यूएईका राजकुमारलाई पाकिस्तानमा भव्य स्वागत
इस्लामाबाद — पाकिस्तान सरकारले यूएईका राजकुमार शेख मोहम्मद बीन जायद अल-नाहयानलाई इस्लामाबादमा भव्य स्वागत गरेको छ । पाकिस्तानको कमजोर अर्थतन्त्रलाई मद्दत गर्न यूनाइटेड अरब इमिरेट्स(यूएई)ले हालै मात्र तीन अर्ब अमेरिकी डलर उपलब्ध गराएको थियो ।
प्रधानमन्त्री इमरान खानले राजकुमार अल–नाहयानलाई पाकिस्तान हवाई अखडामै पुगेर स्वागत गरेका थिए । पाकिस्तानी सशस्त्र सैन्य बलको एक टुकडीले राजकुमारलाई सम्मान अर्पण गरेको थियो ।
यूएई मध्यपूर्वका मुलुकमा पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीकर्ता मुलुक हो । राजकुमारको भ्रमणअघि पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा कामको सिलसिलामा यूएईमा १५ लाखभन्दा बढी पाकिस्तानीहरु रहेको उल्लेख छ ।
यूएईले गत डिसेम्बरमा पाकिस्तानको मौद्रिक 'तरलता सुदृढ' गर्न पाकिस्तानी केन्द्रीय बैंकमा ३ अर्ब अमेरिकी डलर निक्षेप राखेको थियो । तरलता अभावकै कारण पाकिस्तानको भुक्तानी सन्तुलनमा संकट उत्पन्न भएको थियो ।
गत नोभेम्बरको अन्त्यमा पाकिस्तानी मुद्रा रुपीमा झण्डै पाँच प्रतिशतले गिरावट आएको थियो । यही कारण गत वर्ष पाकिस्तानको केन्द्रीय बैंकले छैटौँ पटक रुपीको अवमूल्यन गर्नुपरेको थियो ।
पाकिस्तानले साउदी अरेबियाबाट पनि ६ अर्ब डलर प्राप्त गरेको छ । इस्लामाबादले महत्वाकांक्षी पूर्वाधार परियोजनाका लागि चिनीयाँ ऋण बापत अर्बौं डलर प्राप्त गरिसकेको छ ।
गत वर्ष नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरी अर्थतन्त्र सुधारका बारेमा वार्ता गरे पनि कुनै सम्झौता हुन सकेको थिएन ।
प्रकाशित : पुस २२, २०७५ १७:३७