काठमाडौंमा किलाले यसरी घोचिएको थियो युवतीलाई [भिडियोसहित]

जनकराज सापकोटा

काठमाडौँ — पछिल्लो दुई सातायता राजधानीमा रातको समयमा सुई जस्तो तिखो वस्तुले युवतीहरुलाई घोच्ने घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले गरेको पत्रकार सम्मेलनमा रामेछाप घर भई महाराजगञ्जमा दाजुसँग मिलेर होटल चलाइरहेका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा कार्कीले आफूले रमाइलोकालागि ढलान किल्लाले घोचेर गल्ती गरेको बताएका थिए। प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले रातको समयमा उस्तै प्रकृतिको घटना भएपछि आफूहरुले सिसिटिभी फुटेजका आधारमा दोषी पत्ता लगाएको बताए।

उनका अनुसार महाराजगञ्जको रेष्टुरेन्ट बन्द गरेर नैकापस्थित डेरा फर्किने बेलामा सन्तोषले सडकमा एक्लै हिँडिरहेका युवतीहरुलाई निशाना बनाएको देखिन्छ। प्रहरी परिसर काठमाडौंका अनुसार सुई जस्तो तिखो वस्तुले घोचेका चार घटना महानगरीय प्रहरी वृत्त स्वयम्भू र सोह्रखुट्टेमा आएको थियो।

प्रकाशित : असार १३, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्

अवकास पाएका शिक्षकलाई उपदान

आश गुरुङ

लमजुङ — सरकारले अनिवार्य अवकास पाएका शिक्षकलाई गोल्डेन हेन्डसेक (उपदान) दिन सुरु गरेको छ । लमजुङका शिक्षकले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् ।

स्थायी हुन नसकेका र मौका परीक्षा दिन नगएका शिक्षकलाई सरकारले उपदान दिने कार्य लमजुङमा सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले मंगलबारदेखि अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको जनाएको छ ।

उपदान पाउन योग्य शिक्षकलाई पाउनुपर्ने रकम बराबरको चेक दिन थालेको इकाई प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार बुधबार १५ जना र बिहीबार १५ जनालाई २ करोड रुपैयाँ बढीको चेक हस्तान्तरण गरिएको छ ।

शिक्षकको डकुमेन्टको आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा चेक बन्ने र शिक्षा कार्यालयले उपदान पाउनुपर्ने शिक्षकलाई चेक दिने गरेको छ । पहिलो चरण अन्तर्गत लमजुङमा १ सय ६४ जना शिक्षकले पाउनुपर्ने रकम आइसकेको इकाई प्रमुख रेग्मीले बताए । १० करोड रुपैयाँ बजेट आएको र वितरणकार्य भइरहेको उनले बताए । दोस्रो चरण अन्तर्गत १ सय जनाको रकम विद्यालय शिक्षक कितावखानाबाट आउन बाँकी रहेको उनले बताए ।

कितावखानाले ५ करोड रुपैयाँ पठाउन बाँकी रहेको रेग्मीले बताए । कम पाउने शिक्षकले ८ लाख रुपैयाँसम्म पाउने गरेको छ । लमजुङमा सरकारी उपदान पाउने शिक्षक २ सय ६४ जना छन् । ‘अनिवार्य अवकास पाएर उपदान पाउने शिक्षक साथीहरु सवैलाई जानकारी छ । कागजी प्रक्रिया मिलाएर आउने प्रक्रियमा हुनुहुन्छ’ उनले भने, ‘सबै प्रक्रिया मिलाएर दैनिक १५ जना भन्दा बढी साथीहरुलाई चेक दिन समयले नभ्याउने अवस्था छ ।’

सरकारले लामो समय अस्थायी शिक्षक लाई स्थायी हुने मौका दिएको थियो । सरकारले २०७५ असार २८ र २९ गते परीक्षा लिएको थियो । पास भएकाले २०७५ चैत २९ गते स्थायी नियुक्ति लिएका थिए । स्थायी हुन नसकेका र २०७२ असोज २ गतेसम्म नियुक्ति लिएका सबै अस्थायी शिक्षकले अनिवार्य अवकास पाइसकेका छन् । सरकारले ५ वर्ष अस्थायी सेवा पुगेकाले उपदान पाउने व्यवस्था गरेको छ । अवकास गर्दा सरकारले उपदानको व्यवस्था गरेको थियो ।

प्रकाशित : असार १३, २०७६ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्