किसानको साथी बन्यो कृषि एप्स

‘स–सानो जानकारी पाउन कहाँ जाँउ भनेर भौतारिनु पर्दैन, ‘एप्स छिटो र सजिलो माध्यम बनेको छ ।’
मधु शाही

बाँके — ‘केएफ’का नामबाट मोबाइल सन्देश आयो । सकुन्तला केसी जुरुक्क उठिन् । चासो दिएर सन्देश पढिन्, जसमा लेखिएको थियो, ‘आलु र तरकारीमा ढुसी नाशक विषादी प्रयोग गर्नुहोला ।’ केएफ भनेको सकुन्तलाको कृषि फ्रेन्ड हो ।

कोहलपुर–७ की ३४ वर्षीया सकुन्तलाले बीएफ (ब्वाइ फ्रेन्ड)को सट्टा रमाइलो भाव र गहिरो अर्थ लाग्ने ठानेर केएफ (कृषि फ्रेन्ड) नामले कृषि एप्स सेभ गरेको बताइन् । अहिले उनका लागि कृषि फ्रेन्ड सबैभन्दा भरपर्दो साथी बनेको छ ।

कृषि एप्समार्फत प्राप्त हुने सूचना यहाँका किसानका लागि महत्त्वपूर्ण बन्दै छन् । कृषि साथीका रूपमा प्रविधि विस्तार भएको छ । प्रविधिको विकाससँगै किसानले पनि आफूलाई अपडेट गरिरहेका छन् । सकुन्तला तरकारी खेती गर्छिन् । त्यसैले यही एप्सले उनलाई कृषिसम्बन्धी जानकारी दिने गरेको छ । उनले तीन वर्षअघि जिल्ला कृषि कार्यालयबाट कृषि सिम ल्याएकी थिइन् । त्यही नम्बरबाट उनले निरन्तर कृषिसम्बन्धी सूचना पाइरहेकी छन् । सकुन्तलाले भनेजस्तै प्रविधिलाई केएफ अर्थात् कृषि फ्रेन्ड बनाएका थुप्रै कृषक छन् यहाँ ।

खजुरा–२ का गेहेन्द्र धितालले पनि कृषि इन्फो सिम प्रयोग गरिरहेका छन् । तरकारी कसरी लगाउने भन्ने विषयमा दिएका सूचना उनी खासै हेर्दैनन् । लामो समयदेखि कृषिमा बिताएका उनी कामले अभ्यस्त भइसकेका छन् । तर, कृषि सूचनाको जानकारी उनलाई मौसम गडबड भएका बेला अत्यन्त आवश्यक पर्छ । खास गरी धान खेती, गहु खेती गर्ने बेला मौसमको जानकारी हुनैपर्छ । ‘मौसम ठिक छैन । आज धान नकाटनु भनेर सूचना आउँछ,’ उनले भने, ‘त्यतिबेला मान्नैपर्छ ।’ मौसमसम्बन्धी जानकारी लिएर धेरै किसानको बाली नष्ट हुनुबाट जोगाएको अनुभव छ ।

किसानहरू आफ्नै काममा व्यस्त हुन्छन् । उनीहरूले बनाएका कृषि योजना भुल्न पनि सक्छन् । त्यस्तो बेला एप्स र एसएमएसले सम्झाएर धेरै गुन लगाएको कृषक धितालले बताए । खजुरा–९ का दिलकुमार रेग्मीले कृषि एप्स चलाउनकै लागि स्मार्ट फोन खरिद गरेका छन् । च्याउ खेती कसरी गर्ने ? यसको सबै जानकारी उनले एप्सबाटै पाएका हुन् । दुई कट्ठा जमिनमा च्याउ खेती गर्दै आएका रेग्मीले च्याउसम्बन्धी कुनै पनि सूचना खोज्नुपर्‍यो भने उनी एप्समा हेर्छन् । ‘स–सानो जानकारी पाउन कहाँ जाउँm भनेर भौतारिनु पर्दैन,’ उनले भने, ‘एप्स छिटो र सजिलो माध्यम बनेको छ ।’

कोहलपुर–५ का ५७ वर्षे किसान पन्टु चौधरीले एप्स डाउनलोड गरेको मोबाइल बोकेका छन् । तर, खोलेर हेर्न त्यति भ्याउ पाउँदैनन् । तरकारी खेती गर्दै आएका उनले १८ वर्षे छोराको सहयोगमा एप्स चलाउन सिक्दै गरेको बताए । एप्समा सूचनाको घण्टी बज्यो भने उनी छोराको सहारा लिन्छन् । ‘पढ्न त्यति जान्दिनँ, छोराले सुनाउँछ,’ पन्टुले रमाइलो मान्दै भने, ‘खेतीबारे सबैजान्दो रहेछ । यो त गज्जबकै जिनिस रहेछ ।’

कृषिमा प्रविधिको भरपूर प्रयोग गर्नेमध्ये अधिकांश युवा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनका अनुसार इन्टरनेटमा सर्च गर्दा कृषि घर, स्मार्ट कृषि, कृषि इन्फो, कृषि गुरुलगायत थुप्रै एप्स पाउन सकिन्छ । जसलाई डाउनलोड गरेर किसानले कृषि उपयोगी जानकारी लिन सक्छन् ।

खास गरी मौसमसम्बन्धी दिइने सूचनाले किसानको खेती बाली सुरक्षित हुने गरेको ढकालले सुनाए । यद्यपि, बाँकेमा अधिकांश किसान प्रविधिको प्रयोग गर्न सिपालु छैनन् । जानेकाले भने सदुपयोग गरेर राम्रो लाभ उठाइरहेका छन् । ‘युवा कृषकचाहिँ सूचना प्रविधिसँग नजिक छन्,’ उनले भने, ‘उनीहरू अपडेट भइरहन्छन् । पाएको सूचना प्रयोगसमेत गर्छन् ।’

प्रकाशित : माघ ६, २०७५ १०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँभरि मौरी पालन 

हरि गौतम

रुकुमपूर्व — सिस्ने गाउँपालिका–३, पोखराका ओमप्रकाश खड्काले चालु सिजनमा २ सय ५० धार्नी मह बिक्री गरे । त्यसबाट उनले ५ लाख आम्दानी गरे । प्रतिधार्नी २ हजार रुपैयाँमा बिक्री गरेका हुन् ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–३, पोखराका ओमप्रकाश खड्का मह निकाल्दै । तस्बिर : हरि/कान्तिपुर 

स्थानीय कमलालखड्काले २ सय धार्नी मह बिक्री गरेर ४ लाख रुपैयाँ आम्दानी गरे । ओप्रकाशसँग १ सय ११ गोला मौरी छन् । कमलालसँग ५५ गोला मौरी छन् । पोखराका धेरै किसानले यस वर्ष महबाट राम्रो कमाइ गरेका छन् । साबिकको पोखरा गाविसका १ र ४ वडाका केही घर मात्र मौरीका गोलाविहीन छन् ।

‘गाउँमा १ सय ६७ घर छौं,’ ओमप्रकाशले भने, ‘तर, मौरीका गोलाविहीन भएका घर भने केही मात्रै होलान् ।’ यस सिजनमा मौरीले राम्रो मह बनाएको उनले बताए । कात्तिके सिजनमा गाउँबाट मात्रै ३० लाख रुपैयाँको मह बिक्री भएको खड्कालेअनुमान गरे । १ हजार ५ सय धार्नी मह बिक्री भएको अनुमान उनको छ । एक गोला मात्रै मौरी भएकाले पनि यस सिजनमा ३ देखि ५ धार्नीसम्म मह बिक्री गरेको उनले बताए । ‘कोसँग कति गोला मौरी छन् भनेर हिसाब गर्दा पनि १ हजार ५ सय धार्नीभन्दा बढी नै मह बिक्री भएको अनुमान छ,’ खड्काले भने ।

किसानसँग अझै पनि बिक्रीका लागि मह बाँकी छ । असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिएको कात्तिके सिजनको मह बढी खोजिन्छ । पोखरामा हरेक वर्ष व्यावसायिक मौरी पालन गर्नेहरू बढिरहेका छन् । मौरीका पुराना र व्यावसायिक किसान ओमप्रकाश हुन् ।

कमलाल, लीलाराम खड्का, भागिदलखड्का, लालबहादुर खड्का, भद्रवीर ओली, बालाराम खड्का, कृष्ण केसी पनि धेरै मौरी पालन गरिरहेका अन्य किसान हुन् । मह बिक्री गरेर राम्रो आम्दानी गर्नेमा उनीहरू पनि अग्रस्थानमा आउँछन् । हरेक किसानका घरको चारैतिर मौरीका गोला छन् भने कतिले अन्य ठाउँमा समेत राखेर मौरी पालिरहेका छन् । उनीहरूले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् ।

एउटा घारबाट एक सिजनमा ७ धार्नी मह उत्पादन गरेको उनीहरू बताउँछन् । घारबाट ५० प्रतिशत मात्र मह काढ्ने गरेका छन् । चरन अभावका बेला मौरीले त्यही मह खाने गर्छन् । महले नपुगेपछि कृत्रिम खाना मौरीलाई खुवाउने गरिएको छ । मौरी भोको हुन थालेपछि किसानले चास्नी बनाएर खुवाउने गर्छन् ।

चरन अभावमा मौरीका लागि कृत्रिम खानाका रूपमा चास्नी बनाएर खुवाउने गरेको कमलाल खड्काले बताए । मौरीका लागि उपयुक्त मानिएको पोखरा मौरी पकेट क्षेत्रसमेत हो । गत सिजनमा सिस्ने गाउँपालिकाले किसानलाई मौरीसमेत वितरण गरेको थियो । गाउँपालिकाले मौरी वितरण गरेपछि व्यावसायिक मौरी पाल्नेको संख्या बढेको खड्काको भनाइ छ ।

यहाँ उत्पादित महलाई बजारको समस्या छैन । उपभोक्ताले असार महिनादेखि अग्रिम भुक्तानी गरेका हुन्छन् । मह काढ्नेबित्तिकै बिक्री हुने अनुभव किसानसँग छ । धेरै उत्पादन हुने ठाउँमा उपभोक्ता पनि धेरै आउने हुनाले मह बिक्रीको खासै समस्या नभएको किसानहरूले बताए ।

सिजन नभएका बेला मौरी चराउन लैजाने उपयुक्त वातावरण नहुँदा भने समस्या भइरहेको छ । धेरै मौरीका गोला हुँदा सडक अभावमा मौरी चराउन लैजाने वातावरण नभएको अर्का किसान भागिदल खड्काले बताए ।

प्रकाशित : माघ ६, २०७५ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT