कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलु मैदानमा तीन खेलमात्रै

राजु घिसिङ

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को विश्वकप २०२२ छनोटमा यहाँ तोकिएका सुरुको खेललाई दशरथ रंगशाला तयार नभएकोले पछि सार्ने प्रस्ताव कुवेतले अस्वीकार गरेपछि नेपाली राष्ट्रिय टिमले खाडी मुलुकविरुद्धका दुवै खेल कुवेतमा खेल्नुपर्ने भएको छ  । चाइनिज ताइपेई र जोर्डन भने पहिलो खेल उतै खेल्ने नेपालको प्रस्तावमा सहमत भएका छन्  ।

त्यसैले यी दुईविरुद्ध तोकिएका ‘अवे’ खेलहरू नेपालको घरेलु खेलको रूपमा हुने निश्चित भएको छ ।


एन्फा कमिटीको मंगलबार भएको आकस्मिक बैठकपछि प्रवक्ता किरण राईले भने, ‘भूकम्पपछि सवलीकरण गरिरहेको दशरथ रंगशाला अझै तयार भइसकेको छैन । त्यसैले १९ भदौमा (कुवेतविरुद्ध), २४ गते (चाइनिज ताइपेईविरुद्ध) र असोज २८ मा (जोर्डनविरुद्ध) नेपालमा तोकिएका खेलहरू ‘अवे’ को रूपमा खेल्ने र बाहिर (विदेश) तोकिएका खेलहरू हामीले घरेलु मैदानमा खेल्ने प्रस्ताव गरेका थियौं । यसमा ताइपेई र जोर्डन सहमत भए ।

त्यसैले सुरुमा हामी यी दुई देशको यात्रा गर्नेछौं । यी दुई टिमविरुद्धका दोस्रो खेल नेपालमा हुनेछ । कुवेतले भने हाम्रो प्रस्ताव अस्वीकार गर्‍यो । नेपालको दुवै खेल कुवेतमै हुने दुई संघबीच सहमति भयो ।’ त्यसअनुसार नेपालले कुवेतविरुद्ध भदौ १९ मा कुवेतमै प्रतिस्पर्धा गर्दै विश्वकप २०२२ को छनोट सुरु गर्नेछ । त्यो खेल नेपालको लागि घरेलु खेलको रूपमा हुनेछ भने पूवर््निर्धारित तालिकाअनुसार नेपालले कुवेतविरुद्ध ‘अवे’ खेल मंसिर ३ मा खेल्नेछ । त्यस्तै, चैत १३ मा ताइपेईमा र जेठ २२, २०७७ मा जोर्डनमा हुने खेल भने नेपालमा हुनेछन् । अस्ट्रेलियाविरुद्ध असोज २३ (अवे) र चैत १८ (होम) का खेल यथावत् छन् ।


खेलस्थल सार्नेमा प्रतिद्वन्द्वीसँग सहमति भए पनि अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) लाई जानकारी गराउन बाँकी रहेको प्रवक्ता राईले बताए । ‘हामीबीच सहमति भइसकेको छ । अब दुवैले फिफाको स्वीकृति लिने प्रक्रिया थाल्नेछौं,’ उनले भने । राष्ट्रिय खेलकुद परिषदको निर्माण तथा मर्मत शाखाले कात्तिक १५ सम्म सम्पन्न गर्ने योजनासहित दशरथ रंगशालाको काम भइरहेको र त्यसअघि खेल सञ्चालन गर्न नसकिने बताइसकेको छ । त्यसबाहेक अरु रंगशालाको विश्वकप छनोटका खेल सञ्चालनका लागि मापदण्ड नपुग्ने भएकाले नेपालको खेल सार्न बाध्य भएको पनि राईले बताए ।


एसियन कप २०२३ को छनोटको रूपमा पनि रहेको यस विश्वकप छनोटमा नेपालले फिफा वरीयताको आधारमा सिधै दोस्रो चरणमा प्रवेश पाएको हो । ४० टिम सहभागी छनोटमा ८ समूहका शीर्ष टिमसँगै उपविजेतामध्ये उत्कृष्ट चार टिम कतारमा हुने विश्वकपको एसियाली छनोटको अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणमा पुग्ने १२ टिम चीनमा हुने एसियन कपमा पनि छनोट हुन्छन् । एसियन कपमा बाँकी १२ टिमका लागि विश्वकप छनोटको अन्तिम चरणमा नपुगेका टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : श्रावण १५, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?