कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफ च्याम्पियन भएको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफ साविक उपविजेता पनि हो । एपीएफले यस पटक फाइनलमा पुलिसमाथि २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो । एपीएफकी पूजा थारु प्लेयर अफ दी फाइनल घोषित भइन् । सातौं संस्करणको समाप्तिमा एपीएफ छैटौंपटक च्याम्पियन बन्यो ।

छैटौं संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो । त्यस संस्करणको फाइनलमा एपीएफ न्यु डायमण्डसँग चुकेको हो । यस पटक भने एपीएफ अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

विजेता एपीएफले चार लाख ९९ हजार तथा उपविजेता पुलिसले दुई लाख ५० हजार नगद पुरस्कार पाए । डिफेन्डिङ च्याम्पियन न्यु डायमण्ड यस पटक तेस्रो स्थानमै सिमित भयो । न्यु डायमण्डले शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले हरायो ।

न्यु डायमण्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच भइन् । न्यु डायमण्डले एक लाख २५ हजार तथा आर्मीले ६२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी भइन् ।

त्यसबापत उनले ५० हजार नगदबाट पुरस्कार पाइन् । पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो भए । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का लगायतले पुरस्कृत गरे ।

प्रकाशित : वैशाख १५, २०८१ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?