कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच वर्षभित्र 'डिजिटल नेपाल’

हुवावेको फाइभजी प्रविधि प्रदर्शनीमा

काठमाडौँ — विश्व फाइभजी प्रविधिको तयारीमा रहेका बेला नेपाल भने फोजीमा पाइला सार्दै गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । उनका अनुसार यहाँका कुनै पनि अपरेटरले राष्ट्रव्यापी रूपमा फोजी सेवा विस्तार गर्न सकेका छैनन् । 

पाँच वर्षभित्र 'डिजिटल नेपाल’

मन्त्री बाँस्कोटाले सरकार डिजिटल नेपाल निर्माणमा गम्भीर रहेको बताए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्व चितुवाको बेगमा अघि बढिरहेको र नेपालले पनि पाँच वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याउने उनले बताए । ‘यो क्षेत्रका नीतिगत झन्झट र कानुनी समस्या समाधान गर्न हामी दत्तचित्त छौं,’ उनले भने, ‘सूचना प्रविधिसम्बन्धी ऐन ल्याएका छौं, त्यो संसद्मा विचाराधीन छ । नेपाल अब डिजिटल अर्थतन्त्रको यात्रामा छ ।’


सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आधुनिक विकासबारे जानकारी दिन हुवावे नेपालले आयोजना गरेको ‘मोबाइल नेपाल कंग्रेस’ को आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले नेपाललाई फाइभजी प्रविधितर्फ लग्न यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।


बुधबारसम्म चल्ने सम्मेलनमा हुवावेले फाइभ जीसँग सम्बन्धित आधुनिक प्रविधि प्रदर्शनीमा राखेको छ । नेपालका लागि हुवावेका प्रमुख कार्यकारी अधिकृत डेनी देङले बार्सिलोनामा आयोजना हुने वर्ल्ड मोबाइल कंग्रेसमा राखिएका प्रविधिको सक्कली प्रति नै नेपालको प्रदर्शनीमा राखिएको अवगत गराए । ‘सबैलाई बार्सिलोना जान सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामी विभिन्न देशमा यस्तो सम्मेलन आयोजना गर्छौं ताकि स्थानीयले वर्तमान प्रविधिबारे जानकारी र शिक्षा पाउन् ।’ नेपाल सरकार, स्थानीय साझेदार र ग्राहकको राम्रो व्यवहारका कारण आफूहरू पछिल्लो दुई दशकदेखि यहाँ रहन सकेकामा देङले खुसी प्रकट गरे ।


डिजिटल समाज निर्माणका लागि नेपालले पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने हुवावेका देङको सुझाव छ । उनका अनुसार काठमाडौंमा प्रत्येक दुई जनासँग स्मार्टफोन भएको र ५० प्रतिशत इन्टरनेट पेनिट्रेसन रहे पनि यहाँका बासिन्दाले राम्रो डिजिटल लाइफ अनुभव गर्न सकेका छैनन् । ‘यो किन थाहा छ ?’ उनले भने, ‘किनभने नेटवर्क तयार भइसकेको छैन । तयार भए पनि सायद गुणस्तरीय छैन । नेपाललाई अहिले चाहिने भनेको पूर्वाधार नै हो ।’ यसका लागि बिक्रेता, सञ्चालक, नियामक निकाय र सूचना प्रविधिका अगुवाको संयुक्त पहल आवश्यक पर्ने उनले बताए ।


मन्त्री बाँस्कोटाले नेपालको कुल डिजिटल साक्षरता दर ३१ प्रतिशत र मोबाइल पेनिट्रेसन शतप्रतिशत भए पनि नेटवर्कको पहुँच र गुणस्तरमा देश पछि रहेको स्विकारे । त्यसका लागि सम्बन्धित क्षेत्रका सबैको योगदान महत्त्वपूर्ण हुने उनको भनाइ थियो । सूचना तथा प्रविधि क्षेत्रमा राजनीति होइन, व्यवसाय हाबी हुनुपर्ने मन्त्री बाँस्कोटाले बताए । ‘यो क्षेत्रलाई छिटो अगाडि बढाउन सरकारले पर्याप्त लगानी गर्ने योजना बनाएको छ,’ उनले भने, ‘साइबर सेक्युरिटी, डाटा सेन्टर स्थापना वा नलेज बेस्ड पार्क निर्माणमा सरकार सक्रिय छ ।’ यसका लागि सरकारले स्वदेशी र विदेशी दुवै कम्पनीसँग मिलेर अघि बढ्न चाहेको उनले बताए ।


विश्व बजारमा फाइभजी विस्तारका लागि संघर्ष गरिरहेको हुवावेले विभिन्न देशमा मोबाइल कंग्रेस आयोजना गर्दै आएको छ ।

गत साता मात्रै थाइल्यान्डमा सम्मेलन गरेका सहप्रबन्ध निर्देशक सु दोङजियानले बताए । सुरक्षा चुनौतीलाई लिएर अमेरिकालगायत केही देशले हुवावेका उपकरणमा प्रतिबन्ध लगाएकाले सम्मेलन गर्दै आएको हो कि भन्ने प्रश्नमा दोङले भने, ‘हामीले दुई/तीन वर्षअघिदेखि नै यस्ता कार्यक्रम गर्दै आएका छौं । हामी विशुद्ध कर्पोरेट सिटिजन हौं । १७० देशमा हाम्रो उपस्थिति छ र त्यहाँका स्थानीयले हामीलाई सराहना गर्दै आएका छन् ।’


प्रदर्शनीमा १८ जना विज्ञ वक्ता सहभागी छन् । उनीहरूले फाइभजीबारे आगन्तुकलाई जानकारी दिनेछन् । ‘हामीकहाँ फोजी मात्रै छ,’ हुवावे नेपालका प्रोडक्ट म्यानेजर प्रभात रेग्मीले भने, ‘यही फोजीबाट कसरी फाइभजीको अनुभव लिन सकिएला ? यसको सलुसन हामीसँग छ ।’ सम्मेलनमा उनी इन्टरनेट प्रविधिका यस्तै आधुनिक गतिविधिबारे अवलोकनकर्तालाई जानकारी दिइरहेका थिए ।

प्रकाशित : चैत्र २५, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?