा सडक निर्माण (राखेप गेटदेखि आर्मी अफिसर्स क्लबसम्म) बाँकी नै छ । यी सबै काम १५ कार्तिकसम्म सक्नेछौं ।’ उनले थपे, ‘ठेकेदारसँगको सम्झौताअनुसार असार मसान्तसम्म सबै काम सक्नुपर्थ्यो तर प्रशासनिक र प्रशिक्षणका काम यही (रंगशाला क्षेत्र) मा चलिरहे, कोठा खाली भएन । त्यसैले ढिला भयो ।’


घरेलु भूमिका दुई खेल सारेमा नेपाली टिमको पहिलो प्रतिस्पर्धा असोज २३ मा अस्ट्रेलिया भ्रमणबाट सुरु हुनेछ । त्यसको ५ दिनपछि नै स्वदेश फर्केर नेपालले जोर्डनको सामना गर्नुपर्नेछ र उपाध्यायका अनुसार यो मितिसम्म पनि दशरथ रंगशाला तयार हुने छैन । रेट्रोफिटिङ गर्ने, कोठा रंगाउने, भूकम्पबाट भत्किएका संरचना बनाउने, आवश्यक कोठा थप्ने, साधारण प्यारापिटतर्फ छाना लगाउने काम सकिएको उनले बताए ।


२०२० को दशकमा चरणबद्ध रूपमा निर्माण गरिएको दशरथ रंगशाला अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिरहेको एकमात्र स्थल हो । यो रंगशालालाई २०७२ वैशाख १२ को महाभूकम्पले जीर्ण बनाइदियो । त्यसपछि थालिएको सवलीकरण र मर्मतसम्भार कार्य हालसम्म सकिएको छैन । मंसिर १५ देखि २५ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य आयोजनास्थल पनि दशरथ रंगशाला नै हो । पहिलो (सन् १९८४) र आठौं (१९९९) को मुख्य आयोजना स्थल यही हो ।


१३ औं दक्षिण एसियाली खेलकुदलाई हुने गरी पुनर्निर्माण भइरहेको दशरथ रंगशालाको भित्री भाग । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर


बलियो इतिहास

एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटमा सिधै दोस्रो चरणमा प्रवेश पाएको नेपालले चार वर्षअघिको महादेशीय च्याम्पियन अस्ट्रेलियासहित आफूभन्दा बलिया चार टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सुरुका दुवै खेल घरेलु भूमिमा खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो । किनभने नेपालले ठूला टिमविरुद्ध पनि घरेलु मैदानमा सनसनीपूर्ण नतिजा हात पारेको इतिहास छ ।


नेपालले पहिलोपल्ट विश्वकप छनोट सन् १९८६ मा खेलेको थियो । त्यस बेला दक्षिण कोरियाविरुद्ध नेपालले २–० को हार बेहोरेको थियो भने मलेसियाविरुद्ध गोलरहित खेलेको थियो । त्यसपछि नेपालले क्वालालम्पुरमा कोरियाविरुद्ध ४–० र मलेसियाविरुद्ध ५–० को हार बेहोर्‍यो ।


विश्वकप २०१० छनोटमा जोर्डनविरुद्ध अम्मानमा ९–० ले हारेको पाँच दिनभित्र दशरथ रंगशालामा त्यही टिमलाई नेपालले १–१ मा रोकेको थियो । विश्वकप २०१८ छनोटको प्ले–अफमा पनि भारतविरुद्ध गुवाहाटीमा २–० ले हारेको नेपालले पाँच दिनभित्र दशरथ रंगशालामा गोलरहित नतिजा निकालेको थियो । नेपाल विश्वकप २०१० छनोटमा ओमानविरुद्ध मस्कट र दशरथ रंगशालामा समान २–० ले हारेको थियो ।


‘घरेलु मैदान र दर्शकको साथले खेलमा ठूलो प्रभाव पार्छ । खेलाडीलाई आत्मविश्वासी बनाउँछ,’ नौ वर्षयता नेपाली टिमबाट खेलिरहेका गोलकिपर किरण चेम्जोङले भने, ‘घरेलु मैदानमा खेल्दा जस्तोसुकै बलिया टिमविरुद्ध पनि राम्रो गर्नसक्छौं जस्तो लाग्छ । त्यसैले विश्वकप छनोटका खेलहरू घरेलु मैदानमै खेल्ने चाहना छ ।’

प्रकाशित : श्रावण १४, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?