कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंबाट अढाई घण्टामै सरर हेटौंडा

काठमाडौँ — ६३ वर्षदेखि निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ अबको साढे तीन महिनामा सञ्चालनमा आउने भएको छ । २०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले गदो तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेकाले केही समय पछाडि धकेलिएको हो ।

काठमाडौंबाट अढाई घण्टामै सरर हेटौंडा

‘आगामी असोजदेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्नेछन्,’ कान्तिलोक पथ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अमिन्द्र खड्काले भने, ‘६ महिनाभित्रमा सडक फराकिलो बनाउने र अधिकांश भाग कालोपत्रे गरिसक्नेछौं ।’ असोजको अन्तिमसम्ममा कान्ति लोकपथ कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ ।


मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्रीडाँडा लगायत क्षेत्रका सडकलाई फराकिलो बनाउने कार्य भइरहेको छ । कान्ति लोकपथको अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने कार्यहरू तीव्रगतिमा भइरहेका छन । उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् ।


कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिएको छ । हेटौंडातर्फको कान्ति लोकपथको प्रस्थान बिन्दु बुद्धचोक हो भने काठमाडौंतर्फको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटो हो । यो लोकपथको निर्माण गर्न चालु आवमा ६० करोड रुपैयाँ विनियोजित गरेको थियो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको रहेको यस मार्गमा साढे आठ मिटर चौडा बनाएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको छ ।


कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए । तर, ललितपुर र मकवानपुरको सीमास्थित वाग्मती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो । ६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो ।

प्रकाशित : जेष्ठ २३, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?