कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरीटारमा मुख्यमन्त्री र सदस्यसचिव

सुवास बिडारी

मकवानपुर — नेपाली खेलकुदको सबैभन्दा ठूलो आयोजनाका रूपमा रहेको हेटौंडा–६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार एकेडेमी) लाई प्रत्येक वर्ष संघीय सरकार र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गौरीटार एकेडेमीको शुक्रवार स्थलगत अवलोकन गर्दै संघीय र प्रदेश सरकारले प्रत्येक वर्ष आवश्यकअनुसार बजेट विनियोजन गर्दै बहुवर्षीय योजनाको रूपमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।


हाल प्रदेश सरकारको गौरीटारमा ५ करोड रुपैयाँ लगानी फुटबल मैदान र एथलेटिक्सको ट्र्याक एन्ड फिल्ड निर्माण कार्य अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


संघीय सरकारको लगानीमा गौरीटारमा ४ करोड लागतको ३६ कोठे ब्वाइज होस्टल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको उक्त होस्टल ६० जना क्षमताको छ । ‘होस्टल तयार भयो, अब खेलाडीलाई दैनिक प्रशिक्षण गर्ने कभर्डहल पनि निर्माण सुरु भइसकेको छ,’ सदस्यसचिव सिलवालले कभर्डहल निर्माणको काम तीव्र रूपमा अगाडि बढेको र उक्त सम्पन्न भएसँगै आवश्यकताअनुसार विभिन्न खेलकुदका बन्द प्रशिक्षण हेटौंडामा राखिने प्रतिबद्धता जनाए । ‘हेटौंडा प्रदेशको राजधानी हो । अब संघ, प्रदेश र स्थानीय सरकार मिलेर हामी प्रत्येक वर्ष आवश्यकताअनुसार पूर्वाधार थप्दै जानेछौं,’ सदस्यसचिवले प्रतिबद्धता जनाए ।


उनले मास्टर प्लानअनुसार प्रत्येक वर्ष भौतिक पूर्वाधार निर्माण गर्दै लैजान सबै तहको सरकारबाट बजेट विनियोजन भएको खण्डमा सम्भव भएको बताउँदै त्यसका लागि खेलकुद मन्त्रालयसँग थप छलफल अगाडि बढाउने प्रतिबद्धता जनाए । ‘गौरीटार केन्द्रीय सरकारको मातहतमा रहे पनि प्रदेश र स्थानीय सरकारले समेत सञ्चालन गर्न पाउने गरी हामी प्रबन्ध मिलाउँछौं । यहाँभित्र हुने विभिन्न भौतिक पूर्वाधार निर्माणलाई अब बजेटको अभाव हुँदैन,’ उनले भने ।


हालसम्म राष्ट्रिय खेलकुद परिषदको नाममा रहेको २३ विघा जग्गामा कम्पाउन्ड घेर्ने र रंग लगाउने कार्यमा २ करोड रुपैयाँ र ब्वाइज होस्टल निर्माणमा ४ करोड रुपैयाँ गरी कुल ६ करोड रुपैयाँबराबरको भौतिक संरचना तयार भएको छ ।


'साग तोकिएकै समयमा हुन्छ’

सदस्यसचिव सिलवालले तोकिएकै मितिमा नेपालमा १३ औं साग हुने बताएका छन् । भौतिक पूर्वाधारको अभावमा काठमाडौंमा मंसिर १५ देखि २४ सम्म हुने भनिएको साग प्रतियोगिता सर्ने चर्चा भइरहेको अवस्थामा सदस्यसचिवबाट यस्तो दाबी आएको हो ।


हेटौंडामा शुक्रबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको स्वागत कार्यक्रममा सिलवालले सागका लागि नेपालमा तीव्र रूपमा कार्य सुरु भइसकेको र कात्तिक १५ सम्म सबै काम पूरा भइसक्ने दाबी गरे ।


सदस्यसचिव सिलवालले सन् १९९९ पछि नेपालले आयोजना गर्न लागेको सागलाई नेपालकै गौरवको रूपमा सफल बनाएर देखाउने आफ्नो जिम्मेवारी भएको बताए । ‘करिब २० वर्षपछि नेपालमा हुन लागेको साग सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो,’ उनले भने ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?