‘बालुवाटारमा अरु धेरैको पैसा छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरेको आरोप खेपेका योजनाकार डा. शोभाकान्त ढकालले त्यो जग्गामा चर्चामा आए बाहेक अरु व्यक्तिहरुको समेत लगानी भएको बताएका छन् ।

एउटा लेनदेनको बादविवादका क्रममा उनले बालुवाटारको जग्गा मिलाउन ‘ठूलो रकम’ खर्च भएको बताएका हुन् । उनले रकमको परिमाणवारे भने खुलाएका छैनन् ।

शान्ता खनाल नाताले शोभाकान्त ढकालको भाञ्जे बुहारी पर्छिन । करिव ४८/४९ सालतिर निम्न आर्थिक हैसियतका शोभाकान्तले आफ्नो दैनिकी चलाउन सानोतिनो खालको जग्गा दलाली शुरु गरेका थिए । त्यसैक्रममा शोभाकान्तले भाञ्जे बुहारीसँग ऋण माग्ने, आफूले जग्गा तथा व्याजमा लगानी गर्ने र प्रतिफल खाएर साँवा सहितको मूल धन शान्तालाई फिर्ता गर्न थाले ।

त्यसैक्रममा उनले बालुवाटार जग्गाको खेल शुरु गरे । शुरुमा उनीसँग १० लाख रुपैंया मागेका शोभाकान्तले पछि ३ लाख र दुई लाख भारतीय रुपैंया गरी कुल १६ लाख २० हजार रुपैंया लिए । उनका शर्त अनुसार, शान्तलाई एक रोपनी र शान्ताको भाई रञ्जनलाई समेत थप ४ आना जग्गा दिनुपर्ने थियो ।

तर पछि जग्गा माग्न जादा शोभाकान्तले सरकारबाट आफ्नो नाममा जग्गा नआएको भन्दै हस्तान्तरण गर्न अस्विकार गरे । बरु उल्टै साढे २ करोड रुपैंया लेनदेनको कागज बनाएर फर्जी मुद्दा लगाए । त्यसक्रममा रेकर्ड भएको अडियो फाइल सर्वोच्च अदालतमा रहेको मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको हो । झण्डैं साढे ३ घण्टाको अडियो फाइलमा धेरैजसो व्यक्तिगत र लेनदेनको गफ अनि बालुवाटारको ललिता निवासको जग्गाको प्रसंग छ । उक्त कुराकानीको सम्पादित अंश :

(कुराकानी शुरु हुनासाथ भाञ्जीबुहारी शान्ता खनाल झोक्किन्छिन्)
शान्ता खनाल (भाञ्जी–बुहारी) : तपाईंले कसको कुरा सुनेर मुद्दा हाल्नुभो ? २ करोड ५० लाखको झुटो मुद्दा ? २०५० सालदेखि खेल्दैखेल्दै जग्गा तपाईंको नाममा भइसकेको छ । मैले पाउने तपाईंको नामको हो । तपाईंले देखाएको जग्गा जोताहाको नामको हो । तपाईंले आएकै छैन भन्नुभयो, म मान्दिन ।
शोभाकान्त ढकाल(मामा–ससुरा) : भाञ्जी मलाई मुद्दा मिलाउन मन छ । मिलापत्र गरौं ।
(डा. ढकालले आफूहरुबीचको लेनदेनको मुद्दा मिलाउन प्रस्ताव राख्छन् ।)

शान्ता खनाल(भाञ्जी–बुहारी) : तपाईंले पनि आफ्नो पावर देखाउनुभयो ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : बालुवाटारको जग्गा हजुरले मुद्दा हाल्नुस, लिनुस् । तपाईंले सामाखुसीको दिन्न भन्नुभयो ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : तपाईंले बालुवाटारको नदिने भए मैले पनि दिन्न । बालुवाटरको म लड्ने रे । अनि सामाखुसीको दिने ?
शोभाकान्त ढकाल(मामा–ससुरा) : दुवैका प्वाईन्ट मिलाउँ । कुरा गरौं ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : सबै टेन्सन मलाई हो । मैले तपाईंको पैसा लगेर चलाएको पनि हैन । सबै पैसा बालुवाटारमा गएको हो । तपाईंले त्यहाँको आधा जग्गा मलाई आयो भन्नुभयो, त्यो आएको पनि छैन ।
(बालुवाटार ललिता निवासको जग्गा शोभाकान्त र उनको परिवारका नाममा आइसकेको भए पनि लुकाए भन्ने शान्ताको दावीलाई उनले खण्डन गर्छन ।)

