कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा क्रिकेट क्रेज : मैदानमा करोडौं लगानी

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट लमहीस्थित क्रिकेट मैदानमा भयो । एक सातासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले लमहीमा बेग्लै रौनक ल्याएको थियो । दर्शकको भीड लाग्यो ।

दाङमा क्रिकेट क्रेज : मैदानमा करोडौं लगानी

वर्षौंदेखि निर्माणाधीन उक्त मैदान आठौं खेलकुदका लागि हतारमा सम्पन्न गरिएको थियो । त्यसयता उक्त मैदानमा घाँस उम्रिएको छ । अहिले पनि मैदान क्रिकेटका लागि नियमित प्रयोग भइरहेको छ ।

दाङ क्रिकेटका लागि राम्रो गन्तव्य बनेको छ । क्रिकेटमा खेलाडीको राम्रो क्रेज देखिएको छ । यसलाई मध्यनजर गरी स्थानीय तहले पनि क्रिकेट मैदानमा लगानी गरिरहेका छन् । प्रदेश र संघीय सरकारले पनि क्रिकेट मैदानमा राम्रो सहयोग गरेका छन् । जिल्लामा ५ भन्दा बढी ठूला क्रिकेट मैदान बन्दैछन् । अन्य बन्ने क्रममा छ । सबै स्थानीय तहले एक–एक क्रिकेट मैदानको तयारी गरिरहेका छन् । यसले क्रिकेट खेलाडीलाई उत्साही बनाएको छ ।

लमहीको मैदान सबैभन्दा पहिले बनेको हो । यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको छ । उक्त मैदानमा करोड बढी लगानी भइसकेको छ । लमही नगर विकास समितिको ५ विघा जमिनमा निर्माण गरिएको मैदानमा १ करोड ८० लाखभन्दा बढी खर्च भइसकेको आँकडा छ । मैदान तयार हुन एक दशक नै लाग्यो ।

सुरुमा सामान्य खेल मैदान, त्यसपछि एथलेटिक्स, फुटबल मैदान हुँदै अन्तमा क्रिकेट मैदान बनेको हो । खेलाडीले माग गरेपछि वर्षैपिच्छे लगानी थप्दै मैदानको स्तरोन्नति गरिएको थियो । नगर विकासले आफ्नै जग्गा पर्ने डाँडोमा डोजर लगाएर मैदान बनाएको हो । मैदान तयार भएपछि चहलपहल बढेको छ । अन्य ठाउँमा पनि क्रिकेट मैदान बन्ने क्रम बढिरहेको छ ।


स्थानीय तहको लगानी बढ्दै

क्रेजअनुसार स्थानीय तहले पनि क्रिकेटमा लगानी बढाइरहेको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । अहिले घोराही र तुलसीपुर उपमहानगरका साथै बंगलाचुली जस्ता पहाडी गाउँपालिकाले समेत क्रिकेटमा ठूलो रकम लगानी गरिरहेका छन् ।

घोराही उपमहानगर–१७ गुलरियामा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान बनेको छ । प्रदेश सरकारको ५० लाख र युवा तथा खेलकुद मन्त्रालयको २० लाख गरी ७० लाखको लगानीमा हालै क्रिकेट मैदान तयार भएको हो । ‘मैदानमा आवश्यक सबै संरचना तयार भइसकेको छ । अहिले खेल्न मिल्ने भएको छ,’ मजगैयाले भने, ‘अन्य ठाउँमा पनि क्रिकेट मैदान बनिरहेका छन् । यसले खेलाडीलाई साह्रै उत्साही बनाएको छ ।’

आठौं राष्ट्रिय खेलकुदका क्रममा लमहीस्थित मैदानमा एपीएफ खेलाडी साथीलाई पानी पुर्‍याउँदै । तस्बिर : दुर्गालाल/कान्तिपुर 

पहाडी गाउँपालिका बंगलाचुलीमा पनि करोड बढी लगानीमा क्रिकेट मैदान बन्दैछ । प्रदेश सरकारको एक करोड बजेटमा गाउँपालिकाले थपेर जुम्लेपानीमा मैदान बनाइरहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर केसीले बताए । बंगलाचुली जिल्लाकै पहाडी क्षेत्र हो । भौगोलिक रूपमा कठिन भए पनि क्रिकेट मैदानमा सबैको चासो रहेको उनले सुनाए । ‘यसअघि पनि खेलहरू नियमित भइरहेका छन् । अध्यक्ष कप, प्रधानमन्त्री रनिङ सिल्ड जस्ता प्रतियोगिताहरू भइरहेका छन्,’ उनले भने, ‘पहाडी क्षेत्रमा मैदान अभावमा खेल्न समस्या छ । अब मैदान बनेपछि धेरै सजिलो हुँदै छ । खेलाडी उत्साही छन् ।’

राजपुर गाउँपालिका–५ मा प्रदेश सरकारको ५० लाख बजेटमा खेल मैदान निर्माण भएको छ । पश्चिम दाङको बबई गाउँपालिकाले पनि खेल पूर्वाधारका लागि ५६ लाख रुपयाँ लगानी गरेको छ । प्रदेश सरकारको ३६ लाख बजेटमा पुरन्धारा खेल मैदान, गाउँपालिकाको १० लाख बजेटबाट हंशपुरमा क्रिकेट मैदान र पञ्चकुलेमा १० लाखको लागतमा खेलमैदान निर्माण गरिएको छ । राप्ती गाउँपालिकामा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुँदै छ ।


मैदानसँगै प्रतियोगिता चाहियो

धमाधम खेल मैदानहरू निर्माण भइरहे पनि प्रतियोगिता भने कमै भएको खेलाडीको गुनासो छ । मैदान मात्रै भएर खेलकुदको विकास नहुने अन्तर्राष्ट्रिय प्रतियोगितमा भाग लिइसकेका घोराहीका क्रिकेटर सुशान्तसिंह थापाले बताउँछन् । ‘पहिले संरचना नै नभएर खेल्न कठिन थियो । अहिले मैदान बन्दैछन्, यसले पक्कै पनि सजिलो हुन्छ,’ उनले भने, ‘तर प्रतियोगिता नियमित हुँदैनन् । मैदान मात्रै भएर हुँदैन । सानैदेखि विद्यालय तहदेखि प्रतियोगिताहरू हुनुपर्छ ।’

प्रतियोगिता बढी भए मात्रै खेलाडीहरू उत्पादन हुने उनले बताए । ‘मैदानलाई कत्तिको उपयोग गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । यसअघि मैदान नभएकै कारण खेलकुद गतिविधि कमै हुन्थे,’ उनले भने, ‘अब मैदानसँगै खेलकुद प्रतियोगिताहरू बढाउनुपर्छ । नयाँ खेलाडी निस्कन्छ । साना बालबालिका पनि खेलिरहेका छन् । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण हुनुपर्छ ।’

वर्षमा एकपटक मात्रै प्रतियोगिता हुँदा खेलाडी टिकाउन कठिन हुने दाङको महिला क्रिकेट टिमकी कप्तान शर्मिला रोका मगरले बुझाइ छ । ‘पहिलेको तुलनामा अहिले धरै खेल्ने ठाउँहरू भएका छन् । मैदान बन्दा उत्साह थपिएको छ तर खेल कम हुँदा समस्या छ,’ उनले भने, ‘वर्षभर खेलको तयारी गरेर एउटा मात्रै खेल हुँदा निराशा छाउँछ । नियमित प्रतियोगिता भएमा खेलाडीलाई उर्जा मिल्छ ।’

जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा प्रतियोगिताहरू भइरहनुपर्ने उनले बताइन् । ‘खेलाडीहरू राम्रो उत्पादन भइरहेका छन् । दाङमा मात्रै चार टिम छन्,’ उनले भनिन्, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भइरहेका छन् । प्रदेशमा पनि दाङको खेल उत्कृष्ट छ । प्रतियोगिता बढी भएमा सक्रियता झन् बढ्छ ।’ दाङका ९ महिला खेलाडीले राष्ट्रिय र एकले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको उनले बताइन् ।


आफ्नै सक्रियता

२०७३ सालदेखि आईसीसीले नेपाली क्रिकेटका नियामक संस्था क्यानलाई प्रतिबन्धित गरेपछि देशभर संस्थागत रूपमा क्रिकेटका गतिविधि गर्न समस्या भएको थियो । प्रतियोगिताहरू हुन छाडेका छन् । धेरै खेलाडी निराश बनेका छन् । कति पलायन भइसके । जिल्लामा आफ्नै पहलमा निरन्तर गतिविधि गरिरहेको जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले बताए ।

‘हाम्रो जिल्ला क्रिकेट संघले पनि तीन महिनाअघि मात्रै मान्यता पाएको छ । यसअघि मान्यताबिना पनि हामीले गतिविधि गरिरहेका थियौं,’ उनले भने, ‘क्रिकेटमा ठूलो क्रेज छ । यहाँका खेलाडी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । ७ जनाले अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।’

अहिले पनि जिल्लामा राष्ट्रिय स्तरमा खेल्ने खेलाडी ५० बढी रहेको उनले सुनाए । ४ सय बढी जिल्लास्तरमा खेल्ने खेलाडी रहेको र उनीहरूले नियमित अभ्यास गरिरहेको मजगैयाले बताए । ‘क्रिकेटमा स्थानीय सरकारको पनि चासो र सहयोग बढेकाले खेलाडीलाई प्रोत्साहन भएको छ । यसअघि संरचना अभाव थियो,’ उनले भने, ‘अहिले स्तरीय मैदान भएकाले क्रिकेटको विकासमा ठूलो टेवा पुग्दैछ । जिल्लामै ५ भन्दा बढी ठूला क्रिकेट मैदान हुनु ठूलो उपलब्धि हो ।’

प्रकाशित : श्रावण २५, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?