कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

अपराधको जालोमा माओवादीका नेता र तिनका छोराछोरी 

काठमाडौँ — दशक लामो शसस्त्र द्वन्द्वको बलमा उदाएको माओवादी शान्ति प्रक्रिया पछिका १७ वर्षमा आइपुग्दा छिन्न भिन्न मात्रै भएको छैन, पार्टीको शीर्ष तहकै नेताहरु अपराध र संदिग्ध गतिविधीमा एकपछि अर्को गर्दै मुछिन थालेका छन् ।

अपराधको जालोमा माओवादीका नेता र तिनका छोराछोरी 

कृष्णबहादुर महरा र उनका छोरा राहुल

सोमबार मात्रै माओवादीका उपाध्यक्ष एवं पुर्व सभामुख कृष्णबहादुर महरा संगठित सुन तस्करीको गिरोहसँगको सर्म्पक र संदिग्ध गतिविधिको आरोपमा पक्राउ परे ।

२०७९ पुस १० मा दुबईबाट नेपाल भित्रिएको करिब ९ केजी सुन ल्याउने दावा जिनवाङलाई काठमाडौंमा संरक्षण दिएको घटनामा महरा र उनका छोरा राहुल मुछिएका हुन् । २४ असोजमा महरा र छोरा राहुल सहित ४ जना विरुद्ध संगठित अपार र भन्सार छलीको अभियोगमा मुद्धा दायर भएको थियो । यही कसुरमा महराका छोरा राहुल हाल पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा छन् भने महरालाई भने राजनीतिक दबाबमा उन्मुक्ति दिने काम भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनमा सुन तस्करहरुसँग पूर्व सभामुख महरा र उनका छोरा राहुलको बारम्बार टेलिफोन सर्म्पक भएको खुल्ने विवरण उल्लेख भएपनि सीआईबीले सरकारी वकिलको कार्यलयमा पेश गरेको प्रतिवेदनमा भने महराको नाम छुटाइयो । स्मरण रहोस्, पुर्व सभामुख महरा विवादमा मुछिएको यो पहिलो घटना भने होइन । २०६७ भदौ १८ मा उनी चिनियासँग सांसद किनबेचका निम्ति पैसाका मागेको अडियो सार्वजनिक भएपछि पनि विवादमा तानिएका थिए ।

नन्दबहादुर पुन र उनका दुई छोराहरु जितेन्द्र र दिपेश

अपराधको जालोमा मुछिएका महरा एक्ला माओवादी नेता होइनन् । पछिल्लो समय संगठित सुन तस्करीमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका कर्मचारी र उनका दुई छोराहरु जितेन्द्र र दिपेश मुछिएको सार्वजनिक भयो । सुन तस्करी र सहकारी ठगी लगायतका अपराधका घटनामा मुछिएका दिपेश शुक्रबार पक्राउ परे भने जितेन्द्र फरार रहेका छन् ।

२०८० असारमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको करिब ६१ किलो सुन र त्यसअघि २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा पनि दिपेश मुछिएका थिए । सहकारी ठगीमा मुछिएर फरार रहेका जीबी राई नेतृत्वमा बुटबलमा खुलेको सुप्रिम बचत तथा श्रृण सहकारी संस्थामा सचिव र कोषाध्यक्षको रुपमा जोडिएका थिए ।

पुर्व उपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्र भने हालै संगठित सुन तस्करीमा मुछिएको प्रमाण सार्वजनिक भयो । उनले उपराष्ट्रपति कार्यलयको स्वकीय अधिकृतको परिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका र प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटो सहितको दस्तावेज र यस्तै दस्तावेज धितो राखेर चिनियाँ बिक्रेतासँग सुन किनेका थिए । उनले अढाई करोडको चार किलो सुन १ बर्षका लागि बार्षिक ७१ लख ब्याजसहित तिर्ने शर्तमा कागज गरेर उधारोमा लिएका थिए ।

हुम्लाको हिल्सा हुँदै तिब्बत प्रवेश गर्न सुन तस्करी गर्न जितेन्द्रले पहुँच प्रयोग गरेर गृह मन्त्रालबाट फर्जी कागजात निकालेको समेत पुष्टि भइसकेको छ । ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा उनी चिनियाँ अदालतबाट दोषी ठहर भएको समेत पुष्टि भएको छ ।

संदिग्ध पात्रसँगको सम्बन्धमा बर्षमान

माओवादीका उपमहासचिव एवं वर्तमान अर्थमन्त्री बर्षमान पुनः को विगत पल्टाउने हो भने उनको साइनो र सम्बन्ध कैयन संदिग्ध पात्रहरुसँग भेटिन्छ । ६० किलो सुन तस्करीमा बेल्जियमा नागरिक दावा छिरिङ पक्राउ परेपछि दावा र उनकी श्रीमती अमला रोकामगरसंग बर्षमानको लामो सम्बन्ध भेटिएको थियो । हिमालखबरले बर्षमानका भाइ प्रनिश पुन मगर संगठित सुन तस्करीमा पक्राउ परेका दावासँग व्यापारिक साझेदारी गरेको कुरा सार्वजनिक गरेको थियो ।

नन्दबहादुर पुन उपराष्ट्रपति भएको बेला उनका परराष्ट्र बिज्ञ बनेका जीवनकुमार गुरुङ पनि सुन तस्करीमा मुछिएका छन् । यिनै गुरुङको सम्बन्ध बर्षमानसँग पनि जोडिएको विवरणहरु एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप

माओवादी राजनीतिबाट उदाएका र नेकपा विभाजनपछि एमाले प्रवेश गरेर सचिव भएका टोपबहादुर रायमाझी यतिबेला पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन् । माओवादी पार्टीमा छंदा सचिव सम्म भएका उनी पुर्व उपप्रधानमन्त्रीसमेत हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीलाई ठगेको मुद्धामा उनी संग्लन रहेको भेटिएको थिया । यो घटनामा उनका छोरा संदिप रायमाझी पनि जोडिएका छन् । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यलयले रायमाझी बाबुछोरा सहितका ३० जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

रामबहादुर थापा र उनका छोरा प्रतिक

टोपबहादुर जस्तै नेकपा विभाजनपछि एमाले प्रवेश गरेका रामबहादुर थापा बादल पनि विवादमा मुछिइरहन्छन् । पछिल्लो समय बादलका छोरा प्रतिक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए । प्रतिकमाथी काठमाडौं जिल्ला अदालतमा संगठित अपराध, राज्य विरुद्वको अपराध, किर्ते, ठगी लगायतका कसुरमा मुद्धा विचाराधीन छ भने उनी हाल फरार छन् । बाबु रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतिकले शरणार्थी प्रकरणमा गिरोहसँग मिलेर रकम असुलेको आरोप लागेको छ ।

बादल गृहमन्त्री भएक बेला उनका सुरक्षा सल्लाहकार एवं माओवादीको पुर्व सासंद ईन्द्रजीत राई नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य गिरोहमध्येका एक हुन् । ईन्द्रजितले थापाका छोरा प्रतिक र बिचौलियासंग मिलेर रकम असुलेको र त्यो रकम घर जग्गा कारोवारमा लगानी गरेको पुष्टी भइसकेको छ । उनी हाल अदालतको आदेशले केन्द्रीय कारगारमा पुर्पक्षका लागि थुनामा छन् ।

अमला मगरदेखि शमसेर मियाँसम्म

माओवादी निकट रोल्पा काठमाडौं सर्म्पक मञ्चमा अमला मगरदेखि माओवादी निकट उनी नेपाल हज कमिटीमा अध्यक्ष शमसेर मियाँसम्म अपराधमा मुछिएको देखिन्छ । चिनिया सुन तस्कर रहेका तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती रहेकी अमला अहिले फरार छिन् । अमला र दावाले माओवादीका सबैजसो शीर्ष नेतासँग सम्बन्ध विस्तार गरेर संगठित अपराधको धन्दा चलाएको देखिन्छ । सुन तस्करको अमलासहितको गिरोहले तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा अर्का एक चिनियाँ नागरिकलाई पासाङ तामाङको नाममा नक्कली नेपाली नागरिकता दिलाएका थिए ।

शमसेरले भने शक्तिको दुरुपयोग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तसँग मिलेर धन्दा चलाएका थिए । गत जेठमा उनी सिहंदरबारभित्रैबाट पक्राउ परेपछि थाह भयो, नक्कली शरणार्थीको धन्दा चलाउन उनले माओवादी नेताहरुको संरक्षण लिएका थिए ।

ईन्टरनेट फिसिङ अर्थात जालसाझी गरेर अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम ठग्ने र उक्त रकम अवैध रुपमा नेपाल भित्र्याउन अर्थमन्त्रीकै शक्ति र पहुँच प्रयोग गर्ने ब्यक्तिका रुपमा चिनिएका पृथ्वीबहादुर शाहले पुर्व अर्थमन्त्री जर्नादन शर्माको राजनीतिक संरक्षण लिएका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संग्लन गिरोहसंग पनि सर्म्पक बनाएका पृथ्वीबहादुरले ५६ अमेरिकी नागरिकलाई ठगेको कसुर र ६३ करोड विदेशी मुद्रा अवैध रुपमा नेपाल भित्र्याउन उनले माओवादी नेता एवं पुर्व अर्थमन्त्री जर्नादन शर्माको पहुँच प्रयोग गरेका थिए ।

जनार्दन शर्माको संरक्षण

उनीमाथी जर्नादन शर्माका राजनीतिक संरक्षण कतिसम्म थियो भने उनले अवैध रुपमा भित्र्याउन खोजेको रकम छुटाउन अर्थमन्त्री शर्माले २०७८ चैतमा राष्ट्र बैंकलाई क्षेत्राधिकार मिचेर सोझै पत्र लेखेका थिए । अनुसन्धान रोक्न र गिरोहले ल्याएको रकम खुलाउन नमान्ने गर्भनर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्माले मन्त्रीपरिषद्बाट निर्णय गरेर निलम्बन सम्म गरेका थिए । सर्वोच्च अदालतले गर्भनर अधिकारीलाई निलम्बन गर्नु कानूनविपरित रहेको भन्दै पुर्नवहाली गरेका थिए ।

माओवादीका शीर्ष नेताहरु मात्रै अपराध कर्ममा मुछिएका छैनन् । प्रदेश स्तरका नेताहरु पनि अपराध कर्ममा मुछिएका घटनाहरु सार्वजनिक भईसकका छन् । केही साता अघि मात्रै झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गर्यो । यो मुद्धाका ३ सय ५९ अभियुक्तमध्ये मुख्य हुन, माओवादीका माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी । जग्गा हडप्ने मुख्य योजनाकारका रुपमा किटान भएका पुरी गत फागुन ६ मा सम्पत्ती शुद्धीकरण मुद्धामा बिशेष अदालतबाट दोषी ठहर भएका व्यक्ती हुन् । उनीमाथी बिशेष अदालतले ४ करोड ३ लाख ३४ हजार जरिवाना गरेको थियो ।

ल्हारक्याल लामा

माओवादीका केन्द्रीय सदस्य र पुर्व सासंद ल्हारक्याल लामा पनि विवादमा मुछिइराख्ने पात्र हुन् । हालैमात्र लुम्बनी विकास कोषमा उपाध्यक्ष रहेका ल्हारक्यालको पृष्ठभूमि पनि संदिग्ध देखिन्छ । वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता र राहदानी जस्ता अभियोगमा उनी पक्राउ पर्दै छुटदै गरेको विगत छ ।

०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री भएलगत्तै दोहोरो नागरिकता र राहदानीको विवाद उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । ०६४ मा एमालेबाट समानुपातिक सभासद् बनेका उनी २०७० मा माओवादीमा प्रवेश गरी फेरि सभासद् भए । निरन्तर विवादहरुमा मुछिएपनि उनलाई माओवादी नेतृत्वले लुम्बिनी बिकास कोषको उपाध्यक्ष बनाएर पठाएको छ ।

अपराधका एक पछि अर्को सार्वजनिक घटनामा माओवादीका नेता र तिनका छोराछोरी र आसेपासे मुछिएका घटनाले के माओवादीको अपराधीकरण भइसकेको हो भन्ने गम्भीर प्रश्न उब्जाएको छ । शीर्ष नेतृत्व अपराधमा मुछिएका घटनाहरु एकातिर छ भने अर्कोतिर शान्ति प्रक्रियापछिका प्रत्येक निर्वाचनमा माओवादीको आकार खुम्चिदै गइरहको छ ।

पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर २ सय २० सिट जितेर प्रथम भएको माओवादी दोस्रो संविधानसभा चुनावमा ८० सिटमा खुम्चियो । २०७४ को संसदिय चुनावमा ५३ सिटमा सीमित भएको माओवादी २०७९ मा भएको संसदिय चुनावमा ३२ सीटमा सीमित भयो ।

संसदिय चुनावमा माओवादीको निरन्तरको आरोलो यात्रा र एकपछि अर्को गर्दै सार्वजनिक भएका अपराध कर्ममा माआोवादीका शीर्ष नेताहरुको प्रत्यक्ष परोक्ष संग्लनताले माओवादीको भविष्य के अवसानको बाटोतिर कुदिरहेको हो भन्ने प्रश्न जरुरी भइसकेको छ ।

सम्बन्धित समाचारहरु :-

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरासहित ४ विरुद्ध मुद्दा

पूर्वउपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा

दमकको ५९ बिघा जग्गा हिनामिनामा ३५९ विरुद्ध मुद्दा

३६३ केजी सुन तस्करीमा २९ जनाविरुद्ध मुद्दा

दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता

प्रकाशित : चैत्र ५, २०८० १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?