क्षेखेविस नेतृत्वविहीन, ऐन कुर्दै सदस्यसचिव

कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको क्षेत्रीय खेलकुद विकास समिति नेतृत्वविहीन बनेको छ । केशवकुमार विष्ट सदस्यसचिव भएलगत्तै नियुक्ति पाएका तत्कालीन चार क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षको कार्यकाल साउन १२ देखि सकिसकेको छ । तत्कालीन मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराको कार्यकाल भदौ ४ मा सकिँदैछ । 

२०७३ सालमा जारी भएको नयाँ संविधानपछि देश संघीय संरचनामा गएसँगै प्रदेश ३ का लागि राखेप बोर्ड सदस्य सुदील शाही र कर्णाली प्रदेशका लागि बोर्ड सदस्य शान्ति सिंहलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएपछि उनीहरू पनि जिम्मेवारीमुक्त भएका थिए । पूर्वाञ्चलका रविन नगरकोटी, पश्चिमाञ्चलका सम्पन्न श्रेष्ठ, मध्यपश्चिमाञ्चलका भीम ओली र सुदूरपश्चिमाञ्चलका लोकबहादुर शाहीको कार्यकाल साउन १२ मा सकिएको हो । पश्चिमाञ्चलमा खगराज पौडेल विदेश पलायन भएपछि उनको बाँकी कार्यकालका लागि श्रेष्ठलाई नियुक्त गरिएको थियो ।

नयाँ ऐन लागू भएपछि क्षेत्री खेलकुद विकास समिति स्वतः भंग हुनेछ । प्रदेश संरचनाअनुसार खेलकुद गतिविधि प्रदेश सरकारले नै गर्नेछ । तर राखेपले प्रदेश र स्थानीय तहसँग समन्वय गर्न प्रदेशस्तरमा आफ्नो संयोजक नियुक्ति गर्न सक्नेछ । संघीय संरचनाअनुसार खेलकुद कानुन बन्न भइरहेको ढिलाइले राखेपले आफूमातहतका क्षेत्रमा नेतृत्व नियुक्ति गरेको छैन ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवाल ऐन लागू हुनुअगाडि प्रदेश नेतृत्व नियुक्तिको हतारो नगर्ने स्पष्ट योजनामा छन् । ‘एउटाबाहेक सबै क्षेत्रका नेतृत्वको कार्यकाल सम्पन्न भइसकेको छ । संविधानले नै प्रदेश र स्थानीय तहलाई स्वायत्त बनाइसकेको अवस्थामा खेलकुदमा पनि उनीहरूले आफूखुसी निर्णय गर्न पाउँछन् । अहिले ऐन कुरिरहेका छौं, ऐन आउनुअघि प्रदेश नेतृत्व नियुक्ति गर्न भविष्यमा आउनसक्ने विवादबारे राखेप सचेत छ,’ सदस्यसचिवले भने ।

राष्ट्रिय सभाबाट पारित भइसकेको खेलकुद विधेयक २०७५ प्रतिनिधि सभाबाट पनि पारित भएपछि लागू हुनेछ । प्रस्तावित विधेयकमा प्रदेशस्तरको खेलकुद गतिविधि प्रदेश र स्थानीयस्तरको स्थानीय तहले नै गर्ने व्यवस्था भएका कारण राखेपले प्रदेश नेतृत्व चयनमा हतारो नगर्ने सदस्यसचिव सिलवालले प्रस्ट पारे । ‘विधेयकमा प्रदेश खेलकुदमा केन्द्रको भूमिका नगन्य हुने व्यवस्था छ । खेलकुद परिषद आफैं पनि संघीय संरचनामा गइनसकेको अवस्थामा अहिले क्षेत्रीय नेतृत्व दिँदा विवाद बढ्ने निश्चित छ,’ उनले थपे, ‘मन्त्रीज्यूसँगको सल्लाहअनुसार विधेयक बर्खे अधिशेवनमै पास हुने प्रक्रियामा छ, त्यसो हुँदा १ महिनामा ऐन लागू हुने चरणमा पुग्नेछ, त्यसपछि ऐनअनुसार नै गर्नेछौं ।’

प्रदेशस्तरमा खेलकुद नेतृत्व नहुँदा आसन्न दक्षिण एसियाली खेलकुद (साग) मा समन्वयको समस्या हुन सक्छ । मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यका र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुनेछ । त्यसका लागि कम्तीमा गण्डकी प्रदेशका लागि नेतृत्व आवश्यक हुने कुरामा सदस्यसचिव सिलवालले स्विकारे । ‘विशेष परिस्थितिका लागि विशेष निर्णय गर्न सकिन्छ । देशको प्रतिष्ठाको रूपमा रहेको साग खेलकुदको सफल आयोजना र आवश्यक समन्वयका लागि त्यस प्रदेशका लागि अन्तरिम नेतृत्व नियुक्ति गर्न मिल्छ,’ उनले भने ।

सदस्यसचिव आफैं पनि मातहतका निकायलाई रिक्त राख्न चाहँदैनन् । तर लागू हुने चरणमा रहेको ऐनका लागि उनी पनि अन्योलमा परेका छन् । उनले भने, ‘म पनि यसरी जिम्मेबार निकायलाई रिक्त राख्ने पक्षमा छैन । तर अहिले नियुक्त गर्दा उसले चारवर्षे कार्यकालका लागि मान्यता पाउँछ । भोलि ऐन लागू पहिला नै नियुक्त गरेर विवाद निम्त्यायो, सदस्यसचिव निरंकुश भयो भन्ने आवाज सहनुपर्छ ।’

'तालिका हेरफेर हुनसक्छ’
सदस्यसचिव सिलवालले डिसेम्बर १ देखि १० (मंसिर १५ देखि २४) सम्म प्रस्ताव गरिएको १३ औं साग खेलकुदको तालिका केही हेरफेरहुनसक्ने संकेत गरेका छन् । उनको आशय डिसेम्बर महिनाभित्रै सम्पन्न हुने गरी साता/दस दिन सर्न सक्नेमा छ । ‘अहिलेसम्मको काम स्पिरिट हेर्दा हामी तोकिएको मितिबाट एक दिन पनि सार्ने पक्षमा छैनौं । तर निर्माण सम्पन्न हुने पूर्वाधारको काममा ढिलाइ भएमा वा सहभागी देशबाट औपचारिक प्रस्ताव आएमा हामीले डिसेम्बरभित्रै सक्ने गरी हेरफेर गर्न सक्छौं,’ उनले भने ।

दक्षिण एसियाली खेलकुदका लागि भारत र पाकिस्तानबाट सहभागिताका लागि लिखित सहमति आउन बाँकी रहेको सदस्यसचिवले जानकारी गराए । ‘उहाँहरूले मौखिक रूपमा सहभागिताको वचन दिइसक्नुभएको छ र छिट्टै लिखित सहमति पनि आउनेछ,’ उनले थपे, ‘यसबीचमा हामीले सहभागी सबै देशको भ्रमण गरी त्यहाँका खेलकुद अधिकारीसँग छलफल गर्नेछौं । उहाँहरूलाई औपचारिक निमन्त्रणा पनि गर्नेछौं ।’

सागसम्म दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न हुनेमा सदस्यसचिव आफैं विश्वस्त देखिएनन् । ‘रंगशालाको भीआईपी प्यारापिटको काम सागसम्म सम्पन्न गर्ने मेरो मुख्य दायित्व हो । तर तथ्य कुराभन्दा त्यो काम सागअघि नै सम्पन्न हुनेमा हामी अझै विश्वस्त हुन सकेका छैनौं,’ उनले थपे, ‘त्यसैले त प्यारापिटको छानो अड्याउने पोलको आयात प्रक्रिया बुझ्न हाम्रा उपाध्यक्ष पिताम्बर तिम्सिना आज भारत जानुभएको छ, उहाँ आएपछि चीनबाट आउनुपर्ने प्यारापिटको छानो र कुर्चीको आयात प्रक्रिया बुझ्न म आफैं चीन जाँदै छु ।’ अन्य पूर्वाधार भने कात्तिक १५ सम्म तयार पारिसक्ने उनको दाबी छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाको अग्रता

एएफपी

बर्मिङघम — नाथन लायनले ६ विकेट लिएपछि अस्ट्रेलियाले एसेज शृंखलाको पहिलो टेस्टमा सोमबार इंग्ल्यान्डलाई २ सय ५१ रनले पराजित गरेको छ । इंग्ल्यान्डका लागि बलियो साबित हुँदै आएको मैदानमा जित हात पार्दै अस्ट्रेलियाले ५ टेस्ट शृंखलामा जित सुरु गरेको हो । 

३ सय ९८ रनको कठिन चुनौती पाएको इंग्ल्यान्डले भोजनअगाडि १२ रन अन्तरमा ४ विकेट गुमाएको थियो । भोजनपछि पनि त्यही प्रदर्शन जारी रहँदा इंग्ल्यान्ड ९७–७ को स्थितिमा पुगेको थियो । अन्ततः इंग्ल्यान्ड १ सय ४६ रनमा अलआउट भयो । अफ स्पिनर लायनले ४९ रन खर्चेर ६ विकेट लिए । उनले टेस्ट क्रिकेटमा आफ्नो विकेटसंख्या ३ सय ५० पुर्‍याए । तीव्र गतिका बलर प्याट कुमिन्सले ३२ रन खर्चेर ४ विकेट लिए ।

सन् २००१ यता अस्ट्रेलियाले एजबास्टनमा पहिलो टेस्ट जितेको हो । संयोग के छ भने एजबास्टनमा अस्ट्रेलियाले पछिल्लो टेस्ट जित्दा शृंखला पनि जितेको थियो । त्यसयता अस्ट्रेलियाले इंग्लिस भूमिमा शृंखला जित्न सकेको छैन । अस्ट्रेलियाको यस नतिजाले बर्मिङघममा इंग्ल्यान्डको लगातार ११ जितको यात्रालाई पनि टुंगाइदिएको छ ।

इंग्ल्यान्डले विनाक्षति १३ रनबाट दिनको खेल सुरु गरेको थियो । पहिलो इनिङ्समा १ सय ३३ रन बनाएका रोरी बर्न्स पाँचौं दिन फरक समयमा ब्याटिङ गर्ने केवल १० औं क्रिकेटर बने । तर उनले आफ्नो अघिल्लो दिनको ७ रन स्कोरमा ४ रनमात्र थप्न सके र कुमिन्सको बलमा गलीमा लायनलाई क्याच दिन पुगे । विश्वकपमा इंग्ल्यान्डलाई च्याम्पियन बनाउनेक्रममा अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा ८५ रन बनाएका जेसन रोय २८ रनमा लायनबाट बोल्ड भए ।

लायनले जो डेनलीलाई ११ र रुटलाई २८ रनमा आउट गरी अस्ट्रेलियालाई विजयतर्फ धकेले । कुमिन्सले जोस बटलरलाई १ रनमा आउट गरेपछि इंग्ल्यान्ड ८५–५ को स्थितिमा पुगेको थियो । जोनी बेरिस्टोलाई ६ रनमा आउट गरी कुमिन्सले टेस्टमा आफ्नो १ सय विकेट पुरा गरे । लायनले बेन स्टोक्सलाई ६ रनमा आउट गरी इंग्ल्यान्डको पतन जारी राखे । पहिलो इनिङ्समा खाता खोल्नै नसकेका मोइन अलीलाई लायनले ४ रनमा आउट गरे । एसेज शृंखलाको ११ इनिङ्समा लायनले अलीलाई ९ पटक आउट गरिसकेका छन् ।

अलीलाई आउट गरेको अर्को बलमा लायनले स्टुवार्ट ब्रोडलाई आउट गरीह्याट्रिक नजिक पुगे । जेम्स एन्डरसनले लायनको ह्याट्रिकलाई रोके । केही उत्कृष्ट शटहरू प्रहार गरेका क्रिस वोक्सले ७ चौकासहित ३७ रन बनाए । उनलाई कुमिन्सले पेभेलियन फर्काएर इंग्ल्यान्डको दोस्रो इनिङ्स अस्ट्रेलियाले ५३ ओभरभित्र समेटेको थियो ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्