कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवतीलाई मोबाइल एप

हेटाैंडा — मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप प्रयोग गरी प्रसूति सेवा दिन सुरु भएको छ । गाउँपालिकाका ५ स्वास्थ्य चौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । 

गाउँपालिकाले ५ वटै स्वास्थ्य चौकीमा एप्ससहितको मोबाइलसमेत वितरण गरेको छ । ती मोबाइलमा रहेको एपमा आफ्नो सेवा क्षेत्रका गर्भवती र सुत्केरीबारेको जानकारी विवरण स्वास्थ्य चौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन् ।


त्यस्ता विवरणबमोजिम एपले समय अवधिका आधारमा ‘नोटिफिकेसन’ पठाउने र त्यस्तो नोटिफिकेसनबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहार गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए ।


‘स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौं,’ उनले भने, ‘हामी विकट र दुर्गममा पनि प्रविधिमार्फत जनतालाई सजिलो पर्ने गरी सेवा दिन क्रियाशील छौं ।’ एपको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने, उनीहरूको अवस्थाबारे जानकारी हुने र त्यही आधारमा सेवा उपलब्ध गराउने सकिने गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भएमा प्रति बालबालिका ५ सय रुपैयाँका दरले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने जनाएको छ । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेका संख्या वृद्धिका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौं,’ गाउँपालिका उपाध्यक्ष सुकमाया थिङले भनिन् ।


उनले भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी ५ स्वास्थ्य चौकीमा बच्चा जन्माउने संख्यामा वृद्धि हुने आशा व्यक्त गरिन् । ५ वटै स्वास्थ्य चौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने जनाइएको छ ।


गाउँपालिकामा बर्सेनि सरदर ४ सय २५ जना गर्भवती हुने गरेका छन् । तर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेको संख्या सयको हाराहारी मात्र छ । ‘करिब २५ प्रतिशत मात्र स्वास्थ्य चौकीका सुत्केरी हुन आउने गरेका छन्,’ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले बताए । मोबाइल एपले स्वास्थ्य संस्थामा गर्भ परीक्षण र सुत्केरी हुने संख्यामा हात्तै वृद्धि हुने उनको दाबी छ । गाउँपालिकाक ५ स्वास्थ्य चौकीका वर्थिङ सेन्टरमा चालू आर्थिक वर्षको ५ महिनामा ९१ जना सुत्केरी भएका छन् । तीमध्ये ३१ किशोरीे सुत्केरी भएको तथ्यांक छ ।


यसैबीच, गाउँपालिकाले ५ स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । भार्ता स्वास्थ्य चौकीकी कृष्णमाया थिङ, कटुञ्जे स्वास्थ्य चौकीकी शुभद्रा प्रजा, नामटार स्वास्थ्य चौकीकी लक्ष्मी रिजाल, गोगने स्वास्थ्य चौकीकी गंगा आलेमगर र डाँडाखर्क स्वास्थ्य चौकीकी सुनमाया नेगीलाई सम्मान गरिएको हो ।


स्वास्थ्यकर्मी भोला चौलागाँईले सहजीकरण गरेको अभिमुखीकरणमा महिला स्वयंसेविकाहरू, स्वास्थ्य चौकीका प्रमुखहरू तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले सहभागीहरूलाई कुपोषण समस्याबाट हटाउनका लागि कर्मचारी स्वयंसेविकाहरूले खटिएर काम गर्न सबैलाई आग्रह गरेका थिए ।

प्रकाशित : पुस १९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?