कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाजार्डको डेब्यू लम्बियो

एएफपी

मड्रिड — अभ्यासका क्रममा शुक्रबार चोटग्रस्त भएपछि इडेन हाजार्डले स्पेनिस ला लिगामा नयाँ सिजनको पहिलो खेल गुमाउने भएका छन् । रियल म्याड्रिडले शनिबार सेल्टा भिगोसँग अवे खेल खेल्दै छ । जुन महिनामा चेल्सीबाट १०० मिलियन युरोमा म्याड्रिडमा अनुबन्ध भएका हाजार्ड सेल्टाविरुद्धको खेलमा डेब्यू गर्ने तयारीमा थिए । 

हाजार्डको डेब्यू लम्बियो

तर शुक्रबार बिहानको अभ्याससत्रमा सामान्य ट्याकल सामना गरेका उनको तिघ्रामा चोट लागेको छ । प्रारम्भिक रिपोर्टअनुसार उनी तीनदेखि चार साता मैदानबाहिर रहनेछन् । ‘शुक्रबारको अभ्यासपछि रियल म्याड्रिडको मेडिकल टिमद्वारा गरिएको परीक्षणमा इडेन हाजार्डको दायाँ तिघ्रामा चोट लागेको निश्चित भएको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनी छिटै निको हुने अपेक्षा गरिएको छ ।’


शनिबार सेल्टाविरुद्धको अवे खेलपछि रियलले अर्को साता रियल भालाडोलिडसँग आफ्नो मैदानमा खेल्नेछ । अन्तर्राष्ट्रिय खेलको लागि विश्रामअघि भिल्लारियलको घरेलु मैदानमा खेल्नेछ । हाजार्डले सम्भवतः सेप्टेम्बर १४ मा लेभान्टेविरुद्ध सान्टियागो बर्नाबाउमा हुने खेलमार्फत ला लिगा डेब्यू गर्नेछन् ।


उनको अनुपस्थिति प्रशिक्षक जिनेदिन जिदानका लागि ठूलो झट्का हो । किनभने प्रि–सिजनको निराशाजनक प्रदर्शनपछि उनले लिगमा सकारात्मक सुरुआत अपेक्षा गरेका थिए । जिदानले यसअघि नै फरल्यान्ड मेन्डी र मार्को एसेन्सियोलाई चोटका कारण गुमाइसकेका छन् । मेन्डी काछ इन्ज्युरीको सामना गरिरहेका छन् । लिगामेन्टको गम्भीर चोटका कारण एसेन्सियो केही महिना मैदानबाहिर रहने निश्चित छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?