१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ब्लकबस्टर बट्लर

आईपीएलको मंगलबारको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्ध ब्याटिङ गर्दा मैदानबाहिर थिए, जोस बट्लर । तर जब लक्ष्य पछ्याउँदै राजस्थान ब्याटिङमा ओर्लेसँगै ओपनरका रूपमा देखिएका  बट्लरको ‘वान म्यान शो’ ले नै राजस्थान विजयी बन्यो । ६० बलमा  १ सय ७ रन बनाएका बट्लर नटआउट रहे ।
हिमेश

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत मंगलबार भएको खेल हेर्ने सबैको मनमा लागेको हुनुपर्छ, जस बट्लर किन बेन्चतिर छन् त ? एडेन गार्डेनमा भएको खेलमा भिडेका थिए, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स । यस सिजन सबैभन्दा बढी लयमा देखिएका दुई टिमबीचको खेल थियो, यो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको इनिङ्सका बेला यी इंग्लिस खेलाडी मैदानबाहिर थिए, दर्शकजस्तै । 

ब्लकबस्टर बट्लर

बट्लर त बहुउपयोगी खेलाडी हुन्, उनको ब्याटले जति बोल्ने गर्छ, विकेटकिपिङ पनि उत्तिकै माथिल्लो स्तरको छ । तर पनि उनी राजस्थानले पेस गरेको सुरुआती ११ खेलाडीमा थिएनन् । के हो त यो ? कतै चोटले फेरि दुःख दिएको त होइन् ? तर होइन्, यो त रणनीतिक हो । बट्लरको भूमिका ‘इम्प्याक्ट प्लेयर’ को रूपमा थियो । कोलकताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय २३ रन बनायो । यो त राम्रो स्कोर थियो । त्यसमा वेस्ट इन्डिजका ब्याटर सुनील नारानले १ सय ९ रन बनाए ।

लागिरहेको थियो, खेल कोलकाताले जित्नेछ । तर होइन, बलटरको मनमा अर्कै कुरा थियो । राजस्थानले ठूलै लक्ष्य पछ्याउँदा ओपनरको भूमिका बट्लर आए । सँगै यशस्वी जैसवाल पनि थिए । उनी त धेरै टिकेनन् । तर बट्लर सुरुदेखि अन्त्यसम्मै टिके । वरुण चक्रवर्तीको अन्तिम बलमा एक रन जोडेर उनले राजस्थानलाई सनसनीपूर्ण जित दिलाए । आईपीएलको इतिहासमा कुनै टिमले जितका लागि पछ्याएको यो नै सबैभन्दा ठूलो स्कोर थियो ।

त्यस अर्थमा कीर्तिमान बन्यो । बट्लर १ सय ७ रन बनाएर नटआउट रहे । उनले खाली ६० बलमै मात्र सामना गरे । तर यसबीच पनि प्रहार गरे, ९ चौका र ६ छक्का । एक समय लागिरहेको थियो, राजस्थानले हार्नेछ । इनिङ्स १३ ओभरको हुँदा राजस्थान ६ विकेट गुमाएर १ सय २१ रनको स्थितिमा थियो । यो त कमजोर स्थिति नै थियो ।

तर बलटर एक्लैले इनिङ्स सम्हाले र टिमलाई सकुशल जितसम्म दोहोर्‍याए ।उनले अघिल्लो खेल गुमाएका थिए, चोटका कारण । कोलकाताविरुद्धको खेलमा पनि पूर्णतः फिट थिएनन् । तर जति बेला मैदानमा ब्याटिङका लागि ओर्ले । बबाल खेले । अब त भन्न सुरु भएको छ, आईपीएल इतिहासमै कुनै ब्याटरले लक्ष्य पछ्याउने क्रममा गरेको यो सबैभन्दा उत्कृष्ट ब्याटिङ हो । खेलको अन्त्यमा बलटरको स्ट्राइक रेट थियो, १ सय ७८.३३ । यो आफैंमा राम्रो हो । तर १४ ओभरको खेल सकिँदासम्म उनको यही स्ट्राइकर रेट, १ सय २७.२७ थियो ।

राजस्थानका लागि जितका लागि चाहिने रन रेट बढेर १६ पुगिसकेको थियो । अनि विकेट बाँकी थिए, चारै मात्र । आजभन्दा केही वर्ष अगाडि मात्र जाने हो भने यस्तो स्थितिमा टिमले हार मानिसकेको हुन्थ्यो । अझ त्यसको पनि केही वर्ष अगाडि जाने हो भने यो जित्नै नसक्ने स्थिति मानिन्थ्यो, असम्भव नै भन्दा हुन्छ । तर अचेल क्रिकेट फेरिएको छ, सँगै खेल्न शैली पनि । नत्र राजस्थानले यो खेल जित्यो पो कसरी ?

फेरि पोहोरको सिजनदेखि सुरु भएको ‘इम्प्याक्ट प्लेयर’ को नियमले आईपीएलाई अझ बढी रोमाञ्चक बनाएको छ । अनि अझ धेरै रन बन्न थालेका छन् । यसपल्ट त रनको त एकपछि अर्को कीर्तिमान बनिरहेको छ । खेल पण्डितको कुरा मान्ने हो भने यसको एउटा कारण साँच्चै यही निमम हो । बट्लरलाई पनि यही ‘इम्प्याक्ट प्लेयर’ को भूमिका दिइएको थियो । चोटकै कारण उनले सुरुदेखि खेल्न सकेनन् । तर जब खेले, त्यसको जवाफ थिएन ।

फेरि खेलमै फर्कने हो भने त्यसको अन्त्यतिर कठिन स्थितिमा बट्लर एकाएक आक्रमक भए । अचेलको क्रिकेट भाषामा भन्दा उनले अचम्मले गाडीको गिएर अगाडि बढाए । सुरुआती ४२ रनका लागि उनले ३४ बल खेलेका थिए । तर त्यसपछिका ६५ रनका लागि खाली २६ बल मात्रै लगाए । यसले देखाउँछ, उनले कति धेरै आक्रामक भएर खेले भनेर । राजस्थानले सामना गरेका अन्तिम १८ बलमध्ये सबै उनले नै सामना गरे । असाध्यै थाकेका बट्लरले एक रन लिन मानेनन्, स्ट्राइक गुमाउने डरले ।

इंग्ल्यान्डको सीमित ओभर खेल्ने टिमको कप्तान हुन्, उनी । टेस्ट पनि खेल्छन् । तर उनको खास परिचय ओडीआई र ट्वान्टी ट्वान्टी क्रिकेटमै हो । उनलाई इंग्लिस क्रिकेटले पाएका अहिलेसम्मकै उत्कृष्ट ‘लिमिटेड ओभर प्लेयर’ मानिन्छ । त्यसैले त हो, इंग्ल्यान्डले सन् २०१९ मा वान डे विश्वकप जित्दा उनी त्यसका प्रमुख सदस्य थिए । अनि सन् २०२२ मा इंग्ल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकप जित्दा त्यसका कप्तान पनि ।

आईपीएलमै पनि उत्कृष्ट खेलाडीको सूची बनाउने हो भने बट्लर सुरुमै पर्नेछन् । मुम्बई इन्डियन्सका लागि सुरुमा खेलेको बट्लर पछि राजस्थानतर्फ लागे र त्यहीं बढी चम्के । आईपीएलमै उनले खेलेका सयभन्दा बढी खेलमा ७ शतक र १९ अर्धशतक प्रहार गरिसकेका छन् । आईपीएल इतिहासामै सर्वाधिक शतकको कीर्तिमान विराट कोहलीको नाममा छ । उनले सात शतक बनाएका छन् । बट्लर धेरै पछाडि छैनन् । उनको शतकको संख्या ७ पुगिसकेको छ ।

उनको पछाडि क्रिस गेल छन्, ६ शतकमा । यही एउटा तथ्यांकले पनि देखाउँदा उनी कति सफल छन् भनेर आईपीएलमा । सायद यी सात शतकमध्ये पनि सबैभन्दा राम्रो त अहिले कोलकाताविरुद्धकै रह्यो । विजयी रन बटुल्दा उनी हिँड्न सक्ने पनि स्थितिमा थिएनन् । पसिनाले नै नुहाएका जस्तै देखिन्थे । तर उनको अनुहारमा अपार खुसी र सन्तुष्टि देखिन्थ्यो । उनको भनाइ थियो, ‘मलाई साँच्चै निकै गाह्रो भइरहेको थियो, तर प्रत्येक पल्ट मैले आफैंले आफूलाई ढाडस दिइरहेको थिएँ, खेल्नका लागि ।’

यो जितले प्रतियोगितामा राजस्थानको स्थिति अझ मजबुद बनेको छ । सात खेलबाट उसको १२ अंक भएको छ र दस टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा छ । लिग चरणका १४ खेलमध्ये राजस्थानले ७ खेलेको छ । अहिलेसम्मको यात्रामा एकै खेल मात्र गुमाएको राजस्थानले यसपछिका खेलमा नाटकीय ढंगले नराम्रो खेलेको स्थितिमा बाहेक शीर्ष चारको स्थान निश्चितजस्तै देखिन्छ । यसका लागि राजस्थानले बट्लरलाई कम्तीमा एकचोटि त धन्यवाद दिनै पर्छ ।

प्रकाशित : वैशाख ६, २०८१ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?