कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सूर्य नेपाल काठमाडौं ओपन : कोर्स रेकर्ड बराबरीसँगै नीरजले जिते पहिलो उपाधि 

काठमाडौँ — नीरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएर करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् ।

सूर्य नेपाल काठमाडौं ओपन : कोर्स रेकर्ड बराबरीसँगै नीरजले जिते पहिलो उपाधि 

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सातौं प्रतियोगिता काठमाडौं ओपनको अन्तिम दिन शुक्रबार धरानका प्रो नीरजले ८ अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका थिए । शिवरामले सन् २०१५ मा एनपीजीए प्रेसिडेन्ट्स कपमा ८ अन्डर स्कोर गरेका थिए ।

शुक्रबार खेल सुरु गर्दा नीरज तीन दिनका लिडर भुवनभन्दा सात स्ट्रोकले पछि थिए । तर, ८ अन्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार रुपैयाँ पुरस्कार पाए ।

अन्तिम १८ होलको सुरु गर्दा भुवनसँग दिनेश प्रजापतिमाथि ६ स्ट्रोक र नीरजमाथि ७ स्ट्रोकको अग्रता थियो । तर, भुवनले शुक्रबार इभन पार ६८ मा खेल सक्दा समग्रमा ७ अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा चित्त बुझाए । उनले ८२ हजार पाए ।

४ अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार जिते । इभन पार ६८ स्कोर गर्दै समग्रमा इभन पार २ सय ७२ सहित तोरणविक्रम शाही चौथो भए । उनले ५३ हजार पाए । समग्रमा २ ओभर २ सय ७४ सहित पाँचौं भएका धनबहादुर थापाले ४५ हजार थापे । उनले इभन पार ६८ खेले ।

उपाधि दाबेदार मानिएका सुवास तामाङ समग्रमा ४ ओभर २ सय ७६ सहित छैटौं भए । प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुवासले ३३ हजार ५ सय पाए । समग्रमा ५ ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खड्काले सातौं स्थान बाँडे । उनीहरूले जनही ३३ हजार ५ सय पुरस्कार पाए । १ ओभर ६९ सहित समग्रमा ६ ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए । उनले २८ हजार थापे ।

समग्रमा ७ ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवनकुमार रोक्काले संयुक्त दसौं स्थानमा‌ प्रतियोगिता सके । सञ्जयले ५ ओभर ७३ र भुवनले १ ओभर ६९ मा खेल टुंग्याए । उनीहरूले जनही २४ हजार पाए ।

एमेच्योरतर्फ समग्रमा १३ ओभर २ सय ८५ सहित सद्भाव आचार्यले उपाधि जिते । उनले ७ ओभर ७५ मा खेल सक्दै टासी छिरिङलाई १० स्ट्रोकले हराए । टासीले समग्रमा २३ ओभर २ सय ९५ स्कोर बनाए । शुक्रबार उनले १२ ओभर ८० मा खेल सकेका थिए । राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कुल‌ ३०० स्कोर सहित तेस्रो भए ।

नीरजले कोर्स रेकर्ड बराबरी गर्नेक्रममा फ्रन्टनाइन ५ अन्डर २९ मा सके । उनले पहिलोदेखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे । नवौं होलमा एक शट बचाएपछि फ्रन्टनाइनको समाप्तिमा भुवनभन्दा मात्र‌ एक स्ट्रोकले पछि थिए । भुवनले भने फ्रन्टनाइन १ ओभर ३५ मा सके । उनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलमा डबल बोगी र पाँचौं होलमा बोगी खेपे ।

नीरजले फ्रन्टनाइनकै प्रदर्शनलाई निरन्तरता दिए । १० औं होलमा बर्डी प्रहार गर्दै नीरजले भुवनसँग स्कोर बराबरी गरे । यसपछि १३ र १४ औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा नीरजले दुई स्ट्रोकको अग्रता बनाएका थिए ।

१६ औं होलमा हजार्डबाट बोगी खेले पनि १७औं होलको उत्कृष्ट बर्डीले पुनः २ स्ट्रोकको अग्रता बनाए । उनले ब्याकनाइन ३ अन्डर ३१ मा सक्दा एक स्ट्रोकको जित निकालेका हुन् । भुवनले भने १२ औं होलको बोगीविरुद्ध ११ र १८ औं होलमा बर्डी प्रहार गरे । ब्याकनाइन १ अन्डर ३३ मा सके ।

जयरामले फ्रन्ट र ब्याकनाइन दुवै २ अन्डर ३२ मा सके । फ्रन्टनाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक शट खेर फाले । ब्याकनाइनमा १३, १४ र १७ औं होलमा एक एक शट बचाए भने १६ औं होलमा बोगी प्रहार गरे ।

विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार प्रदान गरे ।

प्रकाशित : वैशाख १४, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?