शान्ता खनाल(भाञ्जी–बुहारी) : म त पत्याउँदिन । रञ्जनको चार आना र मेरो एक रोपनी जग्गा हो । मैले व्याज लगाउन होइन, जग्गाका लागि पैसा दिएको हो ।
(कुराकानीमा रञ्जन भनेर बारम्बार नाम लिएका व्यक्ति शान्ताका भाई हुन् । कोरिया गएर काम गरेका उनको पैसा पनि शान्ताले शोभाकान्तलाई दिएकी हुन्छिन् र त्यस बापत थप चार रोपनी जग्गा दिने समझदारी हुन्छ ।)

शोभाकान्त ढकाल(मामा–ससुरा) : हजुरले मुद्दाका लागि भनेर हालेको पैसाको जग्गा दिनुपर्ने हो । मुद्दाको पैसा मुद्दामै छ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : पास नहुने जग्गा बाँकी छ । पास हुनेजति त गैसक्यो ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : भाञ्जी, तिनै मोही हुन् नी । उनको नाममा नआई तपाईं/हाम्रो हुँदैन । तपाईंबाट आएको पैसाको कति दिनुपर्ने हो, कुरा मिलाऔं ।

शान्ता खनाल(भाञ्जी–बुहारी) :लाई भयंकर घाटा भयो । अहिले भाउ करिव ८ करोड पुगेको छ । म त केही न केही भएँ ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : अझै तपाईंले पत्याउनुभा छैन । हामीले लिने भनेको जग्गा सरकारले अधिग्रहण गर्दैछ । तपाईंलाई म अधिग्रहण भएको कागज देखाउला ।

(सरकारले फेरी अधिग्रहण गर्न खोजेको भन्दै शोभाकान्तले त्यो लिएको भए पनि फुत्कने भएकाले बालुवाटारको जग्गा हात नपरेका कारण दु :खी नहुन आग्रह गर्छन ।)

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : त्यो पैसा बालकृष्णलाई दिएको हो । बालकृष्ण अधिकारी । (बालकृष्ण अधिकारी भन्ने जग्गाका कारोबार गर्ने अरु कोही व्यक्ति हुन् ।)

शान्ता खनाल(भाञ्जी–बुहारी) : त्यो त कसलाई दिनुभयो, मलाई थाह छैन । मलाई कति फिर्ता दिने ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : मैले ५० दिएँ । उहाले ८० भन्नुभयो । कुरा मिलेन । हामीले मिल्ने कुरा पनि गरौं ।
(२०४९ सालतिर लगेको १६ लाख रुपैंयाको वार्षिक ३६ प्रतिशत व्याजका दरले करिव ८० लाख रुपैंया हुने र अरु समेत क्षति भएकाले एक करोड २० लाख चाहिने शान्ताको दाबी छ । तर शोभाकान्तले ५० लाख रुपैंयाभन्दा बढी दिन नसक्ने प्रस्ताव गर्छन् ।)

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : ए बाबा, अहिले पनि ३ करोड ६१ लाख रुपैयाँ मीनबहादुरलाई तिर्न बाँकी छ । अब पनि जग्गा नआउँदा ३ करोड ६१ लाख रुपैयाँ मिनबहादुरको पैसा पुग्दैन । हजुरले जग्गा किन्नुभन्दा पनि मुद्दाकै लागि भनेर हालेको पैसा हो नी ।
(भाटभटेनीका सञ्चालक मीनबहादुरले गरेको लगानीको जग्गा आफ्नो नाममा आएको भन्दै शोभाकान्तले त्यसमा आँखा नलगाउन भाञ्जी बुहारीलाई सुझाव दिन्छन् ।)

शान्ता खनाल(भाञ्जी–बुहारी) : मुद्दाका लागि भनेर हालेको पैसाको त कति जग्गा आइसक्यो नी ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : मुद्दालाई हालेको पैसाको जग्गा आउन बाँकी छ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : आउनेजति आइसक्यो ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : हजुरलाई क्लियर भएको जग्गा त कसले दिन्छ ? रुक्मशम्सेरहरुसँग पैसा तिरेको किनेको हो ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : अरु मोहीहरुको आइसक्यो ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : अरु मोहीको आयो, मुद्दा परेकोको बाँकी छ ।

...

शान्ता खनाल(भाञ्जी–बुहारी) : मामा, तपाईं यहीँबाट(जग्गा कारोबाट) माथि उठ्नुभएको छ । मेरो पैसा दिनुस् ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : बालुवाटारको जग्गा नआउँदा पनि मैले हेर्नु पर्थ्यो । तिर्नुपर्ने ८० लाख मेरा लागि धेरै हो ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : यही कामबाट हजुर माथि उठ्नुभएको छ मामा ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : म अहिले पनि ३ करोड ६१ लाख रुपैंयामा डुबेको छु ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : व्यापार गर्ने मान्छेले के के गर्छ गर्छ, म त व्यापारी होइन नी ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : तपाईं महा–व्यापारी हो । अहिले नि यो जग्गा नआउँदा ३ करोड ६१ लाख रुपैंया मीनबहादुरको पैसा पुग्दैन । उसको त पैसा परेको जग्गा छ नी । हजुरले जग्गा किन्ने भनेपछि मुद्दालाई हालेको पैसा हो नी ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मुद्दालाई हालेको पैसाको जग्गा त आइसक्यो नी ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : मुद्दालाई पैसा हालेको जग्गा त आउन बाँकी छ । हजुरलाई क्लियर भएको जग्गा कसले दिन्छ भन्नु न । रुक्मशम्सेर राणाहरुले पैसा हालेर आफ्नो जग्गा मीनबहादुरहरुलाई दिएको हो ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : मामा, अरु कुराले टारेर हुँदैन । मलाई हजुरले दिने भनेको बालुवाटारको एक रोपनी ४ आना जग्गा चाहियो ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : त्यो प्रोसेस(प्रक्रियामा)मा छ, आएपछि दिने हो ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : करिव सात रोपनी जग्गा आइसकेको छ ।
शोभाकान्त ढकाल(मामा–ससुरा) : मोही नभएका कागज मसँग छन् । त्यो जग्गामा अख्तियार र जिल्ला प्रशासन लागेको छ । मिनबहादुरजीले पैसा हालेर आउनु एउटा पार्ट छ, रामकुमारजीले पैसा हालेर आउनु अर्को पार्ट छ ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : रामकुमारजीले पनि मोहीकै जग्गा लिएको हो ।
शोभाकान्त ढकाल(मामा–ससुरा) : अदालतमा मुद्दा जितेर आएको छ, तर कार्यान्वयन भएको छैन ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : रामकुमारजीले हामी सुरक्षित छौं भाञ्जी, सात रोपनी जग्गा आयो भनेर भनेकै हो । त्यो त हजुरहरुको नाममा भइसकेको छ । अरु ठूलो पैमानामा गयो, ठूलोमा जानेले ठूलै खान्छ, त्यसमा मलाई भन्नु केही छैन । मैले सानो गरेको मलाई एक रोपनी चार आना चाहियो ।
शोभाकान्त ढकाल(मामा–ससुरा) : अहिले त्यहा केही छैन, सबै मिनबहादुरजीको होल्डमा छ । मेरो पनि आफ्नो केही छैन । हाम्रो पनि केही छैन । मिनबहादुरले पैसा हालेर लिएकाले हजुरले विरोध गर्न मिल्दैन । त्यहाको जग्गा सबै कम्प्लिट भएर हामीसँग आएपछि बल्ल हामीसँग पनि कम्प्लिट गर्न हुन्थ्यो । जग्गा अहिले पनि आएको छैन ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : कति जग्गा आयो त ? माईजुहरुको नाममा कसरी जग्गा दर्ता भयो ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : माईजुको नाममा मीनबहादुरजीले हालेर, पैसा हालेर ल्याएँ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मीनबहादुरजीले किन हाल्ने पैसा ? हामीले पहिल्यैदेखि कारोवार गरेको पैसा त्यत्तिकै भयो ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : मीनबहादुरले पैसा हालेर ल्याएको हो त्यो जग्गा ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : कस्को ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : राणाहरुको । यो कुरा गर्दा भाञ्जी, बालुवाटारमा १० लाख रोपनी जग्गा आउने नै होइन । मुद्दा परेर आएको हो । हजुरले १० लाख रुपैंया जग्गा दिएर मसँग जग्गा किनेजस्तो पनि भएन, शेयरजस्तो पनि भएन । हजुरको पनि गल्ती भयो, मेरो पनि भयो होला । आ–आफ्नो गल्ती आ–आफै स्विकार्ने हो । मैले पनि हजुरलाई मुद्दा हाल्न हुन्थ्यो, हुँदैनथ्यो, यो क्वेश्चनेवल(प्रश्न योग्य) कुरा हो । हाल्न पर्‍यो हालियो ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : किन हाल्न परेको, मलाई भन्नु न ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : १० लाखमा बालुवाटारमा जग्गा आउँदैन ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : किन दिन्छु भनेको त ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : अब बालुवाटार भित्रको जग्गा हामीसँग छ कि छैन हजुरले कागजमा हेर्ने । हुन्छ ?
(केही बेर भनाभन हुन्छ ।)

शोभाकान्त ढकाल(मामा–ससुरा) : बालुवाटारको जग्गा त्यत्रो दु :ख भयो, मुद्दा भयो, के भयो । तपाईंले एक दिन के भयो भनेर सोध्नुभयो ? मुद्दामा परेपछि खर्च हुन्छ, दौडधुप हुन्छ, चाकडी कति गरिएको थियो ? कुरा गर्‍यो भने धेरै कुरा छन् । हजुरको १५ लाख मसँग छ । अझै पनि वेट एण्ड सीमा(पर्ख र हेरको रणनीतिमा) छौं । त्यो जग्गा आउनुपर्ने हो । त्यसरी आउँदाखेरीमा मैले दिन्छु भनेकै छु ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : मैले बालुवाटारको जग्गा १० लाख रुपैंयामा दिन भनेर तपाईंसँग पैसा लिएको हो र ? मेरो पनि पैसा फसेको छ । हचुवाको कुरा नगर्नुस् । आउने कुरा बाँकी छ । छ कि छैन स्रेस्ता हेर्नुस ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : बालुवाटारको जग्गा अहिले १५ लाखमा आउँदैन, आनाको २० भन्छन् । आधा दु :ख गर्नुभयो भने पनि आधा त दिनुपर्‍यो । किनभने दु :ख गर्नुभयो, मुद्दा गर्नुभयो ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : आज वकिललाई सँगै राखेर कागज गरौं । जग्गा आए लिनुस्, नआए चित्त बुझाउनुहोस् । एक त त्यो जग्गा जुन हामीले लिने भनेका छौं, त्यो अधिग्रहणमा पर्नेवाला छ । फेरी आउँछ, आउँदैन मैले भनेर हुँदैन । भोली नोटिसमै आउने कुरा हो । अहिले तत्काल नै त्यो जग्गा हाम्रो नाममा आउने कण्डिसन छैन । मेरो डिसिजन हैन, राज्यबाट निर्णय हुनुपर्ने हो ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : अब ५० गरौं न त ।
(आफूले ५० लाख रुपैंया तिर्ने शोभाकान्तको प्रस्ताव ।)

शान्ता खनाल(भाञ्जी–बुहारी) : मान्छेलाई निचोर्ने कुरा नगर्नु मामा ।
शोभाकान्त ढकाल(मामा–ससुरा) : ए भाञ्जी, यो पैसा मैले चलाएको त होइन नी । यो पैसा त गएको पो हो त । पैसा मुद्दामा गएको छ । तपाईंको मात्रै होइन, हाम्रो कति पैसा गएको छ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : अन्तिममा एक करोड भए मान्छु ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : अधिग्रहण भए एउटा, नभए अर्को भनेर कागज गरौं न त । ज्यापुसँग कागज गरौं न त । ज्यापुको नामबाट हाम्रो नाममा आइसकेको भए पो एउटा कुरा । भाञ्जी, यो पैसा पनि मेरो घरमा गएको हैन, मैले मासेको छैन नी । तपाईंको पैसा मैले जिम्मेवारी बोकेकोमात्रै हो । मैले ल्याए यो पैसा मेरो घरव्यवहार चलाएको भए तैँले ल्याएको हो भन्न हुन्थ्यो ।
(आफूसँग कागज गर्न विश्वास नभए बालुवाटारमा खडा गरिएको कुनै मोहीसँग शान्तालाई कागज गर्न शोभाकान्तले प्रस्ताव गर्छन् ।)

अर्को व्यक्ति : तपाईंले लिएको जग्गा मोही कि जग्गाधनीको ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : हामी मोहीको पक्षका हौं । मोहीको जग्गा आउन बाँकी छ । त्यहाँ गुठीमा परेको पनि छ । राणाहरुले गरेको मुद्दा सर्वोच्चमा पुग्यो, अख्तियारमा गयो । सबैसँग मुद्दा लड्दा कम हैरान त थे न नी । मैले तपाईंको पैसा ल्याएर उता बुझाएको हो । पैसा बुझाउने मान्छे ज्यूँदै छ, सोधे हुन्छ । बसौं कागज गरौं, ज्यापुसँगै कागज गराइदिन्छु मैले । हामीले बैंक लिलामीको जग्गा किनेको पनि हैन । भाञ्जी, त्यो जग्गा मेरो पनि हैन, अर्काको जग्गा हो । यो पैसा मैले ल्याएर घरमा चलाएको भए पनि एउटा कुरा हुन्थ्यो ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : बालुवाटारको जग्गा मामाले ल्याइसक्यो, मलाई दिएन भन्ने भ्रम हजुरलाई छ । त्यो हटाउनुपर्‍यो ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मैले पाएको जानकारी अनुसार म तपाईंलाई भनिदिन्छु है । मामाले बालुवाटारको जग्गा यति रोपनी भनेर हिँड्नुभयो । १० लाख दिनेलाई एक रोपनी, अरुलाई यति भनेर हिँड्नुभयो । त्यसमा के कुरा भयो, कहाँ कुरा पुग्यो, हजुरले बताउनुभएन । मैले हाल्दिन भन्दा तपाईंले हाल्नैपर्छ भन्नुभयो । तपाईंले सर्वोच्चमा पनि मुद्दा जितेर आउनुभयो । अख्तियारमा मुद्दा छ । अब तपाईंले जितेपछि उपेन्द्रकेशरी न्यौपाने र बिना अधिकारीको नाउमा जग्गा आएको छ । छ हैन ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : छ ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : रामकुमार सुवेदी र उहाँको पत्नीको नाउमा पनि छ । छ हैन ? माईजुको नाममा पनि छ र बाबुको नाममा पनि छ । यो जग्गा कसरी आयो त ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : यो जग्गामा मीनबहादुरले पैसा हालेको हो । यो रुक्मशम्सेरको जग्गा आएको हो ।

...

शोभाकान्त ढकाल(मामा–ससुरा) : तपाईंले यो जग्गा मुद्दाको जग्गा हो भनेर पैसा हालेको हो ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : हामी डिल्लीबजार जाँदा रामकुमार सुवेदीले हामीले जग्गा लियौं भाञ्जी । आयो भनेका छन् ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : यो जग्गा दर्ताको फाइल डुलाउँदा कति खर्च भएको छ, हामीलाई थाह छ । अहिले मीनबहादुरको ३ करोड ६१ लाख रुपैंया परेको छ । सबै मीनबहादुरले हालेको हो । उपेन्द्रकेशरीले २ करोड ७० लाख रुपैंया हालेको हो । अरु जे जति छ, मीनबहादुर बाहेक कसैको होइन ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मीनबहादुरले के नाताले हालेको ? तपाईंहरुलाई त्यसै पास गर्देको हो ?
शोभाकान्त ढकाल(मामा–ससुरा) :उसले हामीसँग लिनुपर्ने छ । उसलाई हामीले जग्गा दिनुपर्ने शर्त छ । मोहीको नाममा जग्गा नआए उसलाई ३ करोड ६१ लाख रुपैयाँ बुझाउनुपर्छ । हजुरले मीनबहादुरलाई सोधे हुन्छ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मैले मीनबहादुरलाई पैसा दिएको हो र उसलाई सोध्ने ?

शोभाकान्त ढकाल(मामा–ससुरा) : यो भन्दा पहिले पैसा विश्वप्रकाश पण्डितले हालेको थियो । मैले दिन्छु भनेकै छु । आउदाको दिनमा मैले दिन्छु नै भनेको छु । यो सरकारी हो, भोली दर्ता हुनुपर्‍यो, आउनु पर्‍यो । सरकारले जे भन्यो, त्यो पो हुन्छ त । तिर्थमाया महर्जन भन्ने मोही छ । उसले कागज गरेर देकी छ । सर्वोच्चमा हामीले पाउनुपर्ने जग्गा त्यही कागजमा छ । यो सर्वोच्चको कागज हो । यो मुद्दा लड्दा कति लाख खर्च भयो, थाहै छ ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मीनबहादुर तपाईंको पार्टनर हो, ऋण सापटी माफी पनि दिन सक्छ । म त सक्दिन नी ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : ए भाञ्जी, हजुरले आफूले हालेको पैसा मात्रै देख्नुभयो, त्यो बेलामा हामीले कतिको पैसा हाल्यौं, हामीलाई थाह होला । अहिले प्रधानमन्त्रीको क्वाटर एक्सटेन्सन (प्रधानमन्त्री निवास विस्तार) गर्ने कुरा भइरहेको छ ।
शान्ता खनाल(भाञ्जी–बुहारी) : खै के के भाछ, मलाई के था ?
शोभाकान्त ढकाल(मामा–ससुरा) : तपाईंले जति पैसा सबैले हालेका छन् । अरुले पनि पर्खेर बसेका छन् । मोहीले जग्गाको ५१ सालदेखि हालेको हो । मुद्दाको फाइल त्यही छ । निवेदन पनि नै त्यही छ । हामीले त्यो काम गरिदिने भनेपछि नभई त हामीलाई दिन्नन् नी त । भाञ्जी, मेरो घर अहिले बैंकमा छ । लोन कति छ, अहिले देखाइदिन्छु । मीनबहादुरको पैसा तिर्न छ, हजुरको पैसा पनि तिर्नैपर्‍यो । अरुको पनि तिर्नैपर्‍यो ।
...

शोभाकान्त ढकाल(मामा–ससुरा) : मैले र हामीले पनि घरबाट एक पैसा पनि लगेर बालुवाटारमा हालेका छैनौं । हामीले धर्म छाड्न हुँदैन । यो जग्गा दर्ता भएको छैन । दर्ता हुने दिन कागज गरेर दिन म तयार छु । जुन मुद्दालाई पैसा हालेको हो, त्यो मुद्दाको जग्गा आउँदा पाउनुहुन्छ ।

शोभाकान्त ढकाल(मामा–ससुरा) : सम्भावना जसरी छ भने मलाई सूचना पनि छ । म पशुपतिमा गएर हात चोप्छु ।

(केही बेर रोकिएपछि ।)

मीनबहादुरजीले आफैं त्यहा मिलाउनुभयो । हामीले लिएर गए पनि त्यहा केही त्यस्तो देखिदैन । एक पैसा न मैले हालेको हो, न तपाईंले । त्यो जग्गा उहाले आफै राख्नुभा छ । तपाईंको र मेरोमा पनि त के कागज भा थ्यो र ? विश्वासमा हुने हो । मिनबहादुरजीसग पनि विश्वासमा भएको थियो । भाटभटेनीका मिनबहादुरले ब्रिटिश काउन्सिको जग्गा एक रुपैंया दाम लिएर गएको होइन के । त्यसमा एक रुपैंया हामीले हालेका रहेछन् भने तपाईंले भनेको कुरा जम्मै मान्छु ।

शान्ता खनाल(भाञ्जी–बुहारी) : मामा, ब्रिटिस काउन्सिलमा तपाईंले दामोदर शम्सेरको जग्गा मिलाए वापतको पाएको जग्गा हो ।

(कान्तिपथको उक्त भवनमा हाल मेघा बैंक छ ।)

शोभाकान्त ढकाल(मामा–ससुरा) : ए भाञ्जी, तामा र तुलसीको टुक्रा ल्याएर भाक्नुस, मैले एक पैसा कमिसन खाएको रहेछु भने । उसले ऋणमा त्यो जग्गा हाम्रो नाममा पास गरिदिएको हो । जग्गा त जसका नाममा स्रेस्ता छ, उसकैको नाममा आउने हो । मैले यही कुरा बुझेको छु, यसकै पछाडी लागेको छु । मुद्दालाई पैसा गएको हो । लिएर जाने मान्छे पनि ज्यूदै छन् । पैसा बुझ्ने मानिसहरु पनि ज्यूदै छन् ।

प्रकाशित : असार २०, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

परिपक्व माइली !

सन् सत्तरीदेखि सुरु भएको ग्लासटोनबरी म्युजिक महोत्सवमा दुई लाख बढी दर्शकले प्रत्यक्ष हेर्ने/सुन्ने गर्छन् । यस्ता महोत्सवमा कोही खास एक चम्कने गर्छ र त्यसबारे लामो समयसम्म चर्चा हुने गर्छ । यसपल्ट सबैझन्दा आकर्षक रहिन्, अमेरिकी गायिका माइली साइरस ।
हिमेश

 सबैभन्दा पहिले कुरा ग्लासटोनबरी फेस्टिभलबारे  ।

विश्व संगीतमा धेरै थुप्रै महोत्सवहरू हुने गर्छन् र यसमध्ये केही यस्ता पनि हुने गर्छन्, जसलाई त्यो समयको संगीतको साक्षी मानिन्छ । अझ भनौं, केही महोत्सवले विश्व संगीत अहिले कस्तो चलिरहेको छ, त्यसको प्रतिनिधित्व गर्ने गर्छ । यस्तै महोत्सवमा पर्छ, ग्लासटोनबरी । भर्खरै सकियो, इंग्ल्यान्डको समरसेटमा आयोजित यो महोत्सव । संगीत मन पराउने सबैको मुखमै झुन्डिएको स्थिति थियो, ग्लासटोनबरीको ।


यसको धेरै लामो इतिहास छ, सन् सत्तरीदेखि । सुरुदेखि यो निकै लोकप्रिय पनि थियो र यसपल्ट पनि यसलाई केही नभए पनि दुई लाखभन्दा बढीले प्रत्यक्ष हेरेको अनुमान छ । यसपल्टको महोत्सवको सबैभन्दा आकर्षक रहिन्, अमेरिकी गायिका माइली साइरस । खास कुरा के भने यस्ता महोत्सवमा कोही खास एक चम्कने गर्छ र त्यसबारे लामो समयसम्म चर्चा हुने गर्छ । यस्तो अवसर कलाकारले धेरै कमै मात्र पाउने गर्छन् । यस्तोमा यसपल्ट ग्लासटोनबरीमा भाग्यमानी रहिन्, माइली ।


र, अन्त्यमा धेरैको निचोड थियो, माइली त परिपक्व पो भइन्, यही महोत्सवसँगै । अमेरिकी गायिका, गीतकार र नायिकाका रूपमा उनको परिचय बन्छ, तर उनलाई धेरैभन्दा धेरै सम्झने भनेको गायिकाकै रूपमा हो । निकै कम उमेरमै केही न केही कारणले चर्चामा आउन सुरु गरिसकेकी माइलीको अहिलेसम्म ६ स्टुडियो एल्बम आइसकेको छ । अहिले उनी सातौं एल्बमको तयारीमा छिन् र त्यसको नाम पनि जुरिसकेको छ, त्यो हो, ‘सी इज माइली साइरस’ ।


ग्लासटोनबरीमा उनको बलियो उपस्थिति यो एल्बमको तयारी पनि हो । अहिलेसम्म निस्केका एल्बममध्ये तीन बिलबोर्ड चार्टसको नम्बर १ स्थानमा पनि पुगे र ती हुन्, ‘मिट माइली साइरस’, ‘ब्रेकआउट’ र ‘बनजर्ज’ । उनका बुबा बिली रे साइरस पनि संगीतकर्मी नै हुन् र माइलीको जीवनमा उनको ठूलो प्रभाव छ । अझ भनौं, यहाँसम्मको माइलीको संगीत यात्रामा कसैको सबैभन्दा बढी भूमिका छ भने त्यो बुबाकै हो । ग्लासटोनबरीमा पनि माइलीसँगै बुबाले केही प्रस्तुति दिए ।


महोत्सवमा उनी ‘ब्ल्याक मिरर’ पात्रका रूपमा प्रस्तुत भइन् । उनले त्यहाँ खालि गाइनन् मात्र, आफ्ना धेरै मनका भाव पनि पोखिन् । त्यो पनि धेरै लामो । सबैभन्दा मुख्य तथ्य के भने यो महोत्सवले उनको जीवनलाई सधैंका लागि परिवर्तन गरेको छ । अहिले २६ वर्ष पुगेकी माइलीले भनिन्, ‘पछिल्लो समय मेरो जीवनमा धेरै नाटकीय मोड आए र म त्यसबारे केही भन्न चाहन्छु । मैले केही सफलता पनि चाखें र त्यसको एउटै कारण हो, मेरो कडा मिहिनेत, समर्पण र त्याग ।’


उनले थपिन्, ‘यो महोत्सवमा मेरो बुबा मात्र होइन, आमा पनि हुनुहुन्छ । उहाँहरूले नै सफलताको यो एक मात्र मन्त्र सिकाउनुभएको हो ।’ अर्को शब्दमा भन्दा सफलतासम्म पुग्ने बाटो कठिन हुन्छ भने माइलीले पनि यो कठिन बाटो तय गर्नुपरेको थियो । यसलाई पार गर्ने भनेको मिहिनेतले नै हो, सफलतासम्म पुग्ने अरू कुनै उपाय छैन । यसक्रममा उनले एउटा कथा पनि सुनाइन् । उनी भन्थिन्, अग्लो पहाडबाट साइकलमा तल झर्न कति सजिलो छ । तर त्यही पहाड साइकलबाट चढ्न कति गाह्रो हुन्छ नि ? जीवन भनेको यही पहाडमा साइकलबाट चढ्न खोजे जस्तै हो ।


माइलीको अनुभव हो, यो । सबै केही न केही क्षेत्रमा हुन्छ र सफलताका लागि प्रयास गरिरहेको हुन्छ । सजिलो भने हुन्न । अझ गाह्रै हुन्छ । त्यसैले दिनरात मिहिनेत गर्नुपर्छ । जति बेला सफलताको स्वाद चाख्न पाइन्छ, त्यति बेला यो निकै मीठो भने हुन्छ । त्यसैले केही पाउने हो भने लगातार प्रयास गरिरहनुपर्छ ।


माइलीलाई पनि प्रत्येकपल्ट केही न केही जोखिम उठाउने रहर हुँदोरहेछ । अझ केही त्रास भयो भने मात्र उनी केही गर्न उत्सुक हुने रहिछिन् । ग्लासटोनबरी महोत्सव पनि त्यस्तै थियो । सुरुमा उनलाई यो महोत्सवमा भाग लिँदै छु भनेर सोच्दा डर लागेको थियो । यही डरकै कारण उनले राम्रो गर्ने प्रयास गरिन् । आखिरमा राम्रो भयो पनि । यो त माइलीको दार्शनिक पारा पनि भयो । मान्नै पर्छ, माइली परिपक्व हुन थालेकी छन् ।

himesh36@gmail.com

प्रकाशित : असार २०, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्