यसरी निकालियो कञ्चनजंघाबाट शव

आनन्द गौतम

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव निकालिएको छ । चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्तल करारको शव हेलिकप्टरबाट काठमाडौं लगिएको हो । 

उनीहरुको शव दोस्रो शिविरसम्म शेर्पाले झारेका थिए। त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थल हुँदै काठमाडौं लगिएको हो। पीक प्रमोशन प्रालिबाट आरोहणमा गएकामध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलीका रोड्रिगो भिभ्याञ्चो हराइरहेका छन्। उनलाई यो सिजनमा भेट्ने सम्भावना कम रहेको मिङ्मा शेर्पाले बताए।

आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनीको काठमाडौंमा उपचार भइरहेको छ। उनीहरुलाई हेलिकप्टरबाट तत्काल उद्धार गरिएको थियो। ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए। अरुको सफल आरोहण भएको कम्पनीहरुले बताएका छन्।


प्रकाशित : जेष्ठ १०, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गल्फर शुक्र र पूर्वखेलाडी पुरस्कृत

प्रदीप मेन्याङ्बो

सुनसरी — गल्फ खेलाडी शुक्रबहादुर राई र टेवलटेनिसका पूर्वखेलाडी गीता थापा मगरलाई धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले वर्ष खेलाडीको रुपमा शुक्रबार पुरस्कृत गरेको छ । समितिले गल्फर राईलाई वर्ष खेलाडीको रुपमा नगद एक लाख रुपैयाँ, पूर्वखेलाडी थापालाई 'अनसिन हिरो अफ द धरान' को रुपमा नगद ५० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरेको हो ।

शुक्रराज एम्मेच्योर गल्फका नम्बर वन खेलाडी बनेका धरानका युवा खेलाडी हुन् भने थापा टेवल टेनिसकी पूर्व नम्बर वन खेलाडी हुन् । पुरस्कृत राईले क्याडीबोइ हुँदाहुँदै सानै उमेरदेखि गल्फ खेल्दैआएका थिए । एउटै सिजनमा एक अन्तर्राष्ट्रिय गल्फ च्याम्पीयनशीप र स्वदेशमा दुई/दुईपटक एम्मेच्योर प्रोफेशनल गल्फको च्याम्पियनसिपको उपाधि जितेर नयाँ रेकर्ड बनाउने एम्मेच्योर गल्फर राईमात्र हुन् ।

गत साता मात्र राईले काठमाडौंमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन्ससिपमा एम्मेच्योर र प्रोफेशनल दुवैको उपाधि हात पारेका थिए । ०७५ माघ १० मा बंगलादेशमा आयोजित एम्मेच्योर ओपन गल्फ च्याम्पियनसिपमा उनले उपाधि हात पारेका थिए ।

पुरस्कृत भएपछि राईले भने, 'मैले अपेक्षा नगरेको सम्मान र पुरस्कार धरानबाट पाएको छु । सबैलाई हार्दिक अभार छ ।' उनले पुरस्कारको रकम आउँदो डिसेम्बरमा हुने साउथ एसियन गेम्समा गोल्डमेडल ल्याउनमा अभ्यास गर्न खर्च गर्ने जानकारी पनि दिए ।

पूर्वखेलाडी गीताले ०५१ सालमा सम्पन्न २७ औं राष्ट्रिय टेवल टेनिस स्पर्धामा महिला जुनियरमा स्वर्ण, डवलमा रजत, सिंगलमा कास्य र टिम इभेन्टमा कास्य पदक जितेकी थिइन् । सम्मानित भएपछि उनले भनिन्, 'टेवल टेनिसमै आधा जीवन बित्यो । जीवनमा टेवल टेनिसभन्दा केही सोचिन । अरु सपना पनि देखिन । यो सम्मानले मलाई टेवल टेनिसमा अरु काम गर्न थप प्रेरणा दिएको छ ।'

समारोहमा कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले थापालाई धरान उपमहानगरपालिकाले साउनदेखि लागू हुनेगरी नगरको टेवल टेनिस प्रशिक्षकको रुपमा नियुक्त गर्ने घोषणा गरिन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT