नेपालमा डब्लूटीको ट्रेनिङ सेन्टर 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व तेक्वान्दो महासंघ (डब्लूटी) ले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीलाई क्षेत्रीय ट्रेनिङ सेन्टरको मान्यता दिएको छ । नेपाल भ्रमणमा रहेका महासंघका अध्यक्ष चुङ वो चोई र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सोमबार संयुक्त रूपमा ट्रेनिङ सेन्टरको उद्घाटन गरे । 

विश्व तेक्वान्दो महासंघले क्षेत्रीय तालिम केन्द्रको मान्यता दिएको काठमाडौं १२ औं सहर हो । यसअघि चीनका ३, अजरबैजान, उज्वेकिस्तान, इरान, जर्मनी, बेलायत, दक्षिण कोरिया, क्रोएसिया र इटलीमा पनि क्षेत्रीय ट्रेनिङ सेन्टर स्थापना भएका छन् ।

क्षेत्रीय ट्रेनिङ सेन्टर सञ्चालनमा आउँदा नेपाली खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास अध्यक्ष चोईले व्यक्त गरे । उनका अनुसार विश्व तेक्वान्दो महासंघमा आवद्ध सबै देशका खेलाडीले ट्रेनिङ गर्न सक्नेछन् । त्यसका लागि विश्व तेक्वान्दो महासंघले समन्वय गर्नेछ भने ट्रेनिङ सेन्टरको सञ्चालन नेपाल तेक्वान्दो संघले गर्नेछ ।

सदस्यसचिवले दक्षिण एशियामा पावरहाउसको रूपमा रहेको नेपाली तेक्वान्दोको स्तर यस ट्रेनिङ सेन्टर सन्चालनमा आएपछि अझै बढ्ने दाबी गरे ।

महासंघका अध्यक्ष दक्षिण कोरियाली नागरिक चोईले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा मान्यताप्राप्त तेक्वान्दो महासंघ आफ्नो नेतृत्वमा मात्र रहेको र यस महासंघले नेपालमा नेपाल तेक्वान्दो संघलाई मात्र आधिकारिता दिएको प्रस्ट पारे ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

४१ सय मिटरमा भलिबल

आनन्द गौतम

ताप्लेजुङ — छिनभरमा कुहिरोले ढपक्क ढाक्छ । आकाशवाट बर्रर्र वर्षा भइरहन्छ । एकै छिनमा कुहिरो फाट्छ र मौसम खुलेर उज्यालो हुन्छ । यस्तो नभएर सफा मौसम भएको वर्ष कमै हुन्छ । मध्य बर्खा भए पनि चिसोको सामना गर्नुपर्छ । मौसमले लुकामारी गरिरहने ४ हजार १ सय मिटर उचाइको तोक्पेगोलामा खुला पुरुष भलिबल सोमबार सुरु भएको छ । 

जिल्लाकै उच्च हिमाली भू–भागमध्ये एक यहाँ प्रतिस्पर्धाका लागि छिमेकी जिल्ला संखुवासभाको पावाखोलादेखिका खेलाडी आएका छन् । जिल्लाको नाल्बु, साँवा, खेजेनिम, पापुङ, सावादिनलगायत खेलाडीको सहभागिता छ । १२ टिमले सहभागिता जनाएको आयोजकले जनायो । तीन दिन चल्ने प्रतियोगिताको उपाधि विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

उच्च भू–भागमा खेलाडीले जम्प गर्न नसक्ने, छिनभरमै चिसो अनुभूति हुने, बाक्लो कुहिरो लाग्दा खेल्न नसक्ने जस्ता कारण बाहिरबाट आएका खेलाडीलाई समस्या हुने खेजेनिम टिमका लक्ष्मी आङछङबो बताउँछन् । उनले भने, ‘तर आएर खेल्नुको मज्जा नै बेग्लै हुन्छ ।कुहिरोले ढाकुन्जेल र पानीले भिजाउन थालेपछि दौडिएर नजिकको घरमा गएर बस्ने र मौसम खुलेपछि फेरि मैदानमा फर्कंदा खेलाडीहरू मौसमसँग रिसाउँछन् । पहिल्यै सहमति गराएकाले आयोजकसँग रिसाउनेचाहिँ मौका हुँदैन ।’

पानी परिररहँदा भिजेर खेल्न नसकिने डण्डु शेर्पा बताउँछन् । उच्च स्थानमा लेक लाग्ने भएकाले आयोजकले यसरी निरन्तर खेलाउँदैनन् । चिसोमा खेलिरहे निरन्तर खेन नसक्ने जस्ता समस्या हुन्छ । चिसोमा अभ्यस्त हुने भएकाले स्थानीयसँग बाहिरबाट आएका खेलाडीले प्रतिस्पर्धा गरेर जित्ने सम्भावना कमै हुन्छ । गत वर्षको उपाधि पनि आयोजकले नै जितेको थियो ।

ढुक्पाछेसी पर्वको अवसरमा आयोजित प्रतियोगिताको सम्पूर्ण खर्च स्थानीयले नै बेहोर्ने आयोजक बताउँछन् । तिब्बतको नजिकै रहेको बस्तीमा प्रतियोगिताका लागि तिब्बतीयनलाई पनि निम्त्याउने गरिएको छ । तर अहिलेसम्म उनीहरू टिम लिएर नआएको डण्डुले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT