गुगलको ड्रोन सेवा

नारायण खड्का

अस्ट्रेलिया — गुगलले अस्ट्रेलियाको राजधानी क्यानबेराबाट व्यावसायिक ड्रोन डेलिभरी सेवा सुरु गर्ने भएको छ । अस्ट्रेलियाको हवाई सुरक्षासम्बन्धी नियमन निकाय सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा) ले उडानका लागि अनुमति दिएपछि औपचारिक रूपमा केही महिनाभित्रै कम्पनीले सेवा सुरु गर्ने भएको हो ।

‘विङ’ नाम दिइएको यो व्यवसाय गुगलको अभिभावक कम्पनी ‘अल्फाबेट’ ले सञ्चालन गर्ने जनाएको छ । अल्फाबेटको पहिलो सार्वजनिक ड्रोन डेलिभरी कम्पनी हो । सञ्चारमाध्यमहरूका अनुसार गुगलले पुर्‍याउने यो व्यावसायिक डेलिभरी सेवा क्यानबेराको स्थानीय सहरहरू क्रेस, पालमरस्टन र फ्यांकलिनमा उपलब्ध हुनेछन् ।

यसैगरी कम्पनीले आफ्नो सेवा क्यानबेराकै अन्य क्षेत्रहरू ह्यारिसन र गुंगालिनमा समेत विस्तार गर्ने जनाएको छ । गुगलले सुरु गरेको यो व्यवसायले वार्षिक ३० देखि ४० मिलियन अस्ट्रेलियन डलरको व्यापार हुने विश्वास गरिएको छ । सुरुमा यो सेवाबाट सय बढी घरपरिवार लाभान्वित हुने जनाइएको छ ।

गुगलले पुर्‍याउने सेवामा औषधि, कफी, खाना, चकलेट, पाउरोटीलगायत पदार्थ रहने छन् । स्थानीय उत्पादनकर्ताहरूको सहकार्यमा उत्पादित सामग्रीहरू वितरण गरिनेसमेत बताइएको छ । ‘कासा’ का प्रवक्ता पिटर गिब्सनले अनुमति दिने क्रममा ड्रोनको सुरक्षा, ट्राफिक व्यवस्थापन, पाइलट तालिम, सञ्चालन विधिलगायत सबै फ्रक्रियाको छानबिन गरेर मात्र अनुमति दिइएको बताए ।

‘अनुमति दिने त्रममा हामीले सबै सुरक्षा प्रक्रियाको अध्ययन गर्नुका साथै यस सेवाले हवाई क्षेत्र र स्थानीय जनतालाई कुनै हानि नहुने पाएका छौं,’ उनले स्थानीय सञ्चारकर्मीलाई भने । उनका अनुसार तत्कालका लागि गुगलको उक्त ड्रोनले दिउँसो मात्र वितरण सेवा दिन सक्नेछ भने मुख्य सडकहरूको माथि ड्रोन उडाउन पाउने छैन ।

गुगलले ड्रोनमार्फत व्यावसायिक वितरणको औपचारिक अनुमति प्राप्त गर्नुअघि करिब १ वर्षसम्म यससम्बन्धी परीक्षण गरेको थियो । गुगलले अनुमति पाए पनि सर्वसाधारणहरूको नजिकबाट ड्रोन उडाउन पाउने छैन भने यसका ग्राहकहरूलाई ड्रोनबाट अपनाउनुपर्ने सतर्कतासम्बन्धी सूचनासमेत दिनुपर्नेछ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियाद्वारा नेपाललाई दिने सहयोग रकम कटौती

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले नेपाललाई दिँदै आएको सहयोग रकम कटौती गरेको छ । अस्ट्रेलियाली सरकारले घोषणा गरेको सहयोग रकम गतवर्षको भन्दा करिब ९ मिलियन डलर कम रहेको छ । यस वर्ष अस्टेलियाले नेपाललाई २२ दशमलव ५ मिलियन डलर करिब १ अर्ब ७१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।



अस्ट्रेलियाका ट्रेजरर जोस फ्याडनबर्गले अस्ट्रेलियाली संसद्मा यसवर्षको बजेट सार्वजनिक गर्दै वैदेशिक सहायता अन्तरगत दिइने सहयोगमा कटौती गरिएको हो।

अस्ट्रेलियाले अहिलेसम्म नेपाललाई वैदेशिक सहायता कम गरेको थिएन। पहिलोपटक सहयोग रकम कम गरिएपछि क्यानबेरास्थित नेपाली दूतावासले सहयोग रकम कम गरिएको बारेमा दक्षिण एसियाली मामिला हेर्ने निकायमा बुधवार गएर यसबारेमा गुनासो पोखेको छ।

कार्यवाहक राजदूत द्रुपदा सापकोटाले उक्त निकायमा गएर सहयोग रकम कम गर्नुको बारेमा चासो व्यक्त गरेकी थिइन्। ‘हामीले सम्बन्धित निकायका प्रमुखसँग नेपाललाई दिइने सहयोग किन कम गरियो भन्ने बारेमा चासो व्यक्त गरेका छौँ। कार्यवाहक राजदूत सापकोटाले कान्तिपुरसँग भनिन्, ‘ यसबारेमा उक्त निकायका उच्च अधिकारीहरूले समेत यसबारेमा जानकारी लिने प्रतिबद्धता जनाएका छन्।’

जारी बजेटका अनुसार अस्ट्रेलियाले नेपाललाई सङ्घीय संरचनामा गइसकेको अवस्थामा यसको विकास र सङ्घीय राज्य संरचनाको लागि नागरिकहरूको अधिकारका लागि सहयोग पुर्‍याउने घोषणा गरेको छ।

प्रकाशित : चैत्र २०, २०७५ १७:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